पटक पटक 'हल्ट' हुँदै आएको शेयर बजार आज के होला ?

Mar 10, 2026 06:15 AM MeroLagani



जेनजी आन्दोलनपछि भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमतको सरकार बन्ने भएपछि शेयर बजार हल्ट भएर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६२.९३ अंक (६%) बढेपछि सोमबार दिनभरको लागि कारोबार नै रोकिएको हो ।

प्रजातन्त्रको पुनर्स्थापनापछि इतिहासमै पहिलोपटक झन्डै दुई तिहाई बहुमतको सरकार बन्ने निश्चित भएपछि लगानीकर्ताहरु उत्सासित हुँदा शेयर बजारमा बहार देखिएको हो । यसअघि २०४६ सालको परिवर्तनपछि बनेको सरकारमा नेपाली कांग्रेसको सामान्य बहुमति मात्रै थियो भने त्यो सरकार पनि पार्टीको आन्तरिक कहलको कारण पाँच वर्ष चल्न सकेको थिएन । संविधान सभाको चुनावमार्फत बनेको वर्तमान संविधान जारी भएपछि त झन कुनै पनि पार्टीको बहुमतको सरकार बन्छ भन्ने आँकलन समेत नगर्दा झन्डै दुई तिहाईको सरकार बन्दै गर्दा ६ प्रतिशतले शेयर बजार बढेको हो ।

नेप्सेको सर्किट ब्रेकिङ प्रणाली अनुसार कारोबार समयको पहिलो घण्टामा ४ प्रतिशतभन्दा बढी नेप्से परिसूचक बढेमा वा घटेमा २० मिनेटको लागि कारोबार रोक्का हुने गर्दछ भने कारोबार समयको दोस्रो घण्टासम्म ५ प्रतिशतले बढेमा वा घटेमा थप ४० मिनेटको लागि कारोबार बन्द हुने र कारोबार समयभरिमा ६ प्रतिशतमा बजार बढेमा वा घटेमा त्यो कारोबार दिनभरिको लागि कारोबार नै बन्द हुने गर्दछ । सोही अनुसार सोमबार नेप्सेमा पहिलो सर्किट ब्रेक ११ बजेर १ मिनेटमै ४ प्रतिशत, ११ बजेर २१ मिनेटमा ५ प्रतिशत र १२ बजेर १ मिनेटमा ६ प्रतिशत बढेर बजार बन्द भएको हो । काेभिड अगाडी भने पहिलाे काराेबार घण्टामा ३ प्रतिशत, दाेस्राे काराेबार घण्टामा ४ प्रतिशत र काराेबार दिनभरीमा ५ प्रतिशत बढेमा त्याे दिनभरीकाे लागि काराेबार नै बन्द हुने नियम थियाे ।

सकारात्मक सर्किटकाे  थ्याक्कै विपरित भदौ २३ र २४ गते जेनजी आन्दोलनले मुलुक नै ठप्प हुँदा त्यसपछि लगत्तै गत असोज २ गते खुलेको बजार आजको ठिक विपरित ६ प्रतिशतले घटेर बन्द भएको थियो । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायतका सरकारी भौतिक संरचनासँगै शीर्षस्थ नेताका घरहरु र निजी व्यवसायीको घर तथा व्यवसायमा समेत क्षति पुग्दा शेयर बजारमा समेत चरम निराशा छाएको थियो र बजार हल्ट हुने गरी घटेको थियो । त्यस दिन बजार १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा पुगेको थियो ।

नेपालमा महाभुकम्पपछि नेपालको शेयर बजारमा २१ पटक ठूलो अंकले घटेको वा बढेको अवस्था रहेको छ । जेनजी आन्दोलन भन्दा अगाडि २०८१ साउन २२ गते पनि नेप्से परिस्रूचक ५.१४ प्रतिशतले घट्दा १४५.०५ अंकको गिरावट आई २६५१.३२ अंकमा पुगेको थियो । तत्कालीन समयमा १८ सयदेखि २२ सयको बीचमा साइडवेज चलिरहेको बजारमा अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि बजार एकाएक लगानीकर्तामा आत्मविश्वास बढेर गई छोटो समयमै बजार २८ सयको विन्दुमा पुगेको थियो । छोटो समयमा बजार बढेपछि २८ सयको मनोवैज्ञानिक विन्दु तोड्ने वित्तिकै ठूलो अंकको गिरावट आएको थियो ।

गत २०८० फागुन २१ गते पनि राजनीतिमा पुराना गठबन्धन भत्किएर एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धनको सरकार बनेपछि पनि शेयर बजारमा उछाल आएको थियो । त्यसबेला पनि बजार ६ प्रतिशतले बढेर २ हजार ७८ को विन्दुमा पुगेको थियो ।

त्यसभन्दा अघि २०८० मंसिर २४ गते राष्ट्र बैंकमा आएका नयाँ गभर्नर विश्व पौडेलले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत शेयर धितो कर्जामा १२ करोडको सीमा हटाएर २० करोड पुर्याउनुका साथै संस्थागत लगानीकर्तालाई सो सीमा नलगाउने नीति ल्याउँदा पनि त्यसले शेयर बजारमा तरंग आएको थियो । त्यसबेला पनि नेप्से परिसूचक ६ प्रतिशतले बढेर १९६३.९८ विन्दुमा पुगेको थियो ।
त्यस्तै असार १२, २०७९ को शेयर बजारमा पनि ९४.९२ अंक (५.१० प्रतिशत) ले बढेको थियो । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधारका लागि समिति गठन गरेको तथा तत्कालीन अर्थमन्त्रीले बजार सुधारको लागि निर्देशन दिनु प्रमुख कारण थियो।

यसरी १२ वर्षमा कहिले राजनीतिक कारण त कहिले धितोपत्र बोर्डको निर्देशन तथा कहिले नेपाल राष्ट्र बैकले मार्जिन लेन्डिङ र अन्य कुनै नीतिगत परिवर्तन गर्दा बजारमा एकदमै सकारात्मक र नकारात्मक प्रभाव पर्ने गरेको छ जसको कारण बजारमा कि त सकारात्मक वा नकारात्मक सर्किट लागेर बजार प्रभावित हुने गरेको छ । यसबाहेक टेबलमा २०७२ पछि ५ प्रतिशत भन्दा धेरै नेप्सेमा भएको परिवर्तनको सूची राखिएको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।