इन्जिनियरिङको डिग्री र आर्थिक विकासमा स्नातकोत्तर सकेर सन् २०१४ मा उनी नेपाल फर्किए। तर, उनी अन्य धेरैजसो विदेशिएका युवा जस्तो अवसर छैन भन्दै पुनः फर्किएनन्। बरु, नेपालकै सम्भावनालाई इन्जिनियरिङ गर्नतिर लागे। आज तिनै सुशील खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीति र नीति निर्माणको नयाँ ‘फ्रान्चाइज’ खडा गर्ने दौडमा छन्।
उद्यमशीलताको त्यो पहिलो पदचाप
नेपाल फर्किएपछि सुशीलले सुरुमा हस्पिटालिटी क्षेत्रमा हात हाले। नेपालमा पहिलो पटक 'फ्रान्चाइजिङ मोडेल' भित्र्याएर उनले व्यवसायलाई संस्थागत गर्ने प्रयास गरे। तर, उनको यात्रा त्यतिमा मात्रै रोकिएन। उनको ध्यान वातावरणीय मुद्दातिर मोडियो।

उनले र उनकी श्रीमतीले मिलेर ‘अभ्नी भेन्चर्स’ सुरु गरे। जसको काम थियो, प्लास्टिक रिसाइक्लिङ। ‘हामीले वर्षमा ४ हजार टनभन्दा बढी प्लास्टिकजन्य फोहोर प्रोसेस गर्यौं,’ सुशील भन्छन्। उनको व्यावसायीक सफलताको एउटा चम्किलो कडी ‘माउन्टेन क्लिन–अप क्याम्पियन’ पनि हो। नेपाली सेनासँगको सहकार्यमा उनले ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमालबाट १२० टन फोहोर संकलन र व्यवस्थापनमा पायोनियर भूमिका निर्वाह गरे। हिमाल सफा गर्ने तिनै हातहरू अहिले देशको राजनीति र अर्थनीतिमा लागेको ‘फोहोर’ सफा गर्न तम्सिएका छन्।
राजनीतिः जहाँ ‘डेलिभरी’ खोजिँदैछ
‘म एकदमै पोलिटिकल मान्छे त होइन, तर राजनीति बुझ्छु,’ सुशील स्पष्ट भन्छन्। उनलाई लाग्छ, नेपालको ३०–३५ वर्षको राजनीतिले सबै कुरा दियो तर 'डेलिभरी' दिएन। थिति बसेन। त्यसैले उनी रास्वपाको अर्थनीति विभागमा आबद्ध भए। डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उनले सहकारी र लघुवित्तका समस्या पहिचान गर्नेदेखि देशको आर्थिक खाका कोर्नेसम्मका काममा सदस्य सचिवका रूपमा योगदान दिएका थिए ।
उनको बुझाइमा राजनीति भनेको केवल भाषण होइन, यो त एउटा ‘सिस्टम’ हो। ‘नीति भएर मात्र हुँदैन, थिति पनि चाहियो,’ उनी दोहोर्याउँछन्।
बागलुङको सपनाः आध्यात्मिक राजधानीदेखि खनिजको खानीसम्म
बागलुङ क्षेत्र नम्बर १ का करिब १५ हजार घरधुरीमा पुग्दा सुशीलले एउटा अचम्मको कुरा महसुस गरे। जनताले असाध्यै ठुलो कुरा मागेका छैनन्। उनीहरू चाहन्छन्- छोराछोरी विदेश जान नपरोस्, गाउँमै रोजगारी होस्, सिस्टममा देश चलोस्।
सुशीलसँग बागलुङका लागि एउटा स्पष्ट ‘ब्लुप्रिन्ट’ छ। उनी बागलुङलाई केवल एउटा जिल्लाका रूपमा मात्र हेर्दैनन्, यसलाई ‘ब्रान्ड’ बनाउन चाहन्छन् । ‘बागलुङलाई देशकै आध्यात्मिक ज्ञान र पर्यटनको राजधानी बनाउन सकिन्छ,’ उनी भन्छन्। राङखानी, पाण्डवखानी, सुनखानी जस्ता ठाउँहरूको नाममै ‘खानी’ हुनुले यहाँको खनिज सम्भावनालाई झल्काउने उनको तर्क छ।
त्यति मात्र होइन, कालीगण्डकी कोरिडोरलाई आर्थिक करिडोरमा बदल्ने र कोराला नाकादेखि सुनौलीसम्मको व्यापारिक मार्गलाई बागलुङको जीवनस्तरसँग जोड्ने उनको योजना छ। उनी भन्छन्, ‘कृषि नीति भनेको बीउ बाँड्नु मात्र होइन, यो त सिँचाइ, ऊर्जा, सडक र बजारको एकीकृत स्वरूप हो।’
बदलिँदो जलवायु र युवा पलायनको चिन्ता
जलवायु परिवर्तनको मुद्दामा सुशील निकै संवेदनशील देखिन्छन्। नेपालको योगदान कम भए पनि प्रभाव बढी भोग्नुपरेकोमा उनी चिन्तित छन्। यसलाई उनी ‘नेशनल सेक्युरिटी रिस्क’ मान्छन् र ‘ग्रीन इकोनोमी’ मार्फत यसको समाधान खोजिनुपर्ने तर्क गर्छन्।
अर्कोतिर, युवा पलायन रोक्नका लागि गाउँमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय बिजुली पुर्याउनु पर्ने उनको अठोट छ। ‘युवालाई रिस्क लिने वातावरण राज्यले बनाइदिनुपर्छ', सुशील भन्छन्।
समग्रमा, हिमालका अप्ठ्यारा टाकुराहरूबाट फोहोर संकलन गरेर ल्याउने हिम्मत राख्ने सुशील खड्का यतिबेला संसदीय राजनीतिमार्फत देशका नीति, कानुन निर्माण गर्ने र देशलाई सिस्टमा चलाउने तथा थिति बसाल्ने ठाउँमा पुगेका छन् ।
एउटा इन्जिनियरको दृष्टिकोण र अर्थशास्त्रीको विवेक बोकेका सुशीलको यो यात्रा सफल होला वा नहोला, त्यो त समयले भन्ला। तर, उनीजस्ता विज्ञ युवाहरू राजनीतिमा होमिनुले एउटा नयाँ आशाको दियो भने पक्कै बालेको छ।