इरानविरुद्धको सैन्य आक्रमण चाँडै सकिने ट्रम्पको भनाइ

Mar 10, 2026 11:13 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार अमेरिका र इजरायलले इरानमाथि गरिरहेको सैन्य आक्रमण चाँडै समाप्त हुने बताएका छन्। फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा यो हप्ताभित्र आक्रमण सकिन्छ त भनी सोधिएको प्रश्नमा ट्रम्पले नसकिने जवाफ दिए ।

ट्रम्पले विरोधाभासपूर्ण जस्तो सुनिने सन्देश प्रस्तुत गर्दै अमेरिकी लक्ष्यहरू धेरै हदसम्म पूरा भइसकेको घोषणा गरे । अर्कोतर्फ अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युद्ध भर्खरै शुरु भएको छ भनी दिएको पूर्व चेतावनीको पनि समर्थन गरे ।

ट्रम्पका अनुसार गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण शुरु गरेयता अमेरिकी सेनाले ५ हजारभन्दा बढी लक्ष्यहरूमा प्रहार गरिसकेको छ । इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनीलाई चयन गरिएकोमा आफू निराश भएको ट्रम्पले बताए । तर युवा खामेनीलाई घातक आक्रमणको निशाना बनाइन्छ कि बनाइँदैन भन्ने प्रश्नको जवाफ दिन भने उनले अस्वीकार गरे । ट्रम्पले ह्वाइट हाउसले मूल्य घटाउन तेलसँग सम्बन्धित केही प्रतिवन्धहरू फुकुवा गर्ने पनि बताए । तर कुन–कुन प्रतिवन्धहरू हटाइनेछ भन्ने खुलाएनन् ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण शुरु गरेका थिए । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीका साथै वरिष्ठ सैन्य कमाण्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका इजरायली र अमेरिकी आधार शिविरहरूलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूको शृङ्खला शुरु गरेको थियो ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सोमवार सामाजिक सञ्जालमार्फत अमेरिकाका लागि इरानले धेरै आश्चर्यजनक कुराहरू सँगालेर राखेको बताए । साथै उनले कुनैपनि अमेरिकी षड्यन्त्र विरुद्ध इरान पूर्ण तयारी अवस्थामा रहेको कुरामा पनि जोड दिए ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।