प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेपछि गभर्नर ढुक्क, डेपुटी गभर्नर नियुक्त गर्ने तयारी

Apr 01, 2026 05:58 AM Merolagani



नयाँ सरकार गठनपछि राजनीतिक नियुक्ति लिएकाहरुलाई राजिनामा दिन दवाव दिइने चर्चाको विचमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलको अवस्था के होला भन्ने आशंका अन्ततः समाप्त भएको छ । 

त्योसंगै डेपुटी गभर्नर नियुक्ति प्रकृया पनि अगाडि बढाउने तयारी शुरु भएको छ ।

विगतमा ‘कांग्रेसी’ भएको आरोप खेपिरहेका पौडेललाई तत्कालिन केपी ओली सरकारले नियुक्त गरेको थियो । त्यहीकारण उनी नयाँ बनेको बालेन शाह नेतृत्वको सरकारको ‘हिट लिष्ट’मा पर्न सक्ने चर्चा चलिरहेको थियो । खासगरि कांग्रेस पृष्ठभूमिकै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको विगत देखिकै व्यक्तित्वको टकरावका कारण पनि गभर्नर पौडेललाई नयाँ सरकारले ‘रेड जोन’ मा राखेको चर्चा आर्थिक र राजनीतिक वृतमा चलिरहेको थियो ।

 

तर, दुई दिनको फरकमा पहिले अर्थमन्त्री र पछि प्रधानमन्त्रीसंगको अन्तरंग वार्तापछि गभर्नर पौडेलले सुरक्षित महसुस गरेका छन् । अर्थमन्त्री वाग्ले र प्रधानमन्त्री शाहले नै आफूहरुले राजनीतिक पूर्वाग्रहको आधारमा काम नगर्ने, विज्ञतालाई कदर गर्ने भन्दै निश्चिन्त भएर काम गर्न सुझाव दिएका थिए । साथै उनीहरु बीच बैंकिङ क्षेत्रका सुधारका विभिन्न पक्षहरुको विषयमा पनि छलफल भएको बताइएको छ ।

अर्थमन्त्री वाग्लेले आफू नयाँ बजेट निर्माणको लागि व्यस्त भएको भन्दै बजेट निर्माणमा सहयोग गर्नसमेत गभर्नरसँग अनुरोध गरेको बताइएको छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीसंगको भेटमा राष्ट्र वैंकमा रिक्त रहेका डेपुटी गभर्नरहरुको नियुक्तिको विषयमा पनि छलफल भएको बताइएको छ । ‘सम्भावित केही नाममा छलफल भएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले डेपुटी गभर्नर जस्तो पदलाई धेरै समय रिक्त राख्नु हुँदैन । छिटै नियुक्ति गर्नु पर्छ भन्नु भयो, तर यही व्यक्ति गरौं भनेर टुंगोमा भने पुगेको अवस्था छैन’ स्रोतले मेरो लगानीसँग भन्यो ।

उनकाअनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसंग भेटेपछि गभर्नर आफू नहटाइने विश्वासका साथ डेपुटी गभर्नर सिफारिस गर्ने तयारीमा हुनुहुन्छ । सम्भवतः एकसाता भित्र दुवै जना डेपुटी गभर्नर नियुक्त हुन्छन् ।

स्मरणरहोस् डेपुटी गभर्नरद्वय निलम तिमिल्सिना र बमवहादुर मिश्रले अवकाश पाएपछि फागुन २४ गते यता ती पदहरु रिक्त छन् ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।