सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले लघुवित्त संस्थाहरूले गरिबी निवारण, महिला सशक्तिकरण तथा वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको बताए । लघुवित्तमार्फत महिलाको सहभागिता उल्लेखनीय रूपमा बढेको र यसले समाजमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ छ । श्रेष्ठकाअनुसार पछिल्लो समय नेपालमा गरिबी दर घट्दै गएको छ । यसमा लघुवित्तको भुमिका ठूलो रहेको छ ।

उपाध्यक्ष श्रेष्ठले लघुवित्त वित्तीय संस्थाहरूले गरिबीको मात्रा बढी रहेका क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । अहिले भने जनघनत्व बढी भएको शहरी क्षेत्रमा लघुवित्तको पहुँच बढ्दै गएको र बहुबैंकिङको प्रवृत्ति देखिएको उनले उल्लेख गरे ।
हाल लघुवित्त क्षेत्रमा विभिन्न समस्या देखिएको बताउँदै उनले निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको र कर्जा असुली गर्न कठिनाइ भइरहेको उल्लेख गरे । धेरै लघुवित्त सदस्यहरू पनि आर्थिक समस्यामा परेको अवस्था रहेको उनले बताए । कोभिड १९ पछि समग्र अर्थतन्त्र अझै पूर्ण रूपमा सुधार हुन नसकेको र त्यसको असर लघुवित्त क्षेत्रमा पनि देखिएको उनको भनाइ छ ।
उपाध्यक्ष श्रेष्ठले पछिल्ला वर्षहरूमा बाह्य दबाबहरूले पनि नेपालको अर्थतन्त्रमा असर पारेको उल्लेख गरे । दुई–तीन वर्षअघि रसिया–युक्रेन युद्धले मूल्यवृद्धि बढाएको, वाह्य क्षेत्रमा असर गरेको र विदेशी मुद्रा सञ्चिति घटाएको उनले स्मरण गराए । हाल पश्चिम एशियामा जारी युद्धको प्रभाव पनि देखिन थालेको उनले बताए । यसका साथै आन्तरिक राजनीतिक उथलपुथलले पनि अर्थतन्त्रमा दबाब सिर्जना गरेको उनले उल्लेख गरे ।
उपाध्यक्ष श्रेष्ठले भने–‘लघुवित्तले गरिबी निवारण, महिला सशक्तिकरण र वित्तीय पहुँचमा एकदमै ठूलो योगदान दिइरहेको छ । यसको उदाहरण महिलाको उपस्थिति बढ्नु पनि हो । पछिल्लो समय गरिबी पनि घट्दै गएको छ । अहिले नयाँ मापदण्डअनुसार २० प्रतिशत र पूरा मापदण्डलाई लिने हो भने ४ प्रतिशतमा गरिबी आएको छ । यसो भन्दै गर्दा राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको एउटा तथ्यांकअनुसार लघुक्षेत्र गरिबीको तथ्यांकअनुसार कतिपय पालिकामा १–२ प्रतिशत गरिबी छ । नेपालकै कतिपय पालिकामा ७८ प्रतिशत गरिबी रहेको छ । ५०–६० प्रतिशत गरिबी हुने पालिकाहरु धेरै नै छन् । लघुवित्त वित्तीय संस्थाहरुले तिनै संस्थाहरुलाई प्रयोग गरेर कहाँ गरिबिको मात्रा बढी छ, त्यतातर्फ बढी फोकस गर्नुपर्छ । अहिले जनघनत्व धेरै भएको शहरी क्षेत्रमा लघुवित्तहरु जाने र बहुबैंकिङका कामहरु हुने गरेको छ । खासगरी कोभिड लागेपछि नेपालको अर्थतन्त्रमा पनि समस्या देखियो, सँगसँगै लघुवित्त संस्थामा पनि समस्या देखियो । त्यतिबेला गरिएको अध्ययनमा धेरै बहुबैंकिङ भएको, लघुवित्त संस्थाहरुमा सुशासनको कमी, लघुवित्त सदस्यदेखि कर्मचारीको कमीकमजोरी देखिएको थियो, लघुवित्त सदस्यले पनि वित्तीय अनुशासन पालना गर्नुपर्ने हुन्छ । लघुवित्तीय संस्थाहरुले पनि संस्थागत