चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM Merolagani



सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनले कोरेको नयाँ राजनीतिक बाटोले शेयर बजारमा केवल उत्साह मात्र ल्याएको छैन, बरु लामो समयदेखिको अन्योल चिर्दै एउटा नयाँ दिशाको समेत सङ्केत गरेको छ। निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हासिल गरेको झण्डै दुई-तिहाइ सिट (प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७) को नतिजाले बजारमा 'नीतिगत स्थिरता' को ठुलो आशा जगाएको छ।

शेयर बजार सधैँ 'पर्ख र हेर' को मनोविज्ञानबाट निर्देशित हुन्छ। निर्वाचन अगाडिसम्म लगानीकर्तामा रहेको संशय निर्वाचनको परिणामसँगै एकाएक उत्साहमा बदलिएको देखिन्छ। यसको प्रत्यक्ष प्रभाव फागुन २५ गतेको बजारमा देखियो। जब नेप्से ६ प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो र बजार नै हल्ट गर्नुपर्ने अवस्था आयो। यद्यपि, कुनै पनि बजार केवल भावनाको भरमा मात्र अनन्तसम्म उकालो लाग्न सक्दैन। सुरुवाती उछालपछि बजार केही दिन सुस्ताउनुलाई प्राविधिक भाषामा 'प्राइज करेक्सन' वा नाफा सुरक्षित गर्ने (प्रफिट बुकिङ) प्रक्रियाका रूपमा लिइन्छ। पछिल्लो दुई दिनदेखि पुनः देखिएको हरियालीले बजार अब 'फेक आउट' बाट मुक्त भएर 'जेन्युइन अपट्रेन्ड' मा प्रवेश गरेको पुष्टि गर्छ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७.०३ बिन्दुमा अडिएको छ। यो वृद्धि आफैमा महत्त्वपूर्ण छ। तर त्योभन्दा बढी अर्थपूर्ण पक्ष आजको कारोबार रकम (टर्न ओभर) ले बोकेको छ। एकै दिन २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री हुनुले बजारमा कति ठुलो मात्रामा पूँजी परिचालन भइरहेको छ भन्ने कुरालाई उजागर गर्छ। ५ करोड ६९ लाख कित्ता शेयरको कारोबार हुनुले बजारमा साना लगानीकर्ता मात्र नभई ठुला संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरू समेत आक्रामक खरिदमा उत्रिएको सङ्केत गर्छ। प्राविधिक विश्लेषणमा भनिन्छ, "भोल्युमले ट्रेन्डको पुष्टि गर्छ।" जब बजार बढ्दा भोल्युम पनि कीर्तिमानी स्तरमा पुग्छ। तब त्यो वृद्धिलाई दिगो मानिन्छ। 

प्राविधिक चार्टलाई सूक्ष्म रूपमा हेर्दा बजारले पछिल्लो केही समयदेखि एउटा निश्चित ढाँचा (प्याटर्न) पछ्याइरहेको देखिन्छ। अगस्ट महिनामा ३००० को नजिक पुगेर तल झरेको बजारले २४५० देखि २५०० को बिचमा एक बलियो टेवा (सपोर्ट) तयार पारेको थियो। अहिले बजारले सोही सपोर्टबाट फर्किएर अघिल्लो 'रेसिस्टेन्स' हरूलाई पालैपालो तोड्दै अघि बढेको छ। चार्टमा देखिएको लामो हरियो 'मारुबोजु' मैनबत्तीले बजारमा क्रेताहरू पूर्ण रूपमा हाबी भएको र बिक्रेताहरू पर्खाइको मुडमा रहेको देखाउँछ।

मुभिङ एभरेज र अन्य सूचकहरूले पनि बजार अब २९५० को तत्कालीन प्रतिरोध पार गर्ने तरखरमा रहेको देखाउँछ। यदि आगामी हप्ता बजारले २९५० को तहलाई सम्मानजनक भोल्युमसहित पार गरेमा, नेप्सेले आफ्नो ऐतिहासिक उच्च बिन्दु ३२०० लाई पुनः परीक्षण गर्ने निश्चित प्रायः देखिन्छ। अहिलेको वृद्धिलाई अघिल्लो पटकको वृद्धिभन्दा फरक के छ भने, यस पटक बजारमा 'ह्युज लिक्विडिटी' को साथ छ।

