अब भने कम्पनीले दोस्रो चरणमा ३१ हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका छुट्याएर बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले फागुन ५ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि फागुन १९ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख २८ हजार ६५० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्। यसरी बाँडफाँट गर्दा कुनै कित्ता शेष नरहने भएकोले १० कित्ताका लागि आवेदन दिनु उपयुक्त हुनेछ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
साधारण शेयर निष्काशनको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्गले कम्पनीलाई नोभेम्बर १८, २०२५ का दिन क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको वैद्यता फेब्रुअरी ११, २०२७ सम्म रहने छ।
कस्तो कम्पनी हो?
नेपालमा रहेको अपार जलस्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहीचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने अभिप्रायले सुपर खुदी हाइड्रोपावर लिमिटेडले प्रचलित कानुन बमोजिम २०६५ साल पुस २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०८० साल असार १३ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई कम्पनी ऐन, २०६३ अन्तर्गत काम/कारोबार गर्दै आईरहेको छ।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३०, चारखाल, डिल्लीबजारमा रहेको छ। आवश्यकतानुसार स्वीकृित लिई अन्य स्थानहरुमा पनि रजिष्टर्ड कार्यालय सार्न वा शाखा कार्यालय खोल्न सकिनेछ। त्यस्तै, कम्पनीको जलविद्युत उत्पादन केन्द्र (पावर हाउस) लमजुङ्ग जिल्लाको मर्स्याङ्गदी गाउँपालिका वडा नं. २ र ३ रहेको छ।
कम्पनीले सञ्चालन गरेको २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार ३१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार ८९३ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमति पत्र २७ वर्ष ५ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।
माथिल्लो खुदी जलविद्युत आयोजनाबाट उत्पादन गरिएको सबै विद्युतशक्ती एकमुष्ट नेपाल विद्युत प्राधिकरणले खरिद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच २०७६ वैशाख ११ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भईसकेको छ। २०८० जेठ ३२ गते पहिलो संशोधन, २०८१ असार २० गते दोस्रो संशोधन तथा २०८१ कात्तिक २८ गते तेस्रो संशोधन भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८२ माघ ७ गते कायम गरिएको छ। सो आयोजनाको ८३.३० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरी कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट समेत प्रतिनिधित्व गराउने उद्देश्यले कम्पनीले आईपीओ निष्काशन गरेको हो।
आईपीओ जारी गर्नुको उद्देश्य संकलित पूँजीलाई परिचालन गर्दै निर्माणाधिन अवस्थामा रहेको माथिल्लो खुदी जलविद्युत आयोजनाको निर्माण गरी जलविद्युत उत्पादन गर्ने रहेको छ। यसरी निष्काशित गरिएको रकम ब्रिज ग्याप ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
कम्पनीको व्यवस्थापनले प्रारम्भिक सार्वजनिक निष्काशन मार्फत उठाइएको रकम पारदर्शी र जिम्मेवार ढंगले, सरोकारवालाहरूको हित र कम्पनीको दीर्घकालीन वृद्धिको रणनीतिसँग मेल खाने गरी प्रयोग गर्ने उद्देश्य राखेको छ। निष्काशनबाट संकलित कुल ३१ करोड रुपैयाँ कम्पनीले ब्रिज ग्याप ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ।
वित्तीय अवस्था
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा ४१ करोड १ लाख ७५ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७० पैसा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित मुनाफा ४६ करोड ५३ लाख ५० हजार रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा र प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा रहेको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले सञ्चित मुनाफा ८० करोड ३९ लाख ६३ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८७ पैसा र प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७३ पैसा पुग्ने प्रक्षेपण गरेको छ।
त्यस्तै, आगामी आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०८३/८४ मा कम्पनीको सञ्चित मुनाफा ९५ करोड ९९ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ९३ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ६ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ मा भएको व्यवस्था अनुसार ७ जना सञ्चालकहरु रहेको सञ्चालक समिति रहने व्यवस्था छ। जसमा संस्थापक शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना रहनेछन्।
हाल कम्पनीमा ४ जना सञ्चालकहरु छन्। कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चेतन प्रधान रहेका छन्। त्यस्तै, कम्पनीको प्रबन्ध सञ्चालक गणेश कार्की रहेका छन् भने अन्य सञ्चालकहरुमा बटु लामिछाने र निभिता प्रधान रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको भावी योजना प्रचलित कानून बमोजिम अनुमति प्राप्त गरि जलबिद्युत आयोजनाहरुको सर्वेक्षण, निर्माण, सञ्चालन व्यवस्थापन गर्ने उत्पादन गृहको निर्माण गर्ने रहेको छ। त्यस्तै, जलविद्युत शक्तिको समुचित विकासको लागि आवश्यक स्वदेशी एवं वैदेशिक संस्थागत वा व्यक्तिगत लगानी परिचालन गरि संयुक्त वा एकल लगानी गर्ने, उत्पादित विद्युत शक्ति बिक्री वितरणका लागि आवश्यकता अनुसार सवस्टेसन तथा प्रसारण लाईनहरु निर्माण गर्ने र उत्पादित जलविद्युत शक्ति नेपाल सरकार वा सार्वजनिक संस्थान वा निजी वितरण वा संगठित संस्थालाई वा उपभोक्तालाई एकमुष्ठ विक्री गर्ने वा आफ्नै प्रसारण लाईन प्रयोग गरि सिधै उपभोक्ताहरुलाई बिक्री वितरण गर्ने कम्पनीको योजना रहेको छ।