यो भनाईको पछिल्लो दृष्टान्त बनेका छन् —नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे । जो परिणाममुखी काममा, नैतिक र इमान्दारपूर्ण राजनीतिमा अब्बल मानिए पनि गुटको खेलले राजनीतिक जीवनकै सम्भवतः सबैभन्दा कष्टकर मोडमा उभ्याइदिएको छ । अर्काे अर्थमा उनको राजनीतिक जीवनमा कहिल्यै नलागेको ग्रहण लगाइदिएको छ ।
केही वर्षदेखि नेकपा एमाले पार्टीमा हावी रहेका केपी ओलीले आफ्नो गुटमा संलग्न नभएकै निहुँमा पाण्डेको राजनीतिमा ग्रहण लगाउने प्रयास गरेका छन् । केही समय अघि सम्पन्न भएको पार्टीको बाह्रौं महाधिवेशनमा ओलीको विकल्पमा ईश्वर पोख्रेललाई अध्यक्षको उम्मेदवार बनाउँदै पाण्डे महासचिवको उम्मेदवार भएका थिए । तर, उनी महासचिवमा मात्र होइन, केन्द्रिय सदस्यमा पनि पराजित भए । अहिले ओलीले उनलाई चुनावको टिकटबाटसमेत बन्चित गरेका छन् । उनले विगतमा लड्दै आएको चितवन क्षेत्र नं १ हो ।

आफ्नै सहोदर दाई राजेन्द्र पाण्डे (वाग्मती प्रदेशका पूर्व मुख्य मन्त्री तथा हाल नेकपा नेता) भन्दा पनि पहिले २०३१ सालदेखि पूर्णकालीन राजनीतिमा होमिएका पाण्डे र २०६१ पछिको शाहीकालमा गरि राजकाज र सार्वजनिक शान्ति सुरक्षा ऐन अन्तर्गत थुप्रै पटक जेल जीवन बिताएकाका थिए । २०४८ सालदेखि नै कहिले राष्ट्रिय सभा त कहिले संविधान सभा र कहिले प्रतिनिधि सभामा निर्वाचित हुँदै आएका नेकपा एमालेको मात्र होइन, देशकै वौद्धिक र सफल अर्थमन्त्री मानिन्छन् । उनी अन्य कतिपय अर्थमन्त्रीहरु जस्तो विवाद र कुनै काण्डमा मुछिएका छैनन् ।
पटक सांसद र मन्त्री हुँदा पनि आर्थिक र अन्य विवादहरुमा नपरेका उनी जत्तिका सांसद, नेता र मन्त्रीहरु विरलै छन् । अर्थमन्त्री त कोही छैन भने पनि फरक पर्दैन । वास्तविकरुपमा भन्नुपर्दा पटक पटक लाभको पदमा पुग्दा पनि, अवसर पाउँदा पनि सुको अनियमितता नगरेका, नातावाद र परिवारवादमा नफसेका उनी नेपालका ‘मिस्टर क्लिन’ अर्थमन्त्री नै हुन् ।
पाण्डे अघि र पछि पनि अर्थमन्त्री बनेका धेरै अनुहारहरू निस्कँदा दाग लागेर बाहिरिएका छन् । निकै आशा गरिएका र बौद्धिक ठानिएका व्यक्तिहरू पनि जनताका नजरमा चोखो र्फकन नसकेको यथार्थ छर्लङ्ग छ । मन्त्रीका श्रीमती र छोरा छोरीले समेत मन्त्रालय र मातहतका कार्यालयहरुका कर्मचारीलाई धम्काउँदै असुली धन्दा चलाउने गरेको चर्चा चल्ने गर्छ । तर, पाण्डे भने अपवाद बने । उनले मन्त्रालय अन्तरगतका कर्मचारीहरुको सरुवा सचिवहरुको अधिकार भन्दै त्यसमा चासै दिएनन्, कुनै कर्मचारीले बदमासी गरेको सुनेमा भने स्पष्टिकरण सोध्दै आवश्यकताअनुसार कारवाही गरे । कतिसम्म भने उनले आफ्नै पार्टी निकट कर्मचारी संगठनका नेताहरुले सरुवामा दबाब दिँदासमेत मन्त्री पद छोड्न तयार रहेको तर नियम र प्रकृया मिचेर कुनै काम नगर्ने सार्वजनिकरुपमै जवाफ दिएका थिए ।
पाण्डे अर्थमन्त्रीबाट हटेपछि नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष कुशकुमार जोशीले व्यक्त गरेको एउटा भनाई निकै अर्थपूर्ण छ । उनले पाण्डेको कार्यशैलीको बारेमा प्रतिकृया दिँदै एक दैनिक पत्रिकालाई दिएको प्रतिकृयामा भनेका थिए—उद्योग व्यवसायीसँग नीतिगत विषयमा चासो राखेर काम गर्ने, आफ्नो स्वार्थको लागि कहिल्यै कुरा नगर्ने सुरेन्द्र पाण्डे जस्ता नेताहरु पनि नेपालमा रहेछन् भन्ने हामीले अनुभूति गर्यौं । उहाँ जस्ता सोंच भएका अर्थमन्त्रीहरु नै देशको लागि आवश्यक छ ।
०६६ जेठदेखि ०६७ माघ सम्म करिब २० महिना अर्थमन्त्री भएका उनले मुलुकको सिंगो विकासमा दीर्घकालिनरुपमा प्रभाव पार्ने कार्यक्रमहरू अगाडि बढाएका थिए । जस्तो कि मध्य पहाडी लोकमार्ग, मध्यपहाडी सडक वरपर दशवटा शहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी, काठमाडौँ निजजगढ फास्ट ट्याक निर्माण, सडक दुर्घटनाका पीडितलाई उचित न्याय दिलाउन, दुर्घटनाको कारणबाट सडक अवरोध भई यात्रुहरु अलपत्र पर्ने अवस्थालाई समाप्त गर्न तेश्रो पक्षको बिमा आदी इत्यादी । यस्ता धेरै कामहरु छन्, जुन पाण्डेले अर्थमन्त्री हुँदा शुरु गरेका थिए ।
अर्थमन्त्रीबाट हटेपछि उनी झण्डै एक दशक सांसद रहे । त्यसपछि मन्त्री बन्ने मौका मिलेन । २०७९ को चुनावमा रास्वपाका हरि ढकालसँग पराजित भएका उनलाई अहिले ओलीले आफ्नो गुटमा नरहेकै कारण उम्मेद्वार बन्नै रोकेका छन् । यस्ले पाण्डेको संसदीय राजनीतिक भविश्यमाथि तत्कालको लागि ग्रहण लागे जस्तो छ । तर, वौद्धिक व्यक्तित्वको लागि चुनावको टिकट नपाउनु वा चुनाव हार्नु राजनीतिक विश्रामको संकेत होइन कि अध्ययन अध्यापनको लागि समय व्यवस्थापनको अनुकूलता पनि हो । त्यसमाथि पाण्डे त अहिले त्रिभुवन विश्व विद्यालयबाट पिएचडी गरिरहेका छन् । उनी मात्र होइन उनकी श्रीमती पूर्णशोभा चित्रकारले पनि संगै पिएचडी गरिरहेकी छन् ।
६७ वर्षिय पाण्डेले समाजशास्त्रतर्फ एमफील (दर्शनाचार्य) मा सर्वाेत्कृष्ट भएका थिए ।