३ कारणले काठमाडौं ३ मा लडेका कुलमान बन्दैछन् प्रमुख ३ पार्टीलाई चुनौती

Feb 19, 2026 11:54 AM mero lagani



विगतमा नेपाली कांग्रेस र एमालेले आलोपालो जित्दै आएको काठमाण्डौ क्षेत्र नं ३ को चुनावी प्रतिस्पर्धा यस पटक निकै रोचक बनेको छ । 

त्यो रोचकतासंगै प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादीलाई यस पटक उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आच्छु आच्छु पारिरहेका छन् । यद्धपि यो क्षेत्रमा राजनीतिक पार्टीबाट १६ जना र स्वतन्त्र ६ जना गरि २२ जना उम्मेद्वार छन् । तर, मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले, माओवादी र उज्यालो नेपाल पार्टीबीच नै हुने आंकलन गरिएको छ ।

काठमाण्डौ क्षेत्र नं ३, काठमाण्डौको त्यस्तो क्षेत्र हो, जहाँ शहरी क्षेत्रका समस्या पनि छन् र ग्रामीण क्षेत्रका समस्या पनि छन् । सहरी क्षेत्रमा जाम, ढल र खानेपानीलगायतका समस्या छन् भने ग्रामीण क्षेत्रमा कच्ची सडक र वन्यजन्तुको समस्या पनि छ ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिका वडा नं ६, कागेश्वरी मनोहरा नगरपालिकाकाको वडा नम्बर १, २, ३, गोकर्णेश्वर नगरपालिकाको वडा १, २, ३, ४, ५, ६, ७, ८ र ९ वडा पर्छ । यहाँ काठमाण्डौको ग्रामीण क्षेत्र मानिने गागलफेदी, आलापोट, भद्रबास, डाँछी, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण, जोरपाटी, नयाँ बस्ती, दक्षिणढोका, अत्तरखेल, आरुबारी, बौद्धलगायत क्षेत्र पर्छन् ।

०५६ मा एमालेकी विद्या भण्डारी, ०६४ मा कांग्रेसका चक्रबहादुर ठकुरी, ०७० मा एमालेका रामेश्वर फुयाँल, ०७४ मा एमालेकै कृष्ण राई र ०७९ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । यो क्षेत्रमा प्रत्येक पटकको निर्वाचनमा सांसद फेरिँदै आएका छन् ।

गत निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका थिए । चालिसेमाथि भ्रष्टाचार मुद्दा लागेपछि कांग्रेसले रमेश अर्याललाई उम्मेदवार बनाएको छ । एमालेबाट पूर्वसांसद रामेश्वर फुयाँल चुनावी मैदानमा छन् । रास्वपाबाट काठमाण्डौ महानगरपालिकाका पूर्व प्रहरी प्रहरी प्रमुख राजुनाथ पाण्डे, नेकपाबाट नीरज लामा, उज्यालो नेपालबाटबाट कुलमान घिसिङ, राप्रपाबाट सुन्दरराम बोहरा, नेकपा संयुक्तबाट बाबुकाजी कार्की, नेमकिपाबाट मदन श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनबाट कुलबहादुर लामा, मितेरी पार्टीबाट जितबहादुर तामाङ, जसपा नेपालबाट प्रनिलध्वज कार्की, आजपाबाट रूपसागर देवी, नेसनल रिपब्लिक नेपालबाट प्रेमछिरी शेर्पा, प्रलोपाबाट शेखर अर्याल, श्रम संस्कृति पार्टीबाट सुवास घिसिङ र नेकपा माओवादीबाट शेखरनाथ आचार्य उम्मेदवार छन् ।

लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ उज्यालो देश बनाउने र प्रधानमन्त्री बन्ने भन्दै भन्दै भोट मागिरहेका छन् । जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री बनेका घिसिङ मन्त्री पदबाट राजीनामा दिएर उम्मेद्वार बनेका हुन् ।

घिसिङको गृह जिल्ला रामेछाप हो । तर उनी काठमाण्डौ ३ बाट चुनाव लडेका छन् । त्यसको पछाडि मुख्य तीनवटा कारण रहेको उज्यालो नेपाल पार्टीका नेताहरु बताउंछन् ।

पहिलो कारण हो— काठमाडौंमा उनको लोकप्रियता ।

ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका युवा पुस्तामाझ कुलमान चिरपरिचित र लोकप्रिय छन् । त्यहीकारण ग्रामीण वस्ती धेरै भएको गृहजिल्ला रामेछाप भए पनि कुलमानको प्राथमिकता काठमाण्डौ परेको हो ।

लोडसेडिङबाट मुक्त हुनुले सहरी क्षेत्रका जनता बढी लाभान्वित भएकाले रामेछापभन्दा काठमाडौंमै उठ्दा उनले चुनाव जित्न सक्ने अनुमान पार्टी नेताहरूले गरेका छन्।

स्मरणीय के छ भने भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व छान्न युवाहरूले सामाजिक सञ्जाल भोटिङ गर्दा पनि कुलमानको नाम अग्रपंक्तिमै आएको थियो । युवाहरूले बालेन र सुशीलापछि तेस्रो स्थानमा कुलमानको नाम प्रस्ताव गरेका थिए ।

 

कुलमानले काठमाण्डौ ३ छान्नुको दोस्रो कारण हो— जनजाती बहुल बस्ती । जन्मस्थल रामेछाप भए पनि धेरै बर्ष कुलमान यही क्षेत्रमा पर्ने बौद्धरमहांकालमा बस्दै आएका छन् । यो क्षेत्रमा जनजातिको बाक्लो उपस्थिति रहेकाले त्यहाँ उनलाई सहज हुने आकलन उज्यालो पार्टीका नेताहरूको छ ।

कूलमानले काठमाडौं–३ छान्नुको अर्काे कारण हो—प्रमुख पार्टीका उच्च तहका नेताहरु नलड्नु । यो क्षेत्रमा प्रमुख राजनीतिक दलका उच्च तहका नेताहरू उम्मेदवार छैनन् । त्यसको अर्थ लोकप्रिय व्यक्तित्वको आधारमा यो क्षेत्रमा कूलमान नै प्रमुख ‘सेलिब्रेटी’ उम्मेद्वार हुन् । त्यसबाट पनि मतदाताको ध्यान सहजै आफूतर्फ तानिने विश्लेषण कुलमान र उनको पार्टीका नेताहरुले गरिरहेका छन् ।

काठमाण्डौ क्षेत्र नं ३

उम्मेदवार संख्याः २२
मतदाता: ६४,४७९
महिला: ३२,९२३
पुरुष: ३१,५५६
मतदानस्थल: २९
मतदान केन्द्र: ७२

 




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।