हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोलेको र श्वासप्रश्वासमा असहज महशुस गरेका छन् । वातावरण विभागकाअनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ । लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावाको माध्यमबाट उपत्यकामा भित्रिएका कारण प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन् ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रूपमा गुणस्तरीय मास्कको प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन् । तत्काल ठूलो वर्षा हुने वा तिब्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको यो अवस्था कायमै रहन सक्ने अनुमान गरिएको छ । सम्बन्धित निकायले अनावश्यक रूपमा सवारी साधन नचलाउन र फोहोर नजलाउन सर्वसाधारणलाई अपिल गरेको छ ।