र, त्यसका एउटा मुख्य पात्र बने अहिलेका महानायक अमिताभ बच्चन ।
गान्धी परिवारसँग निकट रहेका अमिताभले भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट इलाहावाद लोकसभा सिटबाट चुनाव लडेर जिते । त्यो चुनावमा उनले हराएका व्यक्ति चानचुने व्यक्ति थिएनन्, उनी हेमवती नन्दन बहुगुणा थिए ।
हेमवती नन्दन बहुगुणा भारतीय राजनीतिका त्यस्ता आदर्श पात्र हुन्, जो अहिले पनि उत्तर प्रदेशको राजनीतिमा ‘भगवान’ जस्तै श्रद्धेय मानिन्छन् । भगवानमा बरु दोष होला, बहुगुणामा कुनै दोष पाइदैन भन्ने मिथक नै छ ।

दुई पटक उत्तर प्रदेशको मुख्यमन्त्री, केन्द्रिय वित्त मन्त्री, पेट्रोलियम मन्त्री, संचार मन्त्रीलगायतका अनेकौं मन्त्रालयका मन्त्री रहेका बहुगुणाको नाममा गढवालमा हेमवती नन्दन बहुगुणा गढवाल विश्व विद्यालय नै संचालनमा छ, जहाँ हजारौं विद्यार्थी अध्ययनरत छन् ।
उनले जुन जुन सार्वजनिक पदहरु सम्हाले, आफू पदमा हुन्जेल एक रुपैयाँ तलमाथि गरेनन् । मजदूर, किसानको हितमा काम गर्ने प्रयास गरे ।
त्यस्ता आदर्श पात्रलाई सन् १९८४ को लोकसभा चुनावमा कांग्रेसको तर्फबाट चुनाव लडेका अमिताभ बच्चनले सजिलै हराई दिए । बहुगुणा जनता दलको तर्फबाट चुनाव लडेका थिए ।
अमिताभ बच्चन महानायक बनिसकेका थिएनन्, तर चर्चित नायक भने बनिसकेका थिए । ‘सेलिब्रेटी’ बनिसकेका थिए । त्यसैको बलमा २ लाख ९७ हजार ४६१ भोट ल्याएर अमिताभले चुनाव जिते, बहुगुणा १ लाख ९ हजार ६६ भोट मात्र ल्याए र हारे ।
तर, त्यो हारजित यस्तो भयो कि हेमवतीनन्दन त पछुताए नै, त्योभन्दा धेरै पछुतो चुनाव जितेका अमिताभ बच्चनलाई भयो ।
चुनाव परिणाम सार्वजनिक भएपछि आयोजित कार्यक्रममा बहुगुणाले र त्यसको केही समयमा अमिताभ बच्चनले जे प्रतिकृया दिए र त्यो अहिले भारत, नेपाललगायतका विश्वका धेरै देशको नियतिसँग मेल खान्छ । चुनावमा आफू पराजित भएपछि चुनाव जितेका अमिताभ बच्चनलाई बधाई दिंदै बहुगुणाले भनेका थिए—मलाई चुनाव हारेकोमा कुनै पछुतो छैन । किनकी राजनीतिमा हारजितको कुरा सामान्य हो । तर, म कुनै नेतासँग हार्नु पर्दथ्यो । अमिताभ बच्चन जस्तो कलाकारसँग हार्नु बिडम्बना हो, जो राजनीति गर्न जन्मेकै होइन, कला क्षेत्रको लागि जन्मेको छ, त्यस्ता व्यक्तिले चुनाव लडेर जित्नु देशको लागि शुभ संकेत होइन । यस्ले राजनीतिलाई विगार्छ ।
उनको त्यो भाषणलाई शुरुमा कतिपयले चुनाव हार्दाको पीडा पोखेकोरुपमा लिए । तर, वास्तविकता के थियो भन्नेकुरा स्वंय अमिताभ बचनले केही समयमै पुष्टि गरे । उनले बहुगुणा जस्तो असल राजनीतिज्ञको विरुद्ध चुनाव लडेर आफूले निकै ठूलो गल्ती गरेको भन्दै पछुताइरहेको बताए । त्यो पछुतोले उनलाई यस्तोसँग पिरोल्यो कि चुनाव जितेको ३ महिनामै उनले सांसद पदबाट राजीनामा दिए र आजिवन राजनीति नगर्ने घोषणा गरे । नभन्दै उनी त्यसपछि कुनै राजनीतिक गतिविधिमा संलग्न भएनन्, आफूलाई कला क्षेत्रमै केन्द्रित गरेर ‘सदीका महानायक’ बने । अचेल उनी राजनीतिको बारेमा कहिल्यै कुनै कुरासमेत गर्दैनन् । यद्धपी उनकी पत्नी जया बच्चन भने समाजवादी पार्टीबाट थुप्रै वर्षदेखि सांसद छन् ।
नेपालमा फागुन २१ गते चुनाव हुँदैछ र थुप्रै कलाकार चुनावी मैदानमा छन् । कलाकारिता क्षेत्रमा कमाएको लोकप्रियताको दाउमा संसदमा पुग्ने, मन्त्री हुने दाउमा छन् । अपवादमा कोही सफल हुनु अलग्गै कुरा अन्यथा कलाकारले राजनीतिमा उधुम मच्चाएका घटना विरलै छन् । राजनीति गर्ने राजनीतिक नेता कार्यकर्ताको हो । तिनीहरु बेठिक भए पनि ठीक गर्ने अरु राजनीतिक नेता कार्यकर्ताले नै हो । कलाकार, अभिनेता, पत्रकार, व्यापारीले होइन ।
जसरी कला क्षेत्रमा विकृति बढ्यो भने सुधार गर्ने कला क्षेत्रकै व्यक्तिहरुले हो । नेता वा अरु कुनै क्षेत्रको व्यक्तिले फिलिम पनि म गर्छु, नाटक पनि मै गर्छु, तिमीहरुले केही गर्न जानेनौ भन्दै अगाडि सर्नु मुर्खता हुन्छ । त्यस्तै कला क्षेत्रमा नाम प्रतिष्ठा कमाएको व्यक्तिले राजनीतिक सपार्छु भन्ने अठोट गर्नु भावनात्मकरुपमा जति सहज देखिन्छ, वास्तविकतामा त्यस्तो देखिदैन । किनकी कलाकारिता गर्नु र राजनीतिकरुपमा नेतृत्व गर्नु आकास जमीनको फरक कुरा हो । के नेपालमा अन्यत्र कँही नभएको चमत्कार भएर कुनै कला क्षेत्रको व्यक्ति राजनीतिमा सफल होला र देशलाई सही ट्रयाकमा ल्याउन सफल होलान् ? राजनीतिमा सम्भावनाको खेललाई अस्वीकार गर्न सकिदैन भन्ने मान्यता छ, तर अहिलेसम्मको अवस्था हेर्दा त्यो सम्भावना भने देखिदैन ।