बालेनलक्षित ओलीको टिप्पणी–आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे

Feb 10, 2026 11:45 AM merolagani



नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन् ।

ओलीले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरू नयाँ ठाउँ चहार्दै हिँडेको बताए । “अहिले म धेरै केही भन्न चाहन्नँ । हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ?” उनले प्रश्न गरे ।

आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताउँदै ओलीले झापाको गौरीगन्जसँगको सम्बन्ध ०२६ सालदेखि नै रहेको बताए । ०२६ देखि ०२९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको र ०३० मा जेल परेपछि केही समय आउन नपाएको तर ०४७ देखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको दाबी गरे ।

गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगन्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगन्जमा आकाश–जमिनको फरक रहेको उनको भनाइ थियो ।

विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलका कारण सफल भएको पनि दाबी गरे । उनका अनुसार कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ । सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्त्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक भत्ता चार हजार पुर्‍याएको दाबीसमेत गर्न भ्याए ।

 

यद्यपि, वर्तमान आर्थिक अवस्था र पटकपटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकामा दुःख व्यक्त गरे ।

“हामीले ०५१/०५२ सालमा सुरु गरेका थियौँ । सामाजिक सुरक्षा भत्ता अघिल्लोपल्ट मैले चार हजार पुर्‍याएको थिएँ । अहिले विभिन्न ढंगले सरकार फेरिने र त्यसले अर्थतन्त्र अप्ठ्यारो स्थितिमा पारेको हुनाले त्यसलाई बढाउन सकिएको छैन,” उनले भने ।