त्यसैले सुनलगायतका महँगा हिरामोतीसहितका धातु कम प्रयोग गर्न वाध्य हुने मध्यम वर्गको लागि चाँदी ‘पहुँच भित्रको धातु’ रहँदै आएको छ । तर, पछिल्लो एक वर्ष यता चाँदीको त्यो परिचय नै बदलिएको छ र यो अब ‘मध्यम वर्गको धातु’काे सिमाबाट बाहिर निस्केर सबै वर्गका मानिसहरुको सबैभन्दा प्रिय धातु बनिरहेको छ ।
त्यसको परिणाम चाँदी अहिले निम्न मध्यम र मध्यम वर्गका मानिसहरु मात्र होइन, विश्वभरकै धनाढ्यहरु पनि चाँदीप्रति आकर्षित भइरहेका छन् । फलस्वरुप चाँदी यतिबेला केवल गहनाहरुमा मात्र होइन, लगानीको सबैभन्दा भरपर्दाे विकल्प जस्तो देखिएको छ । युरोपदेखि अमेरिका, अफ्रिकादेखि एशियाका लगभग हरेक देशहरुको गहना बजार, बस्तु विनिमय बजार र समग्र लगानीको क्षेत्रमै चाँदी प्रतिको उच्च आकर्षण देखिएको छ । व्यवसायीहरुले मात्र होइन, धेरै देशहरुले अहिले चाँदीको कारोवार र भण्डारणलाई महत्व दिइरहेका छन् । त्यहीकारण अहिले चाँदी विश्वव्यापीरुपमै लगानीको सबैभन्दा धेरै ‘ग्ल्यामर्स सेक्टर’ बनिरहेको छ । त्यही ‘ग्ल्यामर’ कै कारण चाँदीको माग र मूल्य पनि कसरी ‘रकेट रफ्तार’मा बढिरहेको छ भन्ने कुरा नेपाली बजारमा एक वर्षको मूल्यलाई हेर्ने हो भन्ने छर्लंङ हुन्छ ।

एक वर्ष अघि अर्थात् २०८१ चैत्र ४ गते नेपालमा चाँदीको बजार मूल्य प्रति तोला १९ सय रुपैंया थियो । एक वर्ष पछि अहिले करिब ५१५० (प्रति १० ग्राम ४४१५.५०) पुगेको छ । तर, एक वर्षको अवधिमा चाँदीको मूल्य २.७१ गुना बढेको छ । र, यो वृद्धि कहाँ पुगेर कहिले रोकिन्छ ? त्यसबारेमा अनुमानसमेत कसैले गर्न सकेको छैन । किनकी सुनलगायतका अरु धातुको जस्तै चाँदीको मूल्य निर्धारण नेपाली बजारले गर्दैन, अन्तराष्ट्रिय बजारले गर्छ । अन्तराष्ट्रिय बजारमा मूल्य नियन्त्रण हुने कुनै सम्भावना देखिएको छैन । बरु विज्ञहरु यो वर्ष अर्थात् सन् २०२६ भित्रै चाँदीको मूल्यले अहिलेसम्मका सबै रेकर्डहरु तोड्दै उच्च विन्दुमा पुग्ने भविश्यवाणी गरिरहेका छन् । तर, उनीहरुले भन्ने गरेको ‘उच्च विन्दु’ भनेको कति हो ? यो प्रश्नको जवाफ भने उनीहरुसंग पनि देखिएको छैन । अर्थात् विश्लेषक र सरोकारवालाहरुले भन्ने गरेको ‘उच्च विन्दु’ चाँदीको बजारमा ‘आशाको प्रक्षेपण’ मात्र हो, जुन नेपाली बजारको हकमा पनि लागू हुन्छ ।
चाँदीको मूल्य यसरी किन बढिरहेको छ ?
माथि चर्चा गरिए जस्तै नेपालमा (र, विश्वभर नै) चाँदीको माग पछिल्ला वर्षहरूमा तीव्र रूपमा बढिरहेको छ। यसको मुख्य कारणहरू निम्न छन्ः
सस्तो र पहुँचयोग्य धातु
सुनको मूल्य अत्यधिक बढेपछि धेरै लगानीकर्ताहरू लगानीको विकल्पका रूपमा चाँदीतर्फ आकर्षित भएका छन् । सुनको तुलनामा सस्तो भएकाले मध्यम वर्गीय उपभोक्ताहरूले चाँदीलाई प्राथमिकता दिन थालेका छन् ।
सांस्कृतिक र परम्परागत प्रयोग
नेपालमा पूजा, गहना तथा भाँडाकुँडामा चाँदीको प्रयोग परम्परागत रूपमा हुँदै आएको छ। पहिले पहिले सुन प्रयोग गर्नेहरु पनि अचेल चाँदी प्रयोग गर्ने क्रम बढिरहेको छ ।
औद्योगिक माग
विश्वभर सोलार प्यानल, इलेक्ट्रोनिक्स र चिकित्सा उपकरणमा चाँदीको प्रयोग बढ्दा यसको माग झन् बढेको छ। यसका अतिरिक्त, भविष्यमा मूल्य अझ बढ्ने अपेक्षाले पनि लगानीकर्ताहरू चाँदी संकलन गर्न उत्साहित भएका छन् ।
समग्रमा नेपालमा चाँदीको बजार निकट भविष्यमा पनि चुनौतीपूर्ण रहन सक्ने देखिन्छ । यदि अन्तर्राष्ट्रिय आपूर्ति सहज भएन भने मूल्य अझ बढ्न सक्छ। अर्कोतर्फ, सरकारले आयात नीति सहज बनाउने र बजार व्यवस्थापन सुधार्ने हो भने आपूर्ति सन्तुलनमा ल्याउन सकिन्छ।
चाँदी अहिले केवल गहनाको धातु मात्र नभई महत्त्वपूर्ण लगानी साधनका रूपमा स्थापित हुँदै गएको छ, जसले यसको बजारलाई अझ बढाउने निश्चित देखिएको छ।