अब भने कम्पनीले दोस्रो चरणमा ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोष र १३ हजार ७९३ कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो। सो आईपीओमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार ५७ हजार २४३ जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा शेष रहने १ कित्ता शेयर सोही लगानीकर्ताहरुमा बाँडफाँट गरिनेछ। सो १ कित्ता शेयर प्राप्त गर्न लगानीकर्ताले २० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्गसले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्गसले कम्पनीलाई २०८२ मंसिर २ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता २०८३ फागुन ८ गतेसम्म रहेको छ।
कस्तो कम्पनी हो?
जलविद्युत आयोजनाको विकास, निर्माण र सञ्चालन गर्ने मुख्य उद्देश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम २०६४ जेठ ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक प्रा.ली कम्पनीको रुपमा दर्ता भई २०८० असार २१ गते बाट सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडमा परिणत गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० असार २५ गते कारोबार सञ्चालन गर्ने अनुमति प्राप्त गरी कारोबार गर्दै आएको छ।
कम्पनीकोे रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११, ट्रेड टावर, थापाथलीमा रहेको छ भने कम्पनीको आयोजना स्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पूर्वाधारहरु नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका (साबिकको घ्याङफेदी गा.वि.स.)मा रहेको छ । कम्पनीले आवश्यकता अनुसार कम्पनी ऐन, २०६३ बमोजिम रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्न सक्नेछ।
कम्पनीले ११ मेगावाटको तादी खोला जलविद्युत आयोजना उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट २०७२ असोज २२ गते अनुमतिपत्र प्राप्त गरेको हो र सो अनुरुप कम्पनीको विद्युत उत्पादन अनुमति पत्र २६ वर्ष बाँकी रहेको छ।
सो आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ। कम्पनीले २०८२ साउन १२ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम जारी पूँजीको २० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणहरुको लागि बिक्री वितरण गरी कम्पनीको जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँ पुर्याउन आईपीओ जारी गरेको हो।
त्यस्तै, कम्पनीको वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न, प्रबन्धपत्रमा तोकिए बमोजिमको पूँजी संरचना कायम गर्न तथा कम्पनीले आयोजना निर्माण गर्नका लागि भुक्तान गर्न बाँकी अन्य दायित्व भुक्तान गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
साधारण शेयर निष्काशन गरि प्राप्त हुने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ कम्पनीले ऋण प्रदायक बैंक तथा वित्तीय संस्थाहरु (लिड बैंक कुमारी बैंक लिमिटेड र को लिड बैंक नेपाल एसबिआई बैंक लिमिटेड) सँग भएको सम्झौता बमोजिम लिएको ऋण रकमको साँवा भुक्तानी गर्न उपयोग गर्नेछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नोक्सानी २ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ३१ पैसा ऋणात्मक रहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नोक्सानी २ करोड १८ लाख ४६ हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८ पैसा र प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४ पैसा रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चित नोक्सानी ४ करोड ४६ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ५२ पैसा पुग्ने प्रक्षेपण गरेको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ३० पैसा ऋणात्मक रहने प्रक्षेपण गरेको छ।
सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ५ जना सञ्चालकहरु रहेको सञ्चालक समिति गठन हुनेछ। जसमा संस्थापक शेयरधनीहरुबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।
हाल कम्पनीमा ३ जना सञ्चालकहरु छन्। समितिमा सर्वसाधारण समूह तथा स्वतन्त्र समूहबाट प्रतिनिधित्व छैन।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा संजिव न्यौपाने रहेका छन्। त्यस्तै, कम्पनीको कार्यकारी सञ्चालक मधुसुदन कोइराला रहेका छन् भने सञ्चालकमा सिर्जना खड्का रहेका छन्। यी तीनै जना सञ्चालकहरु अपि पावर कम्पनीमा आबद्ध छन्।
भावी योजना तथा रणनीति
कम्पनीको प्रबन्धपत्रको दफा ४ मा उल्लेख भए बमोजिमका उद्देश्यहरु प्राप्तिका लागि व्यावसायिक रूपमा सम्भाव्य देखिएको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने कम्पनीको उद्देश्य रहेको छ। कम्पनीको मुख्य उद्देश्य जलविद्युत आयोजनाहरुको अध्ययन, आयोजना निर्माण, विद्युत वितरण, व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजनाहरुमा लगानी गरि नेपालको जलविद्युत विकासमा एक अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ।
त्यस्तै, कम्पनीका अन्य उद्देश्यहरुमा सरकारी निकायहरुसँग भएको सम्झौता बमोजिम देशमा रहेको जलश्रोतको अधिकतम उपयोग गरी विद्युत उत्पादन गर्ने र सो उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी देशलाई विद्युतमा आत्मनिर्भर बनाई देशलाई सम्वृद्ध बनाउन सहयोग गर्ने, कम्पनीको दक्षता अभिवृद्धि गर्दे भविष्यमा लगानीकर्ताहरुलाई ३ वर्षपछि आर्कषक लाभांस वितरण गर्ने र नयाँ आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्दै लगानी गरी निर्माण तथा सञ्चालन गर्ने रहेको छ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ७७ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९४ रुपैयाँ ७७ पैसादेखि २८४ रुपैयाँ ३१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।