शेयर बजार सुधारका लागि स्टक ब्रोकर एसोसिएसनले बुझायो अर्थमन्त्रीलाई ६ बुँदे सुझाव (सूचीसहित)

Apr 06, 2026 11:18 AM Merolagani



स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) ले शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझाव पत्र बुझाएको छ। 

सोमबार एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदमहरूका बारेमा जानकारी गराएका हुन्।

एसोसिएसनले हाल पूँजीबजारमा ५६ लाखभन्दा बढी लगानीकर्ता र ९२ वटा ब्रोकरहरू रहेको तथ्यांक प्रस्तुत गर्दै नयाँ सरकार र अर्थमन्त्रीबाट बजारले ठुलो आशा राखेको उल्लेख गरेको छ। ब्रोकरहरूले बुझाएको सुझाव पत्रमा पूँजीबजार सुधारका लागि यसअघिका विभिन्न कार्यदलले दिएका सुझावहरू अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।

एसोसिएसनले अघि सारेका मुख्य ६ बुँदे मागहरू:

१. सुधार कार्यदलको सुझाव कार्यान्वयन:  पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।

२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेश: बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था गर्नुपर्ने। साथै, हाल रहेको शेयर खरिद गरेपछि ६ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने।

३. गैर आवासीय नेपाली (NRN) लाई प्रवेश: गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने।

४. पूँजीगत लाभकर र संस्थागत लगानी: बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम कर (Final Tax) हुने गरी स्पष्ट पार्नुपर्ने। साथै, सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउनुपर्ने।

५. अक्सन मार्केटको सुरुवात: हाल शेयर हस्तान्तरण हुन नसक्दा सिधै 'क्लोज आउट'मा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्था छ। यसलाई अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन 'अक्सन मार्केट' यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने।

६. सेटलमेन्ट ग्यारेन्टी फण्ड: वि.सं. २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको 'सेटलमेन्ट ग्यारेन्टी फण्ड' (राफसाफ सुनिश्चितता कोष) लाई नियामक निकायमार्फत निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने ।

एसोसिएसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित उक्त पत्रमा यी समस्याहरू समाधान भएमा समग्र पूँजीबजारको समस्या हल हुने र लगानीकर्ताको मनोबल उच्च हुने विश्वास व्यक्त गरिएको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।