सुपर खुदीको आईपीओ निष्काशन मिति परिवर्तन, अब कहिलेदेखि दिन सकिन्छ आवेदन?

Feb 13, 2026 08:34 AM Merolagani



सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको मिति परिवर्तन गरेको छ। कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको आवेदन दिने मिति परिवर्तन गरेको हो।

कम्पनीको आईपीओ निष्काशन अब फागुन ५ गतेदेखि खुल्ला हुने भएको छ। अन्य कम्पनीको सार्वजनिक निष्काशनको समय तालिकासँग सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन जुध्न गएको भन्दै सिडिएस एण्ड क्लियरिङ्गले पत्र पठाएपछि कम्पनीले निष्काशन खुल्ला मिति १ दिन पछि सारेको हो। हाल रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ। सो कम्पनीको निष्काशन बन्द फागुन ४ गते हुनेछ।

सुपर खुदीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन खुल्ला हुने मिति एक दिन पछि सरेसँगै अब निष्काशन बन्द हुने मिति पनि एक दिन पछि सर्नेछ। जस अनुसार कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा फागुन ११ गते हुनेछ भने ढिलोमा फागुन २० गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनाको कुल लागत ५ अर्ब ३८ करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २७ वर्ष ५ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.२१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३.४२ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।