पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव पूर्वतर्फ सर्दै, देशभर वर्षाको सम्भावना

Mar 15, 2026 01:27 PM merolagani



पश्चिमी न्युनचापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा हुने सम्भावना देखिएको छ । 

जल तथा मौसम विज्ञान विभागकाअनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको छ । काठमाडौंमा अहिले हुरीबतासहित कालो बादल मडारिएको छ । केही ठाउँमा भने पानी परेको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको जनाउँदै वर्षा गराउने उक्त प्रणाली अहिले चितवनसम्म आइपुगेको बताए ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमबाट सुरू भएको वर्षा पूर्वतर्फ सर्दै गएको जनाएको छ । पछिल्लो एक घण्टामा गुल्मीमा १७ र तनहुँमा ११ मिलिमिटर वर्षा भएको जनाउँदै कायस्थले अहिले पनि वर्षा भइरहेको बताए ।