अब भने कम्पनीले दोस्रो चरणमा ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र २८ हजार ४४० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन १३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख १८ हजार २६ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्गले कम्पनीलाई सेप्तेम्बर १८, २०२५ का दिन क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता अक्टोबर ८ सम्म रहने छ।
कस्तो कम्पनी हो?
नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने हेतुले निजी क्षेत्रका उद्यमीहरु मिलेर २०७३ माघ २६ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा रिज लाइन इनर्जी प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएको थियो। कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले २०७९ जेठ २५ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई रिज लाइन इनर्जी लिमिटडले २०७९ असार ३१ बाट स्विकृती प्राप्त गरी कारोबार सञ्चालन गर्दै आएको छ। कम्पनीले आफ्नो आयोजनाबाट उत्पादित विद्युत बिक्री गर्ने प्रयोजनका लागि नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्दा टेक एण्ड पे प्रावधानमा आधारित भई गरिएको छ।
कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं १ मा रहेको छ। आवश्यक परेको खण्डमा सम्बन्धित निकायमा आवश्यकतानुसार स्वीकृती लिई अन्य ठाउँमा पनि शाखा कार्यालय खोल्न सक्नेछ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं.२ र लमजुङ जिल्ला दुधपोखरी गाउँपालिका वडा नं.१ रहेको छ ।
कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र ३० वर्ष ११ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीकोे प्रवन्ध–पत्रमा जारी पूँजीको २२ प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान रहेको र बिद्युत उत्पादन अनुमतिपत्रमा बढीमा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुलाई बिक्री गर्नुपर्ने प्रावधान रहेकोले ति प्रावधान अनुरुप कम्पनीको जारी पूँजीको १० प्रतिशत शेयर पूँजी आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १२ प्रतिशत शेयर पूँजी सर्वसाधारणहरुलाई बिक्री वितरण गरी कम्पनीकोे चुक्ता पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुर्याउन कम्पनीले आईपीओ निष्काशन गरेको हो।
त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजीको प्रवन्ध गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो।
आईपीओ जारी गर्नुको मुख्य उद्देश्य काङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबर्द्धन गरेको माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा १५ करोड लगानी गर्ने र बैंकबाट लिएको ऋण कर्जाको दायित्व भुक्तानी गर्ने रहेको छ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
साधारण शेयर निष्काशन गरि प्राप्त हुने २६ करोड ७ लाख रुपैयाँमध्ये १५ करोड रुपैयाँ काङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबर्द्धन गरेको माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ भने ११ करोड ७ लाख रुपैयाँ बैंकबाट प्राप्त ऋण कर्जाको दायित्व भुक्तानी गर्न प्रयोग गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा २८ करोड ९८ लाख ५५ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित मुनाफा २९ करोड ७२ लाख ५७ हजार रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ८ पैसा र प्रतिशेयर आम्दानी ८ रुपैयाँ २ पैसा पुग्ने प्रक्षेपण रहेको छ।
त्यस्तै, आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८३/८४ मा कम्पनीको सञ्चित मुनाफा ४३ करोड ७२ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ २९ पैसा र प्रतिशेयर आम्दानी ११ रुपैयाँ २२ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ (२) मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालकहरु रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमा संस्थापक शेयरधनीहरुबाट ५ जना, सर्वसाधारण शेयरधनीहरुबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।
हाल कम्पनीमा ५ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा बसन्त गिरी रहेका छन्। त्यस्तै, कम्पनीका अन्य सञ्चालकहरुमा प्रदिप राज गिरी, अशोक कुमार खड्का, नारायण कंडेल, दिपेन्द्र हमाल र प्रतिमा तिवारी रहेका छन् भने स्वतन्त्र सञ्चालकमा डा. विनोद पोखरेल रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको भावी योजना नेपालको जलविद्युत विकासमा एक सफल कम्पनीका रूपमा स्थापित हुने, सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो लाई नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने रहेको छ।
त्यस्तै, नयाँ जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन गरी अन्य जलविद्युत आयोजनाहरु समेत निर्माण गर्ने, आफ्नो उद्देश्य प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीको भावी योजना रहेको छ। लगानी सम्बन्धी निर्णय गर्दा लगानीको समुचित प्रतिफल प्राप्त गर्ने तर्फ विशेष ध्यान दिने कम्पनीको रणनीति रहको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ३६ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १३१ रुपैयाँ ३६ पैसादेखि ३९४ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।