आगामी बर्खायाम (असार र साउन महिना) मा दिन र रातको समयमा खपत भइ बढी हुने करिब ५०० मेगावाट बिजुली बिक्रीका लागि प्राधिकरणले अग्रिम तयारी थालेको हो ।
बर्खायाममा बढी हुने ५०० मेगावाट बिजुली भारतीय बजारमा बिक्री गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार, प्राधिकरणले अन्तराष्ट्रिय बोलपत्रमार्फत ५०० मेगावाट बिजुली बिक्री गर्नका लागि अन्तराष्ट्रिय कम्पनीलाई आह्वान गरेको हो । ५०० मेगावाट बिक्री गर्नका लागि टेन्डर गरिसकिएको र त्यसको म्याद आगामी चैत मसान्तसम्म बाँकी रहेको शाक्यले बताए ।

टेन्डर आह्वानपछि मात्रै प्राधिकरणले पीपीए खुलाउने पक्षमा रहेको उनी बताउँछन् । ‘तत्काल हामीले बर्खायाममा बढी हुने ५०० मेगावाट बिजुली भारतमा बिक्री गर्ने बाटो खुलाएका छौं । अन्तराष्ट्रिय बोलपत्रमार्फत आगामी चैत मसान्तसम्म आवेदन पेश गर्न भनेका छौं । म्याद अझै बाँकी छ । त्यसपछि मात्र भारतमा बिजुली बेच्न पीपीए गर्न बाटो खुल्नेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले भने ।
बर्खायामका बेला नेपालका नदीनालामा पानीको बहाव बढ्ने र जलविद्युत् आयोजनाहरु पूर्णक्षमतामा सञ्चालन हुन्छन् । त्यसबेला स्वदेशी बिजुलीको माग पूरा भएर बचत भएको बिजुली भारतीय बजारमा बिक्री गर्ने लक्ष्यअनुरुप अग्रिम रुपमा टेन्डर गरिएको प्राधिकरणले जनाएको छ ।
नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित(आरओआर) प्रकृतिका छन् । जसले हिउँदयामका बेला नदीनाला सुक्ने हुँदा जलविद्युत् आयोजनाबाट कुल विद्युत् उत्पादनको एकतिहाइ मात्र उत्पादन हुने गर्छ । त्यतिबेला भने नेपालले आफ्नो माग पूर्ति गर्न भारतबाट बिजुली किन्ने गरेको छ ।
प्राधिकरणले गरेको टेन्डरअनुसार आगामी बर्खायाममा राती र दिनमा हुने बढी भएको बिजुली भारतमा बिक्री हुनेछ । पछिल्ला वर्षहरुमा नेपालले वर्खायाममा ४ देखि ७०० मेगावाटसम्म बिजुली निर्यात गर्दै आएको छ । तर, नेपालबाट औसत भारतीय बजारमा ११०० मेगावाट बिजुली निर्यात भइसकेको छ ।
नेपालमा हाल कुल जडित क्षमता ४ हजार मेगावाटभन्दा माथि पुगेको छ । तर, हिउँदयाम सुरु भएसँगै विस्तारै स्वदेशमै विद्युतकाे माग बढ्न थालेको छ । प्राधिकरणका अनुसार, हाल देशभरको कुल विद्युत् माग २ हजार ५०० मेगावाट (पीक आवर) मा पुगेको छ । तर, विद्युत् उत्पादनको अवस्था घट्दो छ ।
४ हजार मेगावाटभन्दा बढीको जडित क्षमता भए पनि हाल स्वदेशका जलविद्युत् आयोजनाबाट ३ हजार मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । नदीनाला सुक्न थालेपछि विद्युत् उत्पादन समेत घट्न थालेको प्राधिकरणले जनाएको छ ।