शेयर बजारमा हिस्सा बढाउँदै नेपालको पर्यटन क्षेत्र, सात कम्पनी सूचीकृत हुँदा अझै १६ कम्पनी आईपीओ पाइपलाइनमा

Mar 18, 2026 11:14 AM mero lagani



शेयर बजारमा विस्तारै पर्यटन समूहका कम्पनीले हिस्सा बढाउँदै लगेका छन् । विगतमा हाेटल समूह अन्तर्गत तीन वटा मात्रै कम्पनी सूचीकृत भएकाेमा केबुलकार र हवाइ क्षेत्रका कम्पनी पनि समावेश गरिएपछि समूहकाे दायरा बढ्नुका साथै शेयर बजारमा हिस्सा समेत बढ्न गएकाे हाे।

विगतमा कैयौ वर्षसम्म शेयर बजारमा तीन वटा मात्रै कम्पनीको उपस्थिति थियो । उपत्यकामा रहेको पाँच तारे स्तरको सोल्टी होटल, अन्तर्राष्ट्रिय चेन होटल र्याडिसन सञ्चालन गर्दै आएको ओरियन्टल होटल्स लि. र अर्को अन्तर्राष्ट्रिय चेन होटल हायात रिजेन्सीको व्यवस्थापनमा सञ्चालित तारागाउँ रिजेन्सी गरी तीन वटा कम्पनीको मात्रै शेयर बजारमा उपस्थिति थियो ।

विस्तारै आईएमई समूहको लगानीमा स्थापना भएको केबुलकारसहित होटलको पूर्वाधार समेत गरेर खुलेको चन्द्रागिरी हिल्स लिमिटेड पनि सञ्चालनमा आयाे । शेयर बजारमा पर्यटन क्षेत्रको चौथो कम्पनीको रुपमा आएको चन्द्रागिरीको लकिङ पिरियड समेत खुलिसकेको छ र यसवर्ष पहिलो पटक यो कम्पनीले ५ प्रतिशत बराबरको लाभांश समेत दिएको छ। चन्द्रागिरी कोभिड लगत्तै पुँजी बजारमा आएको कम्पनी हो ।

त्यस्तै २०८० सालमा कालिञ्चोक दर्शन लिमिटेडको नाममा अर्को केबुलकार कम्पनी शेयर बजारमा आयाे । कम्पनीले निकट भविष्यमा होटल समेत सञ्चालन गर्ने योजना बनाएको छ । यस कम्पनीको पनि तीन वर्षे लकिङ अवधि खुलिसकेको छ । त्यसै वर्ष हायात सेन्ट्रिक नामक अन्तर्राष्ट्रिय चेन ब्रान्डमा सिटी होटल लिमिटेड नामको अर्को कम्पनी शेयर बजारमा आयो । सिटी होटलको पनि लकिङ पिरियड खुल्दैछ ।

चालु आवमा मात्रै पनि बन्दिपुर केबुल कार एन्ड टुरिज्म लिमिटेड र होटल फरेष्ट इन लिमिटेड गरी दुई कम्पनी शेयर बजारमा आए । होटल फरेष्ट इनको गत हप्तादेखि मात्रै दोस्रो बजारमा शेयर कारोबार हुन थालेको हो ।

नेप्सेले होटलसँगै पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीहरुलाई एउटै समूहमा राखेर कारोबार गराएपछि पछिल्लो समय केबुलकार, हवाई उड्डयनसँगै होटल पनि समावेश गरिँदा यो समूहको कारोबार फराकिलो बन्दै गएको हो ।

पर्यटन क्षेत्रसँग सम्बन्धित नेप्सेमा सूचीकृत ८ वटा कम्पनीसँगै अझै १६ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको पाइपलाइनमा छन् । सेबोनमा हालै मात्र श्री एयरलाइन्स लिमिटेडले २ सय रुपैयाँ प्रिमियम मूल्यमा ६३ लाख कित्ता शेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएको हो । हवाई क्षेत्रकै कैलाश हेलिकोप्टर र प्रभु हेलिकोप्टरलाई भने सेबोनले अन्य समूह अन्तर्गत आईपीओ पाइपलाइनमा राखेको छ । सम्भवत श्री एयरलाइन्सलाई पर्यटन तथा होटल समूहमा राखेपछि आगामी दिनमा पर्यटक उद्धार तथा चार पाँच दिनको ट्रेक गरेर मात्रै पुग्न सकिने एबीसी, इबीसीलगायतका हिमाली क्षेत्रमा पुर्याउन प्रयोग हुने हेलिकोप्टर कम्पनीहरु पनि यही समूहमा समावेश हुनेछन ।

कैलाश हेलिकोप्टरले ३२७ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति माग्दा प्रभु हेलिकोप्टरले भने अंकित मूल्यमै आईपीओ निष्काशन गर्न लागेको हो । यसैगरी हवाई क्षेत्रकै अर्को एयरलाइन्स कम्पनी यति एयरलाइन्स पनि आईपीओ निष्काशन गर्ने गृहकार्यमा व्यस्त रहेको छ । कम्पनीले प्राइभेट प्लेसमेन्टमार्फत प्रति कित्ता १ सय ५० रुपैयाँमा संस्थापक शेयर बिक्री गरिरहेको छ । यतिले शेयर निष्काशक तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटललाई दिएको छ । यति एयरलाइन्सको ४६.८२ प्रतिशत शेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेपछि कम्पनी आईपीओमा जाने तयारीमा गएको हो ।

अहिले सेबाेनमा आईपीओको लागि पाँचतारे होटल अकामाले ४२ लाख ८५ हजार कित्ता शेयरको निष्कासन गर्दै छ । कम्पनीले शुरुमा ५० रुपैयाँ अंकित मूल्यमा शेयर निष्काशन गर्ने तयारी स्वरुप सेबोनमा आवेदन दिएको थियो तर सेबोनले १ सय रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्काशन गर्न सुझाएपछि होटलले अंकित मूल्य परिवर्तन गरी १ सय रुपैयाँ पुर्याएको हो ।

त्यस्तै वर्णवास म्युजियम होटलले ३९ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्दै छ । यो होटलमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको समेत संस्थापक लगानी छ । एनआरएनले होटलको १० लाख कित्ता शेयर १ सय २५ रुपैयाँ प्रति कित्ताको दरले खरिद गरेका छन् । कम्पनीमा एनआरएनको ९.०९ प्रतिशत हिस्सा छ । जेनजी आन्दोलनको दौरान वर्णवास होटलमा पनि ठूलो क्षति भएको छ। 

त्यस्तै पर्साको पाँचतारे होटल इच्छाले पनि ३५ लाख कित्ता शेयर निष्कासन गर्दै छ । यो होटलले ३५ करोड रुपैयाँ मूल्यको शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति मागेको छ ।

त्यस्तै एपेक्स हस्पिटालिटीले २२ लाख ५० हजार कित्ता, अन्नपूर्ण केवलकारले ४३ लाख ४० हजार कित्ता, ठमेल प्लाजा होटलले २२ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।

माउन्टेन ग्लोरी लिमिटेडले ४० लाख कित्ता, मौलाकालिका केवलकारले १८ लाख ७९ हजार कित्ता, नगरकोट रिसोर्टले १५ लाख कित्ता, होटल सबरिनाले ४७ लाख ४ हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।

होलिडे इन एक्सप्रेसले ३८ लाख कित्ता, अतिथि रिसोर्ट एण्ड स्पाले १६ लाख २५ हजार कित्ता, होटल पार्क ल्याण्डले १५ लाख कित्ता शेयरको आईपीओ जारी गर्ने अनुमति मागेको छ ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।