विपी कोइरालाको ‘माटो दर्शन’ भुलेका सन्तति, विशेष महाधिवेशनको भेलले किनारमा हुत्याईएका शेखर-संशाक र सुजाताकाे 'कन्तबिजाेक'

Jan 19, 2026 11:11 AM mero lagani



नेपाली कांग्रेस विभाजित भएको छ । अब आउँदो चुनावमा निर्वाचन आयोगबाट आधिकारिता प्राप्त नेपाली कांग्रेस तथा पार्टीबाट बेदखल हुन पुगेको शेरबहादुर देउवा नेतृत्वको पार्टीको कस्तो अवस्था होला ?

त्यो फागुन अन्तिम साता छर्लंग हुनेछ । तर, नेपाली कांग्रेस भित्रको विवादले केवल शेरबहादुर देउवा र उनको ‘किचन क्याबिनेट’लाई मात्र होइन, आठ दशकभन्दा लामो समयदेखि नेपाली राजनीतिको एउटा मुख्य केन्द्र मध्येको एक तथा पार्टी स्थापनाको ७६ वर्ष मध्ये ४९ वर्ष नेतृत्व गरेको कोइराला परिवारलाई गम्भीर संकटमा पुर्यादिइएको छ । एक प्रकारले राजनीतिको त्यस्तो किनारामा पुर्याइदिएको छ, जहाँबाट पार पाउन बर्षातकाे गडगडाउँदो कोशी नदीलाई पौडिएर पार लगाउनु जत्तिकै चुनौतिपूर्ण देखिन्छ ।

राजनीतिमा निर्णयहरु कसरी गर्नुपर्छ भन्ने बारेमा कोइराला परिवारका शिखर व्यक्तित्व विपी कोइरालाको निकै गम्भीर एउटा भनाई छः देशको लागि केही निर्णय गर्नु पर्दा अन्योल भएमा एक मुठी माटो हातमा लिएर २ मिनेटसम्म आँखा चिम्म गर्ने, त्यसपछि आँखा उघार्दा जे मनमा आउँछ, त्यही निर्णय गरे त्यो निर्णय कहिल्यै गलत हुँदैन ।

उनले पार्टी राजनीति भित्रको विवादमा के गर्नु पर्छ भन्ने बारेमा यति खुलस्त र दार्शनिकरुपमा बोलेका छैनन् । तर, माथिको भनाइले नै संकेत गर्छ कि पार्टी भित्रको विवादमा पार्टीको विवाद समातेर आँखा चिम्लेर एक छिन चिन्तन गर्ने हो भने निर्णयमा पुग्न सकिन्छ । अन्योलको शिकार हुनु पर्दैन ।

शायद दुनियाँले पत्ताएका नेता विपीलाई उनकै सन्ततिले भने राम्रोसँग बुझ्न सकेनन् । उनका विचार र दर्शनहरुलाई आत्मसात् गर्न सकेनन् ।

त्यहीकारण समयमा निर्णय गर्न नसक्दा, परिस्थितिको आंकलन गर्न नसक्दा र कार्यकर्ताको ‘मुड’ बुझ्न नसक्दा पहिले नेपाली कांग्रेस र पछि देशकै नेतृत्व गर्ने महत्वाकांक्षा बोकेका शेखर—संशाक र सुजाता अन्ततः गगन, विश्वप्रकाश तथा गुरु घिमिरे र प्रदिप पौडेल जस्ता आफ्नै ‘चेला चपेटाहरु’सँग याचना गर्दै अस्तित्व रक्षा गर्नु पर्ने अवस्थामा पुगेका छन् ।

इतिहास साक्षी छ—अनेकौं उथलपुथलहरु बेहोरे पनि कोइराला परिवार यस्तो संकटपूर्ण अवस्थामा यस अगाडि कहिल्यै पुगेको थिएन । यसरी अनिर्णयको बन्दी बनेर आफ्नै राजनीतिको भविश्यमा ग्रहण लगाएको छ कि सम्भवतः कोइराला परिवार नेपाली राजनीतिको केन्द्रमा पुग्न अब ठूलै भुईचालो जानु पर्छ, जुन भूकम्प जाने सम्भावना सुदूर भविश्यमा समेत देखिदैन ।

यस्तो अवस्था कसरी आयो ?

