डा. घिमिरेसँग सुधा देवकोटाले गरेको कुराकानीः
हाईड्रोपावर कम्पनीको निर्माण सम्पन्न भएर बिद्युत उत्पादन भएको छ । तर उक्त बिद्युत खेर किन गएको छ ?
राज्यको नीति नै यसमा सबैभन्दा बढी जिम्मेवार भएको हुन्छ । विद्युत खरिदबिक्रीमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार छ । प्राधिकरणले विद्युत खरिद नगरे विद्युत खेर जाने हो ।
मैले लिवर्टी इनर्जीकै कुरा गर्नुपर्दा प्राधिकरणसँग टेक अर पेको सम्झौता भएको छ । लिवर्टीको २०७८ सालमा नै बत्ती बलेको थियाे । प्राधिकरणले २०७४ सालमा नै सम्पन्न गर्नुपर्ने ट्रान्समिसन बनेको छैन । तर बिचमा प्राधिकरणले सम्झौता भन्दा विपरित सम्झौता गर्ने प्रस्ताव गर्यो। टेक एण्ड पे वा कन्टिनजेन्सी’ अर्थात अल्पकालीन व्यवस्थामा सम्झौता गर्न भनियो । ट्रान्समिसन बनेको छैन । बत्ती बलेको तीन वर्ष भइसक्यो । विद्युत बिक्री गरेर आउने तीन करोड रुपैयाँ खोलाले बगाएको छ ।
निजी क्षेत्र डुबे पनि सरकारी अवधारणा परिवतर्न गरिनु हुँदैन भन्नेमा सरकार देखिन्छ । सरकारको हितमा हेरेर यस्तो निणर्य भएको हुन सक्छ । नेपालको अर्थतन्त्रमा ठूलो परिवर्तन गर्न सक्ने तीन वटा क्षेत्र छन् पर्यटन,कृषि र हाईड्राेपावर । नेपालमा विद्युत खपत बढाउन सकिएको छैन । राज्यले विद्युतको खपत बढाउने र निर्यात गर्ने व्यवस्था गर्नुपर्छ ।
सरकारले उर्जा क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको महत्व बुझेको छैन । सन २०१४ सम्ममा नेपालमा २५० मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको थियो । यो १२ वर्षको अन्तरालमा ३ हजार पाँच सय पचास मेगावाट विद्युत उत्पादन भएको छ । जसमा ६/७ सय मेगावाट मात्रै प्राधिकरणको हो । अरु बाँकी सबै निजी क्षेत्रले उत्पादन गरेको विद्युत हो । त्यसैले, निजी क्षेत्रलाई अप्ठेरोमा पारेर राज्यको समृद्धि सम्भव छैन ।
यसरी राज्यकै नीतिगत समस्याको कारण अप्ठेरोमा परेका धेरै आयोजनाहरु छन । हाम्रो भेगमा रहेका ७/८ वटा आयोजनाहरुको विद्युत खेर गइरहेको छ । केही आयोजनाहरुको टेक एण्ड पे वाट टेक अर पेमा रुपान्तरण भएका छन । तर हाम्रो अर्थात दोर्दी करिडोरमा समस्या जस्ताको त्यस्तै छ । उर्जा ब्यवसायीहरुले नै केही आर्थिक सहयोग गरेर थालिएको लाईन विस्तारको कामले समेत अझै पूर्णता पाएको छैन । राज्यका निकाय बीचमा समन्वय नहुँदा पनि उर्जा ब्यवसायीहरुले दुख: झेल्नु परेको छ ।

यसरी आयोजना सम्पन्न भएर बिद्युत बिक्री नभएका आयोजनाहरुले बैंकको ऋण अर्थात लागतलाई कसरी व्यवस्थापन गरेका छन् ?
यसले अत्यन्तै अप्ठेरो परेको छ । यसमा दुई तीन वटा कुराहरु रहेका छन । बैंकको ब्याज सस्तोमा छ । तर बत्ती बलेर पनि बिक्री गर्न नपाएका र आयोजनाबाट आम्दानी नै गर्न नसकेकाहरुलाइ बैंकको ऋण तिर्न गाह्रो भएको छ । आम्दानी गर्न नसकेका आयोजनाले समयमा किस्ता बुझाउन सक्दैनन् । सोही अवस्थामा बैंकले अरुलाई भन्दा २ प्रतिशत बढी ब्याज भुक्तानी गर्न बाध्य हुनु परेको छ ।
आयोजनामा बत्ती बलेको तीन वर्ष भयो तर अझै पनि आम्दानी नहुँदा आफैलाई अप्ठेरो भएको छ । कहिले काँही पैसा उठाएर भए पनि ऋणको जाेहो गर्ने गरेका छौं । बिद्युत उत्पादन गरेर पनि लाईन विस्तार नहुँदा धेरै समस्या भएको छ ।
उर्जा क्षेत्रमा देखिएका यावत समस्या बिचमा राज्यले २८ हजार पाँच सय मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । के यो सम्भव छ ?
