कम्पनीका अनुसार अब लगानीकर्ताहरूले नासा सेक्यूरिटीजबाट ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्, जसले उनीहरूलाई आकर्षक लगानी अवसरहरू सदुपयोग गर्न सक्षम बनाउनेछ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई सहज रूपमा सम्बोधन गर्न उक्त ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको कम्पनीले बताएको छ ।
नासाले मार्जिन कारोवार सुबिधा सम्बन्धि निर्देशिका, २०८२ अन्तर्गत नयाँ योजना तथा स्किमहरू प्रस्तुत गरेको हो । यसले हरेक ग्राहकको मार्जिन आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीको मार्जिन ट्रेडिङ्ग योजनाअन्तर्गत यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहन्छ भने उसले केवल ३० प्रतिशत प्रारम्भिक मार्जिन (३ लाख रुपैयाँ) राखी कारोबार सुरु गर्न सक्नेछन् र ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अनुसार यदि ऋणको अवधि १ महिना भएमा त्यसमा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ लाग्ने कम्पनीले बताएको छ। सोही रकमको ऋण २ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १३ हजार ६५० रुपैयाँ र ३ महिनाका लागि लिएमा सेवा शुल्क तथा ब्याज गरी १९ हजार ९५० लाग्ने कम्पनीले जानाएको छ ।
यसका अतिरिक्त कम्पनीले १० लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्मका योजना तथा अफरहरू उपलब्ध गराएको छ जसको अवधि १ महिनादेखि ३ महिनासम्मको रहनेछ । नासा सेक्यूरिटीजबाट मार्जिन ट्रेडिङ्ग सेवा लिन इच्छुक जो कोही ग्राहकले आफ्नो मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ्ग खाता नासामै खोल्नुपर्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूची भित्र मात्र कारोबार गर्नुपर्नेछ ।