सुशासनको पालना गर्नुपर्ने हुन्छ । अहिले सुशासनको मुद्दा जोडतोडले उठेकाले संस्थागत सुशासन हुन जरुरी छ । अहिले लघुवित्तमा धेरै समस्या देखिएका छन् । एनपीएल कर्जा बढिरहेको छ । कर्जा उठाउन गाह्रो भइरहेको छ । धेरै लघुवित्तीय सदस्यहरु पनि समस्यामा छन् । कोभिडका कारणले असर गरेको समग्र अर्थतन्त्र पनि सुधार हुन पनि बाँकी छ । कोभिड पछि पनि विभिन्न समस्यामा परिरहेको अवस्था छ । विभिन्न समयमा वाह्य दबाबहरु पनि गरेका छन् । २-३ वर्ष अघि रसिया युक्रेन युद्धले अर्थतन्त्रमा दबाब दिएको थियो । मूल्यवृद्धि बढाएको थियो । वाह्य क्षेत्रमा असर गरेको थियो र मुलुकमा रिजर्भ घटेको थियो । अहिले पुन पश्चिम एशियामा युद्ध चलिरहेको छ, त्यो युद्धको प्रभाव देखापरिसकेको छ । त्यस्ता बाह्य प्रभावहरुलाई हामीले सामना गर्नुपर्नेछ । आन्तरिक प्रभाव पनि देखापरिरहेको छ । राजनीतिक उथलपुथल त्यसको एउटा उदाहरण हो । लघुवित्तले एकातिर उत्पादन, उत्पादकत्व बढाउन पर्छ भने उद्यमशीलता पनि बढाउनुपर्छ । त्यससँगै वित्तिय पहुँच पनि बढाउन जरुरी छ । अहिले किसानले उत्पादन गरेका वस्तुहरु बजार नपाएको एकदमै गुनासो आइरहेको छ ।’
उपाध्यक्ष श्रेष्ठकाअनुसार लघुवित्तले उत्पादन र उत्पादकत्व बढाउने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने दिशामा काम गर्न आवश्यक छ । वित्तीय पहुँच विस्तारसँगै किसानले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा पनि लघुवित्त संस्थाहरूले भुमिका खेल्नुपर्ने उनले बताए ।
किसानले उत्पादन गरेका वस्तुले उचित बजार नपाएको गुनासो बढिरहेको भन्दै उनले बजारीकरणका क्षेत्रमा लघुवित्त संस्थाहरू सक्रिय हुनुपर्ने धारणा राखे । साथै आन्तरिक उत्पादनको उपयोग बढाउनुपर्ने र सोच तथा मानसिकतामा पनि परिवर्तन आवश्यक रहेको उनले बताए । उत्पादन बढाएर लागत घटाउनसके बजारमा प्रतिष्पर्धा गर्न सकिने श्रेष्ठको भनाइ छ ।
सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले लघुवित्त संस्थादेखि सदस्यहरुसम्म समस्यामा परेका कारण एनपीएल बढिरहेको बताए। लघुवित्त संस्थाहरुले आवश्यक नभएका व्यक्तिलाई कर्जा दिदाँ पनि खराब कर्जाको अनुपात ह्वात्तै बढेको बताए ।
कार्यकारी निर्देशक पौडेलले भने– ‘केही व्यवसायीक हिसावले लघुवित्त समस्यामा छ । लघुवित्तका ग्राहकहरु समस्यामा छन् । त्यसकारण निष्क्रिय कर्जा बढेको छ । त्यो भन्दा अर्को कारणहरु हेर्दा लघुवित्तले आवश्यक नभएका व्यक्तिलाई कर्जा दिएका कारण निष्क्रिय कर्जा बढेको छ । यसलाई सच्चाउन आवश्यक छ । राष्ट्र बैंक सरकार लघुवित्त संस्थाको विकल्प सोच्ने अवस्थामा रहँदैन । सरकार राष्ट्र बैंकले विकल्प सोच्न पनि हुँदैन । यो क्षेत्र मुलुकका लागि अतिआवश्यक छ । यसले के देखाउछ भने आज जुन वर्ग २७–२८ लाखले लघुवित्तको कर्जा उपभोग गरिरहेका छन्, त्यसले पनि यसको महत्वलाई झल्काएको छ ।’
कार्यकारी निर्देशक पौडेलले वाणिज्य बैंकबाट माइक्रो फाइनान्सहरुले ठूलो मात्रमा ऋण लिएकाले ती संस्थाहरु बिग्रने छुट नभएको बताए ।