आगामी चैत १२ गते नयाँ सरकार गठन हुने सम्भावनाले बजारलाई थप ऊर्जा प्रदान गरेको छ। शेयर बजारमा एउटा पुरानो भनाइ छ- "हल्लाको भरमा किन, समाचार आएपछि बेच" (बाइ द र्युमर, सेल द न्युज)। अहिले बजारले नयाँ सरकारले ल्याउने सम्भावित सुधारका योजनाहरूलाई अहिले नै मूल्यमा समाहित (डिस्काउन्टिंग) गर्न थालेको छ। रास्वपाको नेतृत्वमा बन्ने सरकारले पूँजी बजारका नीतिगत गाँठाहरू फुकाउने, कर्जाको ब्याजदरमा थप कटौती गर्ने र राष्ट्र बैंकको मौद्रिक नीतिमा लचिलोपन ल्याउने अपेक्षामा लगानीकर्ताहरू ढुक्क देखिन्छन्। १२ गतेसम्म बजारमा यो 'प्रि-गभर्मेन्ट र्‍याली' जारी रहने सम्भावना ९० प्रतिशतभन्दा बढी छ। सरकार गठन भइसकेपछि भने बजारले केही समय 'कन्सोलिडेशन' को बाटो लिन सक्छ। जुन दीर्घकालीन यात्राका लागि स्वास्थ्यकर मानिन्छ।

यद्यपि, बजारको वास्तविक गहिराई मापन गर्ने वाणिज्य बैंकहरूको समूहमा भने अझै अपेक्षाकृत उछाल आइसकेको छैन। यदि बैंकिङ सेक्टरमा पनि यस्तै किसिमको भोल्युमसहितको वृद्धि देखियो भने नेप्सेको यात्रा ३५०० को नयाँ उचाइतर्फ सोझिनेछ। तर, यस्तो उत्साहका बिच लगानीकर्ताले केही जोखिमहरूलाई बिर्सन हुँदैन। बजारमा २१ अर्बको कारोबार हुनु सुखद त हो। तर यसले बजारमा 'हाइ भोलाटालिटी' (उच्च उतारचढाव) को जोखिम पनि निम्त्याउँछ। नयाँ सरकारले लिने पहिलो आर्थिक निर्णय वा अर्थमन्त्रीको रूपमा को आउँछ भन्ने कुराले बजारको आगामी दुई हप्ताको मुड तय गर्नेछ। यदि अर्थतन्त्र सुधारका ठोस कदम चालिएनन् भने अहिलेको 'सेंटीमेन्ट' फेरि 'प्यानिक' मा बदलिने खतरा पनि त्यति नै छ।

समग्रमा भन्नुपर्दा, नेप्से अहिले एउटा सुखद 'बुल रन' को सुरुवाती चरणमा छ। राजनीतिक स्पष्टता, तरलताको सहजता र लगानीकर्तामा फर्किएको आत्मबलले बजारलाई नयाँ उचाइतर्फ डोहोर्याइरहेको छ। चार्टका आधारमा अबको मुख्य प्रतिरोध ३००० को मनोवैज्ञानिक बिन्दु हो। यदि बजारले यो बिन्दु पार गरेमा नेप्सेमा एउटा नयाँ युगको सुरुवात हुनेछ।

यस घडीमा लगानीकर्ताहरू अन्योलमा परेर हात बाँधेर बस्नुभन्दा बजारको लयलाई पछ्याउनु (ट्रेन्ड फलो) बुद्धिमानी हुनेछ। तर, लगानी गर्दा केवल हल्लाको भरमा नलागी कम्पनीको वित्तीय विवरण, लाभांश क्षमता र प्राविधिक सूचकहरूलाई आधार मान्नुपर्छ। बजार घटेको बेला राम्रा कम्पनीहरू थप्दै जाने र बजार उच्च बिन्दुमा पुग्दा केही नाफा सुरक्षित गर्ने रणनीति नै अहिलेको बजारका लागि सबैभन्दा उपयुक्त देखिन्छ। चैत १२ सम्मको समय बजारका लागि 'हनिमुन पिरियड' जस्तै रहने देखिएको छ। जसलाई बुद्धिमानीपूर्वक उपयोग गर्नु नै आजको आवश्यकता हो।

(डिस्क्लेमर: यो विश्लेषण केवल जानकारीका लागि तयार पारिएको हो। शेयर बजार लगानी जोखिमपूर्ण हुने हुनाले लगानी गर्नु पूर्व स्वयं अध्ययन र वित्तीय परामर्श लिनुहोला।)




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।