महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ। यस पटक हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ बिना प्रतिस्पर्धा अध्यक्षको कुर्सीमा उक्लने छन्। तर, बाँकी पदहरू—विशेषगरी आगामी कार्यकालका लागि अध्यक्षको लाइनमा रहने 'वरिष्ठ उपाध्यक्ष' पदका लागि भने महासंघभित्र दुई धार स्पष्ट रूपमा देखिएका छन्। वरिष्ठ उपाध्यक्षका लागि हालका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल र व्यवसायी रामचन्द्र संघई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्। महासंघको आगामी नेतृत्व कसले हत्याउला भन्ने चासो व्यापक बन्दै गइरहेको छ।

महासंघका वर्तमान उपाध्यक्ष हेमराज ढकालले आफ्नो प्यानलको औपचारिक घोषणा गरिसकेका छन्। उनको प्यानलबाट एशोसिएट उपाध्यक्षमा जोत्स्ना श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, जिल्ला–नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा महिला उपाध्यक्षमा कमला श्रेष्ठ चुनावी मैदानमा छन्। ढकाल आफ्नो मुख्य एजेन्डा कर प्रणालीको सुधार र उत्पादनमुखी उद्योगको प्रवर्द्धन भएको बताउँछन्। उनले कृषि, सूचना प्रविधि, पर्यटन, जलविद्युत् तथा उत्पादनमूलक उद्योगका लागि बैंकको ब्याजदर कम गराउने र रोकिएको निर्यात अनुदान पुनः सुचारु गराउने कुरालाई पहिलो प्राथमिकतामा राखेका छन्। प्यानलमा विभाजित भए पनि अहिले पनि सर्वसम्मतिको प्रयास भइरहेको छ। आफूले महासंघको नेटवर्क बुझेको, सबै क्षेत्रका व्यवसायीका समस्याहरूसँग जानकार रहेको र समस्या समाधानका लागि निरन्तर खटेकाले आफ्नो जित सुनिश्चित रहेको ढकालको दाबी छ।
अर्कातर्फ, त्रिवेणी समूहका निर्देशक रामचन्द्र संघईले यस पटक पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन्। अघिल्लो निर्वाचनमा पनि सोही पदमा प्रतिस्पर्धा गरेका संघईले यस पटक भने जित्ने दाबी गरिरहेका छन्। यद्यपि, संघई समूहले अहिलेसम्म औपचारिक रूपमा प्यानलको घोषणा भने गरिसकेको छैन। तर, उनको समूहबाट एशोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे, जिल्ला–नगर उपाध्यक्षमा कृष्ण शर्मा र वस्तुगततर्फको उपाध्यक्षमा शिवप्रसाद घिमिरेले उम्मेदवारी दिने पक्कापक्की जस्तै छ।
संघई आफ्नो मुख्य प्राथमिकता रोजगारी सिर्जना र साना तथा ठुला उद्योगका समस्या समाधानमा रहेको बताउँछन्। उनले रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउँदै सरकारका सुशासन र भ्रष्टाचार न्यूनीकरणका कदममा निजी क्षेत्रको सधैँ साथ रहने प्रतिबद्धता समेत जनाउँदै आइरहेका छन्। महासंघमा उद्योगी व्यवसायीहरूकै वर्चस्व हुनुपर्ने उनको मान्यता छ। आफ्नो प्यानलमा रोजगारी बढाउने व्यवसायीहरू रहेको र महासंघका सबै क्षेत्रमा राम्रो प्रभाव रहेकाले यस पटकको निर्वाचनमा आफूले बाजी मार्नेमा संघई विश्वस्त देखिन्छन्।
चैत २८ र २९ गते हुने निर्वाचनले महासंघको आगामी नेतृत्वको तस्बिर स्पष्ट पार्नेछ। ढकालको नीतिगत सुधारको एजेन्डा र संघईको रोजगारी सिर्जनाको नाराबिच महासंघका मतदाताले कसलाई रोज्छन्, त्यो भने हेर्न बाँकी नै छ।