मध्यपूर्वी क्षेत्रको युद्धले नेपालमा रासायनिक मलको अभाव हुन सक्ने, के भन्छ सरकार ?

Mar 15, 2026 12:46 PM merolagani



मध्यपूर्वी क्षेत्रका देशमा जारी युद्धको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । कृषि प्रधान मुलुकका रुपमा परिचित किसानले रासायनिक मल समयमै नपाउने गरेको गुनासो यसअघि सुनिदै आएको थियो ।

तर, यसपाली पनि आम किसानले रासायनिक मलको अभाव झेल्नुपर्ने जोखिम रहेको कृषि क्षेत्रका कर्मचारी बताउँछन् । मध्यपूर्वी देशमा जारी युद्धका कारण खाडीबाट आउने रासायनिक मल भारत हुँदै नेपाल आयात हुने गरेको छ ।

तर, अमेरिका, इरान र इजरायलको युद्धका कारण रासायनिक मलका जहाज, कन्टेनरहरु समेत रोकिएको छ । मध्यपूर्वी क्षेत्रमा जारी युद्धले मल खरिदमा समेत अप्ठ्यारो पर्ने देखिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

तत्कालका लागि मलको अभाव नहुने बताउँदै कम्पनीका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले मध्यपूर्वी क्षेत्रको युद्धले रासायनिक मल खरिद प्रक्रिया र मूल्यमा ठूलो असर पार्ने बताए ।

जेठ असारपछि वर्षासँगै आम किसानले धानखेती लगाउँछन् । चैत बैशाखमा भने किसानले गहुँ, मकै खेती गर्छन् । अधिकांश किसानले गहुँ र मधेसका किसानले चैतेधान लगाउने गर्छन् । त्यसका लागि किसानलाई डीएपी र युरिया मलको आवश्यकता पर्दछ ।

पोखरेलका अनुसार, चैतेधानका लागि मलको अभाव नभए पनि मध्यपूर्वी क्षेत्रको युद्ध लम्बिएको खण्डमा मल आपूर्तिमा समस्या आउन सक्नेछ ।