अहिलेको सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचार मुक्त गर्छ भन्ने आशा छ । विगत लामो समयदेखि सुस्त भएको अर्थतन्त्र चलायमान हुनेमा निजी क्षेत्रले विश्वास गरेका छन् । निर्वाचनबाट राम्रो परिणाम ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव पूर्व गरेको वाचा अनुसार बजारको विकास हुने बुझाई छ । सो अनुसार शेयर बजारको लागि काम भएमा अबको शेयर बजारले राम्रो उचाई बनाउने लगानीकर्ता नयन बास्तोलाले बताए । तीनै बास्तोलासँग सुधा देवकोटाले गरेको कुराकानीः
जनताले एउटा राजनीतिक पार्टीलाई शत्तिशाली बनाएर प्रतिनीधि सभामा पठाएको छ । शेयर बजारमा यसले कस्तो प्रभाव पार्छ ?
नेपाली जनतालाई धेरै धेरै बधाई तथा आभार ब्यक्त गर्दछु । जनताको सुझबुझले एउटा राजनीतिदलले झण्डै झण्डै दुई तीहाईको मत दिएर प्रतिनिधि सभामा पठाएका छ । यसले राजनीतिक रुपमा हुने अस्थिरताको अन्त्य हुने भएको छ । यो समग्र रुपमा सकारात्मक हो । देशले मजबुत स्थायी सरकार पाउँदैछ ।
स्थिर सरकारले अर्थतन्त्रलाई गतिशिल बनाउनेका लागि सक्षम छ । अर्थतन्त्रको प्रमुख स्रोतको रुपमा रहेको शेयर बजारले पनि राम्रो गति लिने छ र बजारमा लगानीको वातावरण बन्ने अपेक्षाका साथ लगानीकर्ताहरु उत्साहित भएको पाइन्छ । शेयर बजारको सम्बन्धमा स्थायी नीति बन्ने छन् । शेयर बजारको विकास हुने छ । नेप्सेमा हुने गरेको बुल एण्ड वियरिसको चक्र अनुसार पनि अब बुल सुरु हुने समय भएको छ ।
यो सुस्ताएको अर्थतन्त्र सुधार गर्न समय लाग्न सक्छ । देशको अर्थतन्त्रलाई धेरै तिरबाट क्षति पुर्याइएको छ । त्यो क्षतिको पूर्ति गर्न समय लाग्ने छ । शक्तिशाली सरकारले लिने स्थिर नीतिले अर्थतन्त्रमा ठूलो क्रान्ति ल्याउने छ । शेयर बजारका लगानीकर्ताहरुको यस क्षेत्रमा भविष्य सुन्दर छ ।
यो सुस्ताएको अर्थतन्त्रमा क्रान्ति ल्याउन सरकारले के कस्ता कामहरु गर्नु पर्छ ?
जनाताको मतबाट झण्डै दुई तिहाई ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एउटा बाचा गरेको छ । ‘‘अब लाइनमा होइन अनलाइनमा” भन्ने नारा लिएको छ । यसले धेरै कुराहरुको प्रतिनिधित्व गरेको हुन्छ । हरेक कुरामा लाइनमा बस्नु पर्ने बाध्यता छ । यसले धेरै कुरा असर गरेको छ । आम जनताको समय खर्च, सेवामा ढिला सुस्ति, गलत काम हुने गरेको थियो । सबै कामहरु अनलाइन मार्फत हुने व्यवस्था भएमा सेवा सुविधा छिटो हुने छ । आम नागरिकले आफ्नो समय उत्पादनशील कामको लागि खर्च गर्न सक्ने वातावरण बन्दछ । यसले अर्थतन्त्रमा क्रान्ति नै आउने छ ।
विगतमा कुनै कानुन बनाउँदै गर्दा सो कानुनले पहिले आफूलाई नै असर पार्छ भनेर कानुनको निर्माण भएको थिएन । अबको सरकारले समय सान्दर्भिकता र आवश्यकतालाई मूल्यांकन गरेर कानुनको निर्माण हुन्छ । अब भएका कानुनहरु संशोधन गर्नुपर्ने भएको छ ।

जनाताको भोटमा जोस्सिएर आएको यो सरकारलाई काम गर्न कर्मचारीबाट सहयोग होला ?
