बजेटको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गरिँदै

Feb 10, 2026 12:00 PM merolagani



सरकारले चालु आर्थिक वर्ष (२०८२–८३) को बजेटको अर्धवार्षिक समीक्षा आज (मङ्गलवार) सार्वजनिक गर्ने भएको छ। 

अर्थ मन्त्रालयले दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेको हो। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार पत्रकार सम्मेलनमार्फत बजेटको मध्यावधि मूल्याङ्कन र भावी योजनाबारे जानकारी दिइनेछ।

 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा बजेट तथा कार्यक्रमको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन प्रत्येक वर्षको माघ मसान्तभित्र सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । साथै, प्रतिवेदन सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिन अगावै त्यसको तयारी पूरा गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । विगत एक दशकदेखि अर्धवार्षिक समीक्षामार्फत बजेटको सुरुवाती अनुमान संशोधन गरी आकार घटाउने प्रवृत्ति निरन्तर देखिँदै आएको छ।