म एउटा अर्थशास्त्री भएको नाताले पनि राज्यको आवधिक योजनाहरुलाई नजिकबाट हेर्ने गरेको छु । हाम्रो नेपालको विकासको योजनामा लक्ष्य मात्रै राखिन्छ । त्यसमा लक्ष्य कहिले प्राप्ति हुदैन । यस्तै अवस्था रहने हो भने २८ हजारको लक्ष्यमा २८ सयको लक्ष्य मात्रै पुरा हुने अवस्था देखिन्छ । किनभने अयोजनाहरु बने पनि जाने ठाउँ छैन । धेरै ठाउँमा प्रशारण लाईनको समस्या छ । लाईनको क्षमता विस्तार गर्न सकिएको छैन । थोरै आशा एमसीसीको छ । सो आयोजनाले पूर्णता भएमा सानो नेटवर्क बन्नेछ भन्ने विश्वास छ । सो आयोजना पनि विभिन्न कारणले गर्दा ढिलो भएको छ ।
हाईड्रो व्यवसायीहरुले आयोजना बनाउने, सर्वसाधारणलाई शेयर बिक्री गर्ने र आफू बाहिरिने परिपाटी मौलाएको छ भनिन्छ नि हो ?
दूधले नुहाएको सबै मान्छे हुदैनन् । यसमा दुई कुरा हुन्छ । यसमा लगानीकर्ताहरु सचेत हुनु पर्यो । अरु कसैले भिडाउन खोज्दैछ भने त्यस्तो कम्पनीमा लगानी गर्न भएन । सञ्चालक वा सस्थापक शेयरधनी निस्किनको लागि शेयरको लक खुला हुनु पर्यो । सञ्चालकमा रहेको ब्यक्तिले छोडेको पनि वर्षदिन पछि मात्रै शेयर बिक्री गर्न मिल्छ । सबै भन्दा पहिले लोकल सर्वसाधारणले बिक्री गर्ने हो ।
दोस्रो सबै शेयर सञ्चालकको नाममा नराखेर अरु ब्यक्तिको नाममा कारोबार भएको हुनसक्छ । यसमा लगानीकर्ताहरुले पनि कुन कम्पनी कस्तो छ भन्ने कुरा हेर्नु पर्यो । सुनको फूल पार्ने कुखुरालाई कसले मार्छ र ? राम्रो आम्दानी आउने कम्पनी छोडेर कोही जाँदैन । यस्तो कुरालाई ध्यानमा राखेर शेयर कारोबार गर्दा समस्या पर्दैन ।
राज्यले नियन्त्रण होईन,नियमन गर्नु पर्यो । हाईड्रो क्षेत्रलाई प्राेत्साहन गर्ने व्यवस्था लिनु पर्छ । नियामक निकाय दरिलो हुनु पर्यो,गल्ती गर्नेलाई दण्ड गर्नु पर्यो । एउटाले गल्ती गर्छ सबैलाई दण्ड दिएर हुदैन । संस्थापकले सबै शेयर एकैपटक बिक्री गर्न नपाउने स्पष्ट ब्यवस्था राखियाेस् । त्यस्तो भयो भने तपाईले भनेको जस्तो समस्या समाधान हुन्छ ।
दोस्रो बजारमा सूचिकृत हुने कम्पनीको संख्या बढेको छ । तर हाईड्रोपारको गुणस्तर बढेन भनिन्छ नि ?
यो लगानीकर्ताहरुले बुझ्नु पर्ने कुरा हो । हाईड्रो क्षेत्रमा पनि राम्रो प्रतिफल वितरण गर्ने कम्पनीहरु छन् । त्यस्ता कम्पनीमा लगानीकर्ताको ध्यान पुग्न सकेको छैन । लाभांश वितरण नगर्ने कम्पनीको शेयर नकिन्ने हो भने कम्पनीको शेयर मूल्य वास्तविक अवस्थामा रहन्छ ।
लाभांश वितरण गर्ने कम्पनीको मूल्य न्यून विन्दुमा छ । तर लगानीकर्तालाई एक रुपैयाँ नदिएका अर्थात आयोजना सम्पन्न समेत नगरेका कम्पनीको शेयर मूल्य हजार भन्दा माथि पुगेको छ । लगानीकर्ताहरु चलाख हुनु पर्यो । हावा र हल्लाको भरमा लगानी गर्नु भएन ।