विगतमा पुराना राजनीतिक व्यक्तिहरुमा विषयमा जानकार नभएका व्यक्तिहरु आउने गरेका थिए । कर्मचारीहरुले गर्न पनि सक्ने अवस्था थियो । तर अबको अवस्था त्यस्तो रहेन । कर्मचारीले सरकारलाई सहयोग पुर्याउने छन् । नभए त्यसको विकल्प जनताले जानेका छन् ।
मुलुकको यो अवस्था हुनुमा राजनीतिसँगै कर्मचारीले बिगारेको हो भन्ने सबै जानकार छन् । उनीहरु पनि अब सुधार हुँदै इमान्दार भएर सरकारलाई सहयोग गर्नु पर्ने हुन्छ । त्यसैले २०४६ साल पछाडि लाभको पदमा बस्नेहरु सबैको सम्पत्ति शुद्धिकरण गर्नुपर्छ । यस्तो भएमा सबै आफै सुधार हुन्छ । नराम्रा र खराब नियत राख्नेहरु आफै छानिदै जानेछन् । यो सरकारको पहिलो कदम नै यसैबाट सुरु हुनुपर्छ । जेनजी आन्दोलनको माग सुशासन र भ्रष्टाचार मुक्त देशको हो । आन्दोलनको माग पुरा गर्न अबको सरकारले यो कदम चाल्नु ढिला गर्नु हुँदैन ।
शेयर बजारका लगानीकर्ताहरुको वर्षाैंदेखिको मागलाई प्राथमिकता दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीले शेयर बजार सुधारको वाचा लिएको छ । के यो कार्यान्वयन होला ?
निर्वाचन पूर्व गरिएका मागहरु कार्यान्वयन हुनुपर्छ । अहिलेसम्म नियामक निकायमा राजनीतिक दलमा आस्था राख्नेहरुको नेतृत्व रहदै आएको छ । यसलाई अन्य राजनीति दल मार्फत भएको राजनीतिक नियुक्तिले आम जनताको काम रोकेर राखेको छ । स्वार्थको कामलाई मात्रै जोड दिएको भन्ने आरोपहरु आउने गरेको छ । यसमा सुधार हुनुपर्छ ।
रास्वपाको बलियो सरकार बन्ने भएको छ । बाचामा गरिएका सम्पूण कुराहरु शेयर बजारका लागि आवश्यक विषय वस्तु समावेश गरिएको छ । त्यसलाई कार्यान्वयन गर्नुपर्छ । लगानीकर्ताहरुलाई सहज लगानीको वातावरण बनाउन र प्रविधियुक्त बजारको विकास गर्नु पर्छ । होइन भने लगानीकर्ताहरुले सरकारलाई खबरदारी गरिनै रहने छ ।
हाम्रो बजारमा डिमाण्ड बढाउनु पर्ने कुराहरु धेरै सुन्ने गरिएको छ । रास्वपाको वाचामा संस्थागत लगानीकर्ता लगानी बढाउने आशयका कुराहरु गरेको छ । हाम्रो बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्न के गर्नु पर्छ ?
नेपाली शेयर बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गर्न सबैभन्दा पहिले नीतिगत स्थायित्व आवश्यक छ । हाम्रो बजारमा संस्थागत लगानीकर्ताले सहज रुपमा कारोबार गर्न सकिरहेका छैनन । चौतर्फिरुपमा नीतिगत बाधा खडा गरिएको छ । त्यसलाई सहज नीतिगत व्यवस्था गरेर लगानीको वातावरण आवश्यक छ ।
सरकार तथा नियामक निकायहरू जस्तै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले स्पष्ट तथा दीर्घकालीन नीति ल्याउनुपर्छ । कर संरचना सरल बनाउने, दीर्घकालीन लगानीमा कर छुट दिने तथा म्युचुअल फन्ड, बीमा कम्पनी र सरकारी विभिन्न कोषहरुलाई शेयर बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । यससँगै बजारमा पारदर्शिता, सुशासन र सूचनाको व्यवस्था बलियो बनाउँदा संस्थागत लगानीकर्ताको विश्वास बढ्छ ।
यसका साथै बजारको गहिराइ र विविधीकरण बढाउनु पनि आवश्यक छ । ठूला तथा उत्पादनमूलक कम्पनीहरूलाई शेयर जारी गर्न प्रोत्साहन गर्ने, डेरिभेटिभ जस्ता नयाँ वित्तीय उपकरण विकास गर्ने तथा बजार पूर्वाधारलाई आधुनिक बनाउने कदमले संस्थागत लगानीकर्तालाई आकर्षित गर्न सक्छ । साथै विदेशी संस्थागत लगानीकर्तालाई निश्चित मापदण्डसहित प्रवेश दिनु, लगानी प्रक्रिया सहज बनाउनु तथा जोखिम व्यवस्थापनका स्पष्ट नियमहरू बनाउनु पर्छ । यस्ता सुधारहरूले बजारलाई स्थिर, विश्वसनीय र दीर्घकालीन लगानीका लागि आकर्षक बनाउँछन् ।
बाँकी भिडियोमाः