विष्टले पदीय मर्यादा विपरीत भ्रष्टाचार गरी १ करोड ९७ लाख रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ।
अख्तियारका अनुसार विष्टले सेवा प्रवेश गरेको मिति २०७६ फागुन १ देखि २०८१ साउन १४ गतेसम्मको जाँच अवधिमा आफ्नो आम्दानीको अनुपातमा अत्यधिक बढी खर्च र लगानी गरेको पाइएको छ। अनुसन्धानका क्रममा इन्जिनियर विष्टको वैध आय जम्मा १ करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ २९ पैसा देखिएको छ। तर, सोही अवधिमा उनले घर–जग्गा खरिद, शेयर लगानी, छोराको अध्ययन खर्च र बैंक मौज्दातसहित कुल ३ करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ ९२ पैसा खर्च तथा लगानी गरेको भेटिएको छ।
यसरी उनको वैध आय र कुल खर्च बीच १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बराबरको रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ। विष्टले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र प्रचलित कानुन बमोजिम पेस गरेको सम्पत्ति विवरणमा समेत वास्तविक तथ्य लुकाएको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले सुवास विष्टका बाबु सुदर्शन विष्टलाई पनि प्रतिवादी बनाएको छ। सुवासले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति बाबु सुदर्शनको नाममा राखेको र उक्त सम्पत्ति प्रयोग एवं प्रचलनमा बाबुको समेत संलग्नता देखिएकाले उनलाई पनि सजाय र बिगो जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको हो।
आयोगले इन्जिनियर विष्टसँग १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबी गरेको छ। साथै, उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा झुट्टा विवरण पेस गरी सम्पत्ति लुकाएकाले सोही ऐनको दफा १६ (२) बमोजिम थप सजाय र गैर कानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न समेत माग गरिएको छ।
करार सेवामा रहेर छोटो अवधिमै ठुलो मात्रामा अवैध सम्पत्ति जोडेका विष्टको यो प्रकरणले स्थानीय तहमा हुने भ्रष्टाचारको भयावह स्वरूपलाई पुनः सतहमा ल्याएको छ।