त्यसका बावजुद उनीहरु दुई बिच केही स्वभाव भने ठ्वाक्कै मिल्छ । जस्तो कि दुवै अति नै अन्तरमुखी स्वभावका छन् र आफूले गर्न लागेको कामको बारेमा अरुलाई त कुरै छोडौं, आफ्नै ‘किचन क्याविनेट’लाई पनि अति जरुरी परेको अवस्थामा बाहेक हत्तपत्ती बताउँदैनन् । दुवै जना भाषण अति कम गर्छन् र जति भाषण गर्छन, त्यो भन्दा धेरै निर्णय गर्छन् ।#
देउवाले सार्वजनिक मन्चहरु र संसदमा गरेका भाषणहरुको सृंखला र काठमाडाैं महानगरपालिकाको प्रमुख हुँदा नगरपरिषद्को वैठकमा बालेनको भाषण र प्रस्तुती मात्र होइन, भर्खरै सम्पन्न चुनावको दौरानमा उनले गरेका संवोधनहरुको विवरणलाई हेर्ने हो भने त्यो कुरा स्पष्ट हुन्छ । ‘शाही शैली’मा सभा र बैठकहरुमा उपस्थित हुने, छोटो सम्वोधन गर्ने (प्रायः आफ्नो निर्णय सुनाउने) उनीहरु दुवैका साझा विशेषता हुन् ।
त्यसबाहेक दुवैजना रसिक स्वभावका छन् । ‘किचन क्याविनेट’का मानिसहरु बीच खानु, पिउनु र रमाइलो गर्नु दुवैको साझा विशेषता हो ।
‘हुन लागेका प्रधानमन्त्री’ बालेनले चैत्र १३ गते रामनवमीको दिन सपथ लिने तयारी भैरहेको बताइएको छ । तर, ‘सामाजिक संजालको बजार’मा अहिले नै उनको सरकारले गर्ने कामहरुका बारेमा अनेक अड्कलहरु भइरहेका छन् । कतिपय त निर्णय नै भइसकेको भने जसो गरि प्रसार प्रसार भइरहेको छ । रास्वपाकै केही नेताहरुको टिप्पणीले पनि त्यस्ता भनाइलाई बल पुर्याएको छ ।
जबकी बालेन भने निर्वाचन परिणाम घोषणा भएदेखि नै लगभग मौन छन् । कतिसम्म भने उनी विजय उत्सव मनाउन उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालयमा पनि गएका छैनन्, पार्टीको केन्द्रिय समितिको बैठकमा पनि भाग लिएका छैनन् र पार्टीले सांसदहरुको लागि आयोजना गरेको तालिममा पनि सहभागि भएनन् । जसरी देउवाले पार्टी बैठकहरुभन्दा पनि पर गएर आफ्ना हितैषीहरुसँगको मन्त्रणापछि निर्णय गर्दथे (शायद अझै पनि गर्छन्), बालेन पार्टी सभापति नभए पनि त्यही शैली अपनाइरहेका छन् । पार्टीको बैठकलाई भन्दा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्यालसहितको छलफलमार्फत सरकार गठन लगायतका विषयमा छलफल गरिरहेका छन् ।

रास्वपा स्रोतकाअनुसार पार्टीमा छलफल नभएकोले सरकार गठनको प्रकृयामात्र होइन, प्रधानमन्त्रीकै सपथको बारेमा समेत पार्टीका ३-४ जना नेता बाहेक अरु अनविज्ञ छन् । उनीहरुलाई केही कुरा थाहा छैन्, अहिलेसम्म थाहा दिइएको छैन । तर, सामाजिक संजाल र केही संचारमाध्यमहरुमा भने एक पछि अर्काे गर्दै बालेन सरकार गठन भएर धमाधम निर्णय नै भए जसरी ‘स्कुप’ समाचार आइरहेका छन् । ‘हामीलाई नै थाहा नभएका कुरा समाचार आइरहेका छन्, त्यो आफैमा अनौठो हो ।’ बालेनको सचिवालय सम्वद्ध स्रोत भन्छ,धेरैले अनुमानको खेती गरिरहेका छन् । अनुमानको खेती कहिले काँही मिल्न पुग्छ तर धेरैजसो अवस्थामा त्यो मिल्दैन ।
स्रोतकाअनुसार पहिलेदेखि नै बालेन सिमित व्यक्तिहरुको घेरामा रहने व्यक्ति हुन् । प्रधानमन्त्रीको दावेदार भएपछि त उनी मानिसहरुसँगको भेटघाटमा उनी झन धेरै ‘चुजी’ भएका छन् । त्यहीकारण उनले आफूलाई भेटेर बधाई दिन चाहाने उद्योगी व्यवसायीहरुलाई समेत ‘अहिले भेट्न हतार नगरौं’ भन्दै अस्वीकार गरिरहेका छन् । ‘चुनावको दौरान एकजना व्यापारीबाट लिएको गाडी चढेको विषयले ठूलै विवाद सृजना गर्यो । सपथ नखाँदै फेरि त्यस्तै सृजना हुने डरले पनि उहाँले उद्योगी व्यवसायीलाई समेत प्रत्यक्षरुपमा भेटिरहनु भएको छैन,’ उक्त स्रोतले मेरो लगानीसँग भन्यो ।