दोस्रो बजारमा हालै सूचीकृत भएका नयाँ कम्पनीको शेयरको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसले लगानीको जोखिम बढेको बुझाई छ । बजारमा राम्रा र बलिया कम्पनीहरूको शेयर मूल्य सस्तिएका छन् । बजारमा शेयरको सेल लागे पनि खरिदकर्ताको अभाव छ । आम लगानीकर्ताहरु दैनिक मूल्य बढेकै आधारमा नयाँ कम्पनीमा जति मूल्य तिर्न तयार छन् । यसरी लगानी गर्नुकाे सट्टा कम्पनीको अवस्था हेरेर सुझबुझपूर्ण ढङ्गले लगानी गर्नु पर्नेमा जाेड दिन्छन्-अनुभवी लगानीकर्ता उपेन्द्र पाठक। तीन पाठकसँग सुधा देवकोटाले गरेको कुराकानीः
पछिल्लो समय चर्चा जेनजी कै छ । राजनीतिमा जेनजीकाे दबदबा छ र दोस्रो बजारमा पनि हालै भित्रैका कम्पनीलाई 'जेनजी स्टक' भनिने गरिन्छ । जेनजी स्टकका बारेमा तपाईकाे धारणा के छ ?
हो, जेनजीको नै चर्चा रहेको छ । राजनीतिमा पनि नयाँमा आकषर्ण छ । दोस्रो बजारमा पनि नयाँ कम्पनीमा नै लगानीकर्ता झुम्मिएका छन् । यसले परिस्थितीलाई चलायमान बनाउनको लागि राम्रो भुमिक निर्वाह गरेको छ ।
नयाँ कम्पनीमा पूँजी कम हुने भएकै कारण धेरै लगानीकर्ताको आकषर्ण बढेको हो । जुन समयमा पनि नयाँ कम्पनी नै लगानीका लागि उपयुक्त हुन्छन् भन्ने हुँदैन । ती कम्पनीको आधाभूत अवस्थालाई पनि मध्यनजर गरेर लगानी गर्नु पर्ने हुन्छ । नयाँ भन्दैमा आँखा चिम्लेर गरिने लगानी घातक पनि हुन सक्छ ।

राजनीतिमा जेनजीको नाममा भएको बिद्रोहले पनि बजारलाई असर पारेको छ । अर्थतन्त्रका सूचकहरु मध्येमा सबै भन्दा धेरै पूँजी बजार नै तरङ्गित भयो । तर सो अवस्थाबाट बजार उठेको छ । सुधार भएको छ । अहिले सो दिनलाई सम्झदा त्यस्तो दिन आएको थियो र भन्ने लाग्न थालिएकाे छ ।
राजनीतिमा हुने गरेका अनेपेक्षित घटनाक्रमले बजारलाई स्वभाविक रुपमा तरङ्गित पारेको हुन्छ । तर दीगो रुपमा हेर्दा बजारलाई असर गरेको देखिदैन । हाम्रो बजारलाई नियमनकारी निकायले लिने नीतिगत कारणले धेरै प्रभाव पार्ने गरेको छ ।
अहिले नियामक निकायहरुले पनि बजारसँग सम्बन्धित नीतिहरुलाई सहज बनाउँदै आएका छन् । सो निकायहरुले नीतिगत व्यवस्था खुकुलो गर्न बाँकी छ । सारोकारवाला निकायले बजारमा विदेशी लगानीकर्ता, गैर नेपाली नगारिक (एनआरएन) तथा संस्थागत लगानीकर्तालाई बजारमा बढाउनु पर्नेछ । नियामक निकायले त्यसको लागि सहज वातावरण सिर्जना गर्न बाँकी छ । लगानी मैत्री नीतिहरु भएमा बजारको सूचक यहि अवस्थामा रहँदैन ।
बजारमा रौनक आउन अझै बाँकी छ । अहिलेसम्म अन्य क्षेत्रहरु सुस्ताएका छन् । उद्योग व्यवसायीहरु ढुक्क भएका छैनन् । चुनाव पछि बन्ने सरकार कस्तो हुने हो भन्नेमा दुबिधामा छन् । यस्तो बेलामा दोस्रो बजार नै चलायमान हुने हो ।
चुनाव पछिको सरकार कस्तो बन्ने हो भन्ने अन्योलता छदैछ । तर चुनाव त हुने भयो यसले बजारमा के गर्छ ?
आगामी चुनावका लागि विभिन्न राजनीतिक दलहरुले मनोनयन दर्ता गराइसकेका छन् । ३ हजार बढी उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । चुनावले पैसालाई चलायमान बनाउने छ । अहिले थन्केको पैसा चुनावका लागि चलायमान हुन सुरु हुनेछ । पैसा चलायमान हुँदा बजारमा पनि सकारात्मक प्रभाव पर्छ ।
विगतमा तरता अभाव हुने र चुनावमा पैसाको चलखेल धेरै हुने हुदाँ बजारमा तरलता सहज हुने तर्क ठिक थियो होला । तर यस पटक प्रणालीमा भएको पैसा नै परिचालन भएको छैन् । त्यसलाई नै बजारले प्रतिकृया दिएको छैन् । अझै चुनावमा पैसा परिचालन हुन्छ र सूचक सकारात्मक हुन्छ भन्न सकिने आधार रहन्छ ?