यो प्रश्नको जवाफ खोज्नको लागि ठूलो मिहनत गर्नु पर्दैन । माघ २ र ३ गते डा.शेखर कोइरालाका अभिव्यक्तिलाई हेरे पुग्छ । महाधिवेशनबाट पार्टी विभाजन भैसकेको अवस्थामा समेत माघ २ गते निर्वाचन आयोगमा कोइरालाले भनेका थिए-सिंगो केन्द्रीय सदस्य यहाँ छ, केही चोइटिएर गए होलान्, विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा हामीसँग छ ।

सोही दिन निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा कांग्रेसको आधिकारिक सभापति भएको निर्णय सुनायो । त्यसको अर्काे दिन माघ ३ गते शेखर कोइराला समूहले बैठक बसेर कांग्रेसबाटै चुनाव लड्ने, अबदेखि देउवा पक्षको बैठकमा नजाने निर्णय गरेको घोषणा कोइरालाले दिए ।

उनले मात्र होइन, उनकी बहिनी सुजाता कोइरालाले त अबको भविश्य भन्दै गगन थापा सहितको नयाँ कार्यसमितिलाई बधाई नै दिइन । बेला बेलामा आफूलाई भावी सभापतिको दावेदार बताउने गरेका पूर्वमहामन्त्री संशाक कोइराला भने अझैसम्म गगन थापा नेतृत्वप्रति खुलेका छैनन् ।

राजनीतिमा कोइराला परिवारको बिडो थाम्दै पार्टी र देशको नेतृत्व गर्न कस्सिएका शेखर—संशाक र सुजाताहरु शेरबहादुर देउवा पछि पार्टी सभापतिको विरासत फर्काउने कोशिष गर्दा कहिले आफू —आफूमै लडे त कहिले देउवाको खेलमा अल्झिए । परिणाम तत्कालिन महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार तोकिएको मितिमा महाधिवेशन गर्नु पर्ने र नभए विशेष महाधिवेशन गरिनु पर्ने आवाज उठाउँदा शुरुमा तिनै जना कोइराला सन्ततिले समर्थन जनाए तर विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान संचालन गर्दा उनीहरु हच्किए । देउवालाई हट्नु पर्छ पनि भन्ने र उनलाई हटाउन महामन्त्रीहरुले जोड गर्दा उनीहरुलाई साथ नदिने गरे । त्यसले गर्दा उनीहरु शुरुदेखि नै अनिर्णयको बन्दी बन्दै गए ।

त्यो क्रम अहिलेसम्म पनि चलिरहेको देखिन्छ । त्यसैको बलियो उदाहरण डा. शेखर कोइरालाले दुई दिनको बीचमा दिएका माथिका दुई अभिव्यक्ति हुन् । त्यही धरमरका कारण उनीहरुको पक्षका नेता कार्यकर्ताहरुसमेत विलखबन्दमा परे, परिरहेकै देखिन्छ ।

२००६ चैत्रमा स्थापना भएको नेपाली कांग्रेसमा त्यसयताका ७६ वर्षमध्ये मातृकाप्रसाद कोइरालाले ४ वर्ष, विश्वेश्वरप्रसाद कोइरालाले २५ वर्ष, गिरिजाप्रसाद कोइरालाले १४ वर्ष र सुशीलले ६ वर्ष नेतृत्व गरेका थिए । यो सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष कांग्रेसको नेतृत्व गरे ।

कोइराला इतरबाट सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र देउवाले नेतृत्व गरे । सुवर्णसमशेरले दुई वर्ष र कृष्णप्रसाद भट्टराईले २० वर्ष कांग्रेसको नेतृत्व गरे ।

सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । झण्डै १० वर्ष देउवाले कांग्रेसको नेतृत्व गरे ।

देउवा सभापति भए लगत्तैदेखि शेखर—संशाक र सुजाताले कांग्रेस नेतृत्वमा कोइराला परिवारको विरासत फर्काउने दावी र प्रयास गर्दै आएका छन् । तर, उनीहरु बीच नै खुट्टा तानातान हुने गरेको छ । त्यसले गर्दा उनीहरु निकट कार्यकर्ताहरुसमेत यता न उताको अवस्था रहेको छ ।

