निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

Feb 10, 2026 03:09 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ८९ हजार ८३६ पटकको कारोबारमा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको २ करोड १७ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने आरबिबि फोकस ४० को इकाईमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।