नेपाल र चीनका केन्द्रीय बैंकका गभर्नर बीच भेटवार्ता: सीमा पार भुक्तानी र क्युआर कोड प्रणालीमा सहकार्य हुने

Jan 28, 2026 12:47 PM merolagani



नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइनाका गभर्नर फान कोङसङबीच चीनको थियानचिनमा द्विपक्षीय भेटवार्ता भएको छ। 

बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बिआइएस) द्वारा आयोजित '२०औँ एसिया–प्यासिफिक हाई–लेभल मिटिङ अन बैंकिङ सुपर भिजन' मा सहभागी हुने क्रममा उहाँहरूबीच यो महत्त्वपूर्ण भेट भएको हो।

भेटवार्ताका क्रममा दुई देशबिचको सीमा पार भुक्तानी लगानी अभिवृद्धि र सहयोग आदानप्रदानका क्षेत्रमा रहेका अवसर तथा चुनौतीबारे विस्तृत छलफल भएको थियो । विशेषगरी वित्तीय क्षेत्रमा भइरहेका नवीन अभ्यास, प्रविधि विकासबाट प्राप्त हुने लाभ र समसामयिक विषयमा द्विपक्षीय सहयोग बढाउने दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।

छलफलको एउटा मुख्य एजेन्डा दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीलाई सहज र सस्तो बनाउनु रहेको थियो। भुक्तानी प्रक्रियालाई सरल बनाउँदै लागत न्यूनीकरण गर्ने विषयमा दुवै गभर्नर सकारात्मक देखिएका छन्। 

सो अवसरमा चिनियाँ केन्द्रीय बैंकका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण र सहयोगका लागि चिनियाँ केन्द्रीय बैंक सदैव तयार रहेको धारणा राखे। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. पौडेलले दुई देशका केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको बताए। उनले यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको स्पष्ट पारे।

 

भेटमा पिपुल्स बैंक अफ चाइनाका अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा नेपाल राष्ट्र बैंकका तर्फबाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेको समेत उपस्थिति थियो ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।