कोइराला परिवारको राजनीतिक विरासत

यी तीनै नेताहरु राजनीतिमा रहेको कोइराला परिवारका तेस्रो पुस्ताका हुन् । मातृका, विपी र गिरिजाका पिता कृष्णप्रसाद कोइरालाले व्यापार गर्दै राणा शासनविरोधी आन्दोलनमा संलग्न रहेका थिए । कृष्णप्रसाद कोइरालाका दुई पत्नी थिए, मोहनकुमारी र दिव्या । दिव्यातर्फका सन्तान बढी राजनीतिमा देखिन्छन् । बीपी, केशवप्रसाद, तारिणी र गिरिजाप्रसाद दिव्यातर्फका छोराहरु हुन् ।

पिताकै प्रेरणा पाएर मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, केशवप्रसाद, तारिणीप्रसाद र गिरिजाप्रसाद कोइराला राजनीतिमा होमिएका थिए ।

केशवप्रसाद र तारिणीबाहेकका तीनैजना मुलुकको प्रधानमन्त्री पनि बने । हाल कांग्रेस राजनीतिमा रहेका डा. शेखर कृष्णप्रसाद कोइरालाका साइला पुत्र केशवप्रसादका कान्छा छोरा हुन् । गिरिजाप्रसादकी छोरी हुन्, सुजाता । विश्वेश्वरप्रसादका कान्छा छोरा हुन्, डा. शशांक ।

विश्वेश्वरप्रसादका जेठा छोरा प्रकाश कोइराला अहिले राष्ट्रवादी कांग्रेस पार्टी खोलेर त्यसको अध्यक्ष छन् । उनी ०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा बनेको सरकारमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।
२०४६ सालको आन्दोलनमा पनि परिवर्तन विरोधी अभिव्यक्ति दिएका कारण प्रकाश कांग्रेस राजनीतिमा जम्न सकेनन् । ०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनप्रति पनि उनको विरोध रह्यो ।

विश्वेश्वरप्रसादका माइला छोरा श्रीहर्ष कांग्रेस समर्थक भए पनि राजनीतिज्ञका रुपमा उनको चर्चा हुँदैन । राजनीतिमा उनको परिचय बीपी पुत्रका रुपमा मात्रै सीमित छ ।

कान्छा छोरा शशांक कांग्रेस महामन्त्री बने । उनी आँखाका चिकित्सकसमेत हुन् । ०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि उनी पूर्णकालीन राजनीतिमा छन् । ०६४, ०७०, ७४ र ०७९ को आम निर्वाचनमा उनी नवलपरासी पूर्वबाट निर्वाचित भएका थिए ।

कृष्णप्रसाद कोइरालाका माइला छोरा केशवप्रसाद कोइराला राजनीतिक कम, पारिवारिक व्यवस्थापनमा बढी सक्रिय थिए । उनका जेठा छोरा निरञ्जनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी ०४८ सालतिर काका गिरिजाप्रसादसँग नजिक थिए । तर, त्यो निकटता धेरै समय टिकेन । पत्नी सन्तोषको ललितपुर भट्टेडाँडामा भएको विमान दुर्घटनामा निधन भएपछि उनी विरक्तिए र राजनीतिबाट टाढा हुन पुगे । त्यसपछि निरञ्जनले भारतीय औद्योगिक घरानाकी इला डालमियासँग विवाह गरेका छन् ।

केशवप्रसादका कान्छा छोरा डा.शेखर कांग्रेसका केन्द्रीय सदस्य छन् । उनले चिकित्साशास्त्रमा स्नातकोत्तर गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसमेत भएका उनी विराटनगरलाई आधार बनाएर राजनीतिमा सक्रिय छन् । मोरङ ६ बाट कहिले हार्ने त कहिले जित्ने गरेका उनी आफूलाई कांग्रेसको भावी सभापतिकोरुपमा चिनाउन थालेको धेरै वर्ष भयो । तर, पछिल्लो अवस्थाले उनी अब केवल ‘हल्लाका सभापति’ मात्र बन्ने देखिएको छ । पार्टीमा आएको पछिल्लो विभाजन र उनको विरोधाभाषपूर्ण व्यवहार तथा कित्ताकाटमा गरेको अलमलले उनी अब कांग्रेस सभापति हुने सम्भावना लगभग समाप्त भएको छ ।