विगतमा चुनाव ब्याजदर चर्को थियो । बैंकमा मुद्दती निक्षेपमा नै १० प्रतिशत बढी ब्याज पाउने अवस्था थियो । अहिलेको अवस्था त्यस्तो छैन । अहिले ३-४ प्रतिशतमा भन्दा बढी ब्याज पाइदैन । अझै संस्थागत निक्षेपकर्ताले त झनै पाएका छैनन् । अहिले पैसा बेरोजगार भएको अवस्था हो ।
भएको पैसा राष्ट्र बैंकमा थुप्रेको छ भन्दैमा पैसा छ भनेर भएन । सो पूँजीलाई परिचालित गर्नुपर्यो । विकास निमार्णका कामहरु भएका छैनन् । लगानीका सबै क्षेत्र बन्द भएका छन् । अहिलेको अवस्थामा अहिले चलायमान भएको क्षेत्र भनेको शेयर बजार मात्रै हो । बजारमा गरिएको लगानी तरल हुन्छ । त्यसैले अन्य क्षेत्रमा भन्दा पूँजी परिचालन गर्न सहज हुन्छ । कम्पनीहरुको प्रतिफल वितरणको क्षमतामा सुधार भएको छ । कम्पनीहरुले व्यवसाय वृद्धिमा जोड दिएका छन् । नीतिगत सुधार भएको छ । त्यसैले अबको बजारमा लगानी गर्नेहरुले पछुताउनु पर्ने अवस्था रहदैन ।
शेयर बजारमा यति धेरै सम्भावना रहदा रहदै लगानीकर्ताले महसुस गर्ने गरी बजार किन बढ्न सकेको छैन ?
दोस्रो बजारका लगानीकर्तामा विश्वासको कमी छ । विगतमा नियामकले कठोर नीति ल्याएर बजारलाई नियन्त्रण गर्न खोजेको अझै बिर्सेका छैनन् । अझै फेरि त्यस्ता नीति लिने हो कि भन्ने डर आम लगानीकर्तामा छ ।
हिजोका दिनमा व्यवसायहरुमा समस्या खेप्नु परेको थियो । अहिले विस्तारै सुधार हुँदै छ । वाणिज्य बैंकहरुले दुई-तीन वर्षसम्म कर्जा प्रवाहमा जोड नदिएर रिकभरिमा मात्रै ध्यान दिने र सो उठेमा राम्रो प्रतिफल दिन सक्ने क्षमतामा छन् । बैंकहरुले भएको पुरानो खराब कर्जा उठाउन सकेमा नाफा बढाउन दुःख गर्ने नपर्ने छ । जति बिग्रनु बिग्रेको छ । अब सुधार मात्रै हुने हो ।
दोस्रो बजारमा नयाँ कम्पनीमा लगानीकर्ताको भिड बढेको छ । ती कम्पनीहरुको वास्तविक अवस्था बारेमा धेरै जानकार छैनन । त्यसको सञ्चालक, व्यवस्थापन पक्ष कस्तो छ, कम्पनीको सुशासन कस्तो छ भन्नेबारेमा पर्याप्त जानकारी छैन । कम्पनीको निरन्तर मूल्य वृद्धि भएको छ भन्दै खरिद बिक्री भएको छ । उच्च मूल्यमा कारोबार भएर पनि प्रतिफल वितरण नगरेका धेरै कम्पनीहरु रहेका छन् । त्यस्तो कम्पनीमा लगानी गरेर उच्च मूल्यमा पर्दा जोखिम बढी हुन्छ । नयाँ आएका कम्पनीमा सप्लाई कम हुन्छ भन्दैमा आखाँ चिम्लेर लगानी गर्नु हुँदैन ।
यहाँ केही कुरा बुझिएका छैनन । आईपीओले बजारमा सप्लाई बढायो भनिएको छ । फेरि लगानीकर्ताहरु तीनै कम्पनीमा नै धेरै आकर्षित हुनुलाई कसरी बुझ्नु ?
सरकारले दोस्रो बजारमा आउन चाहेका कम्पनीलाई रोक्न मिल्दैन । अहिले दोस्रो बजारमा १०० रुपैयाँको शेयर दुई हजार माथिल्लो मूल्यमा बिक्री गर्न पाएको छ । सराकारले १९ सय रुपैयाँको ७ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारलाई फाइदा छ । यस्तै हुने हो भने शेयर लकको प्रवधान नै नराखी बजारमा सूचीकृत हुने व्यवस्था गरिनु पर्छ । बजारमा १० प्रतिशत मात्रै कारोबार योग्य शेयरको रुपमा प्रवेश गरेको छ । तीन बर्षमा सबै शेयर कारोबार योग्य हुन्छ । यसले बजारमा झनै जोखिम बढाएको छ ।