किनकि नेपालका ठूला उद्योगहरू,धुवाँ ओकल्ने चिम्नीहरू र डन्डी-सिमेन्ट उत्पादन गर्ने कारखानाहरू अब सर्वसाधारणको पहुँचमा पुग्दै छन्। इतिहासमै पहिलो पटक नेपालको वास्तविक क्षेत्र (रियल सेक्टर) का २२ वटा ठूला कम्पनीहरूले सार्वजनिक निष्कासन (आईपीओ) को अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन्। जसले नेपालको पुँजी बजारमा एउटा नयाँ ‘इन्डस्ट्रियल रिभोलुसन’ को सङ्केत गरिरहेको छ। यस अघि कहिल्यै पनि यति धेरै कम्पनीहरूले आवेदन दिएको अवस्था थिएन। अहिले नै वास्तविक क्षेत्रका कम्पनीको सबैभन्दा बढी आवेदन परेको हो।

अहिलेसम्म नेपालको अर्थतन्त्र कस्तो छ भनेर नेप्से परिसूचकलाई हेर्दा त्यो केवल वित्तीय क्षेत्रको ऐना मात्रै हुन्थ्यो। तर, अब आउने दिन नेप्सेको स्क्रिनमा जगदम्बा स्टिल,मारुती र सौर्य सिमेन्ट अनि विभिन्न मदिरा र औषधि उद्योगहरूको उपस्थिति देखिने छ। धितोपत्र बोर्डको पाइप लाइनमा रहेका यी २२ वटा उत्पादनमूलक कम्पनीहरूले मात्रै कुल २७ अर्ब ४९ करोड ८१ लाख ४१ हजार ७२५ रुपैयाँ बराबरको १३ करोड १५ लाख २४ हजार ५२२ कित्ता शेयर निष्कासनको अनुमति मागेका छन्। यो आँकडा आफैँमा ठूलो हो। यसअघि वर्षमा एउटा वा दुइटा वास्तविक क्षेत्रका कम्पनी आउनुलाई पनि ठूलो उपलब्धिको रूपमा हेरिन्थ्यो भने अहिले अर्बौंको पुँजी सङ्कलन गर्ने क्रममा दुई दर्जन उद्योगहरू लाइनमा हुनुले नेपाली उद्योगीहरूको सोचमा आएको ठूलो परिवर्तनलाई पनि झल्काउँछ।
आर्थिक वर्ष २०८२/८३ मा बोर्डको पुस २० गतेसम्मको तथ्याङ्क अनुसार, जम्मा १२ वटा कम्पनीले मात्रै निष्कासनको अन्तिम स्वीकृति पाए। ती १२ कम्पनीले कुल ५ अर्ब ५४ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर निष्कासन अनुमति पाएका हुन्। अनुमति पाउने वास्तविक क्षेत्रका कम्पनीमा सागर डिस्टिलरीदेखि पाल्पा सिमेन्टसम्मका कम्पनीहरू छन्।

तर उत्पादनमूलक क्षेत्रका मात्रै २२ कम्पनीहरू भने अझै निष्कासन अनुमतिको पर्खाइमा छन्। जसमा जगदम्बा स्टिल जस्ता कम्पनीहरूले त प्रिमियम मूल्यमा ६ अर्ब रुपैयाँभन्दा बढीको पूँजी बजारबाटै उठाउने तयारी गरेका छन्। यो केवल शेयर निष्कासन मात्र होइन, नेपाली उद्योगीहरूले बैंकको महँगो ब्याजदरको विकल्पमा सर्वसाधारणको पुँजीलाई रोज्न थालेको एउटा बलियो प्रमाण पनि हो।
नेपाल सरकारले उत्पादनमूलक उद्योगहरूलाई शेयर बजारमा सूचीकृत हुँदा आयकरमा दिने सहुलियत र निश्चित पूँजी भएका उद्योगहरूलाई पब्लिक लिमिटेडमा जान गरेको प्रोत्साहनले थोरै काम गरेको छ। दोस्रो, बैंकहरूबाट अर्बौं ऋण लिएर उच्च ब्याज तिर्नुभन्दा सर्वसाधारणलाई साझेदार बनाएर पुँजी सङ्कलन गर्नु उद्योग विस्तारका लागि सस्तो र दिगो विकल्पको रुपमा हेर्न थालिएको छ। तेस्रो उद्योगहरूमा ‘पारदर्शिता’ को संस्कृति बढ्दै छ। चोथो र सबैभन्दा महत्त्वपूर्ण कारणको रुपमा आफ्नो कम्पनीको ब्राण्ड भ्याल्यूलाई शेयर बजारको मूल्यसँग तुलना गरेर हेर्ने र त्यसबाट कम्पनीको साख बढाउने विश्वव्यापी ट्रेन्डमा नेपाली उद्योगीहरू पनि समाहित हुन खोजेकाको रुपमा औँल्याइएको छ।
वास्तविक क्षेत्रका कम्पनीको आवेदनमा आएको बाढीले शेयर बजारका लगानीकर्तालाई भने ठूलो राहत र अवसर दिने निश्चित छ। अहिलेसम्म बैंकको ब्याजदर घटबढ हुँदा वा राष्ट्र बैंकले कसिलो नीति लिँदा नेप्से तासको महल झैँ ढल्ने गर्थ्यो, किनकि बजारमा वित्तीय क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी थियो। तर, आउने दिनमा सिमेन्ट, स्टिल, औषधि र मदिरा जस्ता वास्तविक क्षेत्रका कम्पनीहरूको दबदबा बढ्ने छ। त्यसले बजारको जोखिम पनि विविधीकरण गर्ने छ।
यसले नेप्सेलाई एउटा परिपक्व बजार बनाउने मात्र होइन, आम लगानीकर्तालाई आफूले दैनिक प्रयोग गर्ने वस्तु उत्पादन गर्ने कम्पनीको वास्तविक मालिक बन्ने गौरव पनि प्रदान गर्ने निश्चित छ। वास्तविक क्षेत्रका कम्पनीहरू आवेदन र क्रमिक स्वीकृतिले आउने केही वर्षमा नेपालको पुँजी बजार वास्तविक अर्थमा ‘देशको अर्थतन्त्रको ऐना’ बन्ने छ।