मातृका प्रसाद कोइरालाका छोरा कमल कोइराला परिवारका एकमात्र त्यस्ता व्यक्तित्व थिए, जसले ०११ साल अघिदेखि नै वामपन्थी राजनीति गरे । आफ्नो बाबु प्रधानमन्त्री हुँदासमेत सरकार विरुद्ध सडक प्रदर्शनमा भाग लिए र पक्राउ परे । नेकपा एमालेबाट सांसद र दक्षिण कोरियाको राजदूत भएका उनको २ वर्ष अगाडि निधन भैसकेको छ ।

कृष्णप्रसादका काइँला छोरा तथा बीपीका साइँला भाइ तारिणीप्रसाद कोइराला प्रजातान्त्रिक रेडियो नेपालका संस्थापक हुन् । पञ्चायत कालमा उनी पत्रकारिता क्षेत्रका स्थापित नामहरु मध्ये एक मानिन्थे ।

तारिणीका एक मात्र छोरा ज्योति कोइराला हुन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका ज्योति काका गिरिजाप्रसादको व्यवहारका कारण विरक्तिए । ०४८ सालको आम निर्वाचनपछि गठित सरकारमा गिरिजाप्रसादका निकट सहयोगी रहेका उनी एकाएक पर धकेलिए र राजनीतिबाट गुमनामजस्तै बने ।

बीपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला चार पटकसम्म प्रधानमन्त्री बनेका थिए । उनका एक छोरा र एक छोरी छन् । छोरा सुरेश कोइराला छापाखाना व्यवसाय गर्थे । हृदयाघातका कारण उनको पनि मृत्यु भइसकेको छ ।

छोरी सुजाता अहिले पनि देउवा कांग्रेसको केन्द्रीय सदस्य छिन् । तर विशेष महाधिवेशन पछि उनले नयाँ कार्य समितिलाई बधाई दिँदै देउवा कांग्रेसमा नबस्ने संकेत गरेकी छन् । उनी पूर्वउपप्रधान तथा पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । बाबु गिरिजा प्रसाद प्रधानमन्त्री हुँदा घटेका लाउडा, धमिजा लगायतका अनेकौं काण्डहरुमा सुजाताको नाम जोड्ने गरिन्छ ।


चौथो पुस्ताः राजनीतिबाट टाढा

बीपीका जेठा छोरा प्रकाशका छोरा सिद्धार्थ र छोरी मनिषा दुईजना छन् । उनी एक पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए ।

उनकी दिदी मनिषा समय समयमा उनी राजनीतिमा आउने चर्चासमेत चल्ने गर्छ । उनी आफूलाई राजावादी कित्तामा उभ्याएकी छन् ।

बीपीका माइला छोरा श्रीहर्षका पुत्र श्रेयसले बेलायतबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनी अहिले काठमाण्डौमा आफ्नै फाइनान्स कम्पनी चलाएर बसेका छन् । श्रेयसकी बहिनी आवन्तीले नयाँदिल्लीबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।

शशांकपुत्री सुप्रिया दन्त रोग विशेषज्ञ हुन् । अहिले उनी अमेरिकामा काम गरिरहेकी छन् ।

केशवप्रसादका जेठा छोरा निरञ्जनका दुई छोरा छन्, हिमांशु र भाष्कर हुन् । जेठा हिमांशुले भारतका उद्योगपति सुरिन्तर कपुरकी छोरी मन्दिरासँग विवाह गरेका छन् । उनी भारतमै उद्योग र व्यवसायमा जमेका छन् ।

कान्छा छोरा भाष्करले अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक र लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर र पेकिङ विश्वविद्यालयबाट परराष्ट्र मामिलामा विद्यावारिधि गरेका छन् । उनी राजनीति र कुटनीतिक मामिलाका जानकार हुन् । तर, उनी मुल धारको राजनीतिमा आएका छैनन् ।

शेखरकी पुत्री नेहाले नयाँदिल्लीबाट स्नातकोत्तर गरेकी छन् । उनी पनि राजनीतिबाट टाढा रहेर गैरसरकारी क्षेत्रमा कार्यरत छन्। उनीहरु जस्तै कोइराला परिवारका पछिल्लो पुस्ताका अधिकांश मानिसहरु राजनीतिबाट टाढिंदै गएको देखिएको छ ।

 




एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 14, 2026 10:57 AM

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।