श्रेष्ठ २०८१ को असोठ २ गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए। उनी आउनु भन्दा अगाडि नै सेबोनको पाइपलाइनमा रहेका कम्पनीहरुले समेत प्रिमियममा शेयर निष्काशन गर्न अनुमति पाएको छैनन् । श्रेष्ठ आएदेखि प्रिमियममा आईपीओ निष्काशन गर्न कुनै पनि कम्पनीलाई अनुमति नदिए पनि प्रिमियममा शेयर निष्काशन गर्न आवेदन माग गर्ने कम्पनी भने थपिदै छन् । सेबोनले प्रिमियममा आईपीओ निष्काशन गर्न ठप्पै बनाए पनि रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई आईपीओ निष्काशन भएपछि धेरै कम्पनीले प्रिमियममा भएपनि आईपीओ निष्काशन गर्न अनुमति पाउने आशामा आवेदन दिएको एक मर्चेन्ट बैंकरले बताए ।
सेबोनका पूर्व अध्यक्ष रमेश हमालले दिएको प्रिमियम मूल्यको आईपीओ अनुमतिमाथि कैफियत देखिएपछि हालका अध्यक्ष श्रेष्ठले कुनै पनि प्रिमियममा आईपीओ माग गरेका कम्पनीको आईपीओ स्वीकृति नगरेका हुन । हमालले प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएका कम्पनीमा लेखा समिति र महालेखा परिक्षकको कार्यालयले समेत कैफियत देखाएको थियो । प्रिमियम आईपीओकै सवालमा पूर्व अध्यक्ष हमाल लेखा समितिसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बयानको लागि जान परेपछि अहिलेको अध्यक्ष श्रेष्ठले प्रिमियममा आईपीओ दिन जाँगर नदेखाएका हुन । व्यवहारमा प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति नदिए अर्थतन्त्रमा राम्रो योगदान दिने कम्पनीहरु आईपीओमा आउन नखोज्ने सार्वजनिक अभिव्यक्ति दिए पनि व्यवहारमा भने उनले अझै पनि कुनै ठोस पहल गरेको देखिएको छैन । संसदको अर्थ समितिले प्रिमियममा आईपीओ मागेका कम्पनीहरुलाई प्रचलित कानुन बमोजिम गर्नु गराउनु भनि दिएको निर्देशन पछि सेबोनले एउटा अध्ययन समिति बनाएर कसरी प्रिमियममा आईपीओ मागेका कम्पनीहरुलाई स्वीकृति दिन सकिन्छ भनेर अध्ययन गर्न लगाएको थियो । समितिको अध्ययनले के देखायो भन्ने विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन् ।
चालु आवको पहिलो ६ महिना बितिसक्दासम्म सेबोनले १७ वटा कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । सेबोनले आईपीओ निष्काशन अनुमति दिएका सबै कम्पनीहरु १ सय रुपैयाँमा आईपीओ मागेका कम्पनीहरु हुन् । चालु आव मात्र होइन, गत वर्ष सेबोनले १५ वटा कम्पनीको आईपीओ निष्काशन अनुमति दिएकोमा त्यसमा पनि कुनै पनि प्रिमियमा निष्काशन गरेका कम्पनी परेका छैनन् ।
जबकि श्रेष्ठ भन्दा अगाडिका सेबोन अध्यक्ष रमेश हमालले २०८०/८१ मा ९ वटा कम्पनीलाई आईपीओ अनुमति दिएकोमा ४ वटा कम्पनीले प्रिमियममा निष्काशन गर्न अनुमति पाएको थिए । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले २३७.५८ रुपैयाँमा १ लाख २३ हजार २ सय कित्ता, हिमालयन रिइन्स्योरेन्सले २०६ रुपैयाँमा ३ करोड कित्ता, सर्वोत्तम सिमेन्टले ३६०.९० रुपैयाँमा ३६ लाख कित्ता शेयर निष्काशन गर्न पूर्व अध्यक्ष हमालले अनुमति दिएका थिए । त्यस्ते आव २०७९/८० मा ४२ वटा कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएकोमा ७ वटा कम्पनीले प्रिमियममा शेयर निष्काशन गर्न अनुमति पाएका छन् । त्यसमा बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र सिमेन्ट कम्पनी सामेल थिए ।
हरेक स–साना गतिविधिहरुलाई अध्ययन समिति बनाएर अध्ययन गराउने बानी भएका अध्यक्ष श्रेष्ठको असहयोगको बाबजुद पनि सेबोनमा प्रिमियममा आईपीओ निष्काशन गर्न आवेदन दिने कम्पनीको संख्या भने विस्तारै बढ्दै गएको छ ।
हालै मात्र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले ३५८.८५ रुपैयाँ प्रति कित्ताको दरले २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएकाे छ । कम्पनीले बुक बिल्डिङ विधि अनुसार आईपीओ निष्काशन गर्न इच्छा देखाएको थियो । दुई वटा बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेका कम्पनीहरुको दुर्दशा देखेपछि धेरे कम्पनीहरु प्रिमियममा आईपीओ निष्काशन गर्ने निर्णयमा पुगेका छन्। त्यस्तै प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गरेका कम्पनीहरुले समेत अहिले अंकित मूल्यमा धमाधम आईपीओ आवेदन गरिरहेका छन् ।
केही समय अघि मात्रै हुलास आइरन इन्डष्ट्रिले २५५ रुपैयाँको प्रिमियममा ९७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको छ भने करिब ६ महिना अघि हुलास इन्फ्राले ३३३.५६ रुपैयाँको प्रिमियममा मूल्यमा ३५ लाख ४७ हजार १८८ कित्ता शेयर निष्काशन गर्न आवेदन दिएकाे छ। यसअघि करिब दुई वर्ष अगाडि देखि प्रिमियममा आईपीओ निष्काशन गर्न आवेदन दिएका कम्पनीको विषयमा सेबोनले कुनै प्रक्रिया अगाडि बढाएको छैन ।
प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति मागेका कम्पनीहरु
|
कम्पनी
|
प्रतिकित्ता मूल्य (रूपैयाँ)
|
शेयर कित्ता
|
|
सेन्चुरी इनर्जी लिमिटेड
|
२७५.११
|
३,००,००० कित्ता
|
|
नुम्बुर हिमालयन हाइड्रोपावर लिमिटेड
|
२७५.११
|
३०,०६,२०२ कित्ता
|
|
शिवम होल्डिङ्स लिमिटेड
|
२१०
|
१,१६,००,००० कित्ता
|
|
जगदम्बा स्टिल्स लिमिटेड
|
३००
|
२,००,७०,००० कित्ता
|
|
शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड
|
२६४.५१
|
१,५९,८१,५०० कित्ता
|
|
मारुती सिमेन्ट लिमिटेड
|
३७७
|
१,१६,००,००० कित्ता
|
|
रिद्धिसिद्धि सिमेन्ट लिमिटेड
|
२१४.१०
|
१,२१,७१,५०० कित्ता
|
|
हुलास इन्फ्रा लिमिटेड
|
३३३.५६
|
३५,४७,१८८ कित्ता
|
|
हुलास आइरन इन्डष्ट्रिज लिमिटेड
|
२५५
|
९७,५०,००० कित्ता
|
|
छायाँदेवी कम्प्लेक्स लिमिटेड
|
४००
|
१४,३७,५०० कित्ता
|
|
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड
|
३५८.८५
|
२०,७५,००० कित्ता
|