रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकबाट छनोट गरिएका ती नामहरू आइतबार नै निर्वाचन आयोगमा बुझाइनेछ। यद्यपि, पार्टीले उक्त सूची अहिले नै आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। आयोगले अन्तिम स्वीकृति दिएपछि मात्रै नामहरू सार्वजनिक गरिने प्रवक्ता झाले स्पष्ट पारेका छन्।

कुन क्लस्टरबाट कति ?

रास्वपाले समावेशी सिद्धान्तलाई आधार मान्दै विभिन्न क्लस्टरबाट सांसदहरू छानेको छ। जसअनुसार सबैभन्दा बढी खस आर्यबाट १७ जना परेका छन् भने जनजातिबाट १६ जना छानिएका छन्। त्यसैगरी, मधेसी क्लस्टरबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिमबाट ३ जनाको नाम छनोट गरिएको छ।

४८ जना महिला नै किन छानिए ?

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ४७.८४ प्रतिशत अर्थात् ५१ लाख ८३ हजार मत प्राप्त गरेको थियो। समानुपातिकतर्फका ५७ सिट जोड्दा रास्वपाको संसद्‌मा कुल सिट सङ्ख्या १८२ पुग्छ।

संवैधानिक व्यवस्थाअनुसार कुल सिट (१८२) को ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य हुनुपर्छ। तर, प्रत्यक्षतर्फबाट १३ जना मात्र महिला निर्वाचित भएका कारण अपुग सङ्ख्या पुर्‍याउन रास्वपाले समानुपातिक सूचीबाट ठुलो सङ्ख्यामा अर्थात् ४८ जना महिला छान्नुपरेको हो।

क्लस्टरअनुसार सूचीमा अगाडि रहेका सम्भावित अनुहारहरू:

  • आदिवासी जनजाति: बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजा, सुजाता तामाङ, कृपा महर्जन, राम लामा, खुस्बु सरकार श्रेष्ठ र मिङ्मा शेर्पा।

  • खस आर्य: प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नकुमारी थापा, ज्ञानु पौडेल, रमेश प्रसाईँ र सुदिप ढकाल।

  • दलित: रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेन्चुरी, सुस्मा स्वर्णकार, तारा विश्वकर्मा, प्रकाशचन्द्र परियार र प्रकाश विक।

  • थारु: गीता थारु, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।

  • मधेसी/मुस्लिम: पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामनी कुमारी, पुनम साह, सुनिता कुमारी चौधरी, पुरुषोत्तम सुप्रभात यादव, समिना मिया र अफसाना बानु।