एनआईसी एशियामा पुराना हस्तीकाे 'एक्जिट' र नयाँको 'इन्ट्री' सँगै पचास प्रतिशत हकप्रदले तरङ्ग

Jan 04, 2026 03:13 PM merolagani



नेपालको वित्तीय बजारमा सबैभन्दा 'आक्रामक' बैंकको छवि बनाएको एनआईसी एशिया बैंक अहिले इतिहासकै ठूलो नेतृत्व परिवर्तनको लहरबाट गुज्रिरहेको छ।

बैंकका मुख्य सारथी मानिने अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामापछि सञ्चालक समितिमा देखिएको निरन्तरको फेरबदलले बैंकभित्र ठूलै हलचल भइरहेको प्रस्ट पारेको छ। हालै ५७६ औं सञ्चालक समितिको बैठकले सञ्चालक गणेश मान श्रेष्ठको राजीनामा स्वीकृत गर्नु र स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडालाई नियुक्त गर्नुले यो श्रृंखलालाई थप रोचक बनाएको छ।

पछिल्लो समय बैंकका अध्यक्ष तुलसीराम अग्रवाल र नेपालकै सफल बैंकर मानिने सीईओ रोशनकुमार न्यौपानेले एकाएक पदबाट राजीनामा दिएका थिए। न्यौपानेको कार्यकाल बाँकी छँदै भएको यो बहिर्गमनलाई बैंकिङ क्षेत्रमा अर्थपूर्ण रूपमा हेरिएको छ। बैंकको वृद्धिका लागि 'आक्रामक रणनीति' अपनाएका पात्रहरू एकपछि अर्को गर्दै बाहिरिनुले बैंक अब आफ्नो पुरानो कार्यशैली बदलेर नयाँ बाटोमा लाग्न खोजेको संकेत गर्दछ।

नेतृत्वमा देखिएको यो 'पलायन'को मुख्य कारण बैंकमाथि बढ्दै गएको नियामक नेपाल राष्ट्र बैंकको दबाब र संस्थागत सुशासनको प्रश्नलाई मानिएको छ। लामो समयसम्म निक्षेप र कर्जा विस्तारमा तीव्र गति लिएको यस बैंकको 'पूँजी कोष पर्याप्तता अनुपात' मा ठूलो चाप परेको थियो। राष्ट्र बैंकको नियामकीय मापदण्ड पुर्‍याउन हम्मे-हम्मे परेपछि नेतृत्वले नैतिक र व्यावसायिक दबाब महसुस गरेको देखिन्छ। बाहिरबाट हेर्दा 'व्यक्तिगत कारण' भनिए पनि भित्री रूपमा बैंकको वित्तीय स्वास्थ्य सुधार्न र नियामकको विश्वास जित्नका लागि नेतृत्व परिवर्तन अनिवार्य सर्त बनेको जानकारहरू बताउँछन्।

पुराना हस्तीहरू बाहिरिने क्रम चलिरहँदा बैंकले अनुभवी र व्यावसायिक छवि भएका व्यक्तिहरूलाई भित्र्याएर 'ड्यामेज कन्ट्रोल' गर्ने प्रयास पनि सुरु गरेको छ। यसै क्रममा नबिल बैंकका कामु सिईओ सुजीत शाक्यलाई कार्यकारी अधिकृतकाे रूपमा भित्र्याइसकेकाे छ । 

नेतृत्वमा भइरहेको यो उथलपुथलसँगै बैंकले ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गर्नुले पनि यो परिवर्तनको उद्देश्यलाई थप स्पष्ट पार्छ। यद्यपि याे राष्ट्रबैंकबाट स्वीकृत भएर आउन बाँकी छ ।

एकातिर पुराना सञ्चालक र व्यवस्थापक बाहिरिनु र अर्कोतिर नयाँ नेतृत्वले पूँजी वृद्धिको भारी प्रस्ताव अघि सार्नुले बैंकले 'पुनर्संरचना'को बाटो रोजेको देखिन्छ। तर याे 'पुनर्संरचना'ले पुरानाे गुडविल कायम राख्छ या झन खस्कन्छ यसै भन्न सकिँदैन ।  नियामकको निरन्तर निगरानी र बजारमा उब्जिएका प्रश्नहरूलाई सम्बोधन गर्न बैंकले आफ्नो बोर्ड र व्यवस्थापनमा 'व्यावसायिक शुद्धीकरण' गर्न खोजेको देखिन्छ । 




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।