विसंगतिबाट यथार्थ तर्फ : परिपक्व बन्दै नेपालको पूँजी बजार

Apr 10, 2026 11:13 AM Merolagani



अजय ढुङ्गाना

सामान्यतया मलाई स्टक एक्सचेन्जको गतिप्रति टिप्पणी (कमेन्ट) गर्न मन लाग्दैन। जे हुन्छ, त्यो लगानीकर्ताको विवेकको परिणाम हो भनेर बुझ्दछु। लगानीकर्ताको निर्णयका आधारमा बजारको गति निर्धारण हुन्छ, मेरो आधारभूत मान्यता यही नै हो। 

यस विषयमा मेरो थप मान्यता के पनि हो भने, धितोपत्र बजारमा लगानीकर्ताले अबको भविष्य कस्तो हुन्छ भनेर लगानी गर्दछन् र बजार तिनै भविष्यप्रतिको संवेग हो। हुन पनि 'एसेट प्राइस'को सिद्धान्तले कुनै पनि सम्पत्तिले भविष्यमा आर्जन गर्न सक्ने पैसा कति हो र त्यसको आजको दिनमा डिस्काउन्टेड मूल्य कति हुन्छ। त्यो नै एसेटको मूल्य अर्थात् सम्पत्तिको सैद्धान्तिक मूल्य हो भन्दछ।

कहिलेकाहीँ कुनै विशेष समयमा केही विशेष परिस्थिति निर्माण हुन पुग्दछ। जतिखेर हामीलाई आफैँले देखिरहेको कुरामा विश्वास हुँदैन। आफ्नै चेतनामा प्रश्न गर्न मन लाग्छ। हाम्रा आफ्ना मान्यताहरू भत्किएका हुन्छन् र अनेकन प्रश्न गर्न मन लाग्छ। अहिलेको नेपालको धितोपत्र बजार र विशेष गरी स्टक एक्सचेन्जको सूचक नेप्सेले देखाएको प्रवृत्ति हेर्ने हो भने यस्तै-यस्तै प्रश्न गर्न मन लाग्ने भएको छ।

नेपालमा केही दिनअघि मात्रै नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सामान्यतया स्टक एक्सचेन्ज संवेदनशील (सेन्सेटिभ) हुने भएकाले यसले स-साना कुराको समेत प्रतिक्रिया (रियाक्सन) देखाउन सक्दछ भने राजनीतिक परिवर्तन र नयाँ सरकार गठनजस्ता विषयहरूमा यसको प्रतिक्रिया नहुने भन्ने कुरै रहेन। झण्डै दुई-तिहाइको स्थिर सरकार हुँदा राजनीति सरल ढङ्गमा अगाडि बढ्छ। नीतिगत अस्थिरताहरू कम हुँदै जान्छन् भन्ने जनताका स्वाभाविक अपेक्षा हुन्। यी स्वाभाविक अपेक्षाका बीच पूँजी बजारले पनि स्वाभाविक गति लिन्छ भन्ने अर्को स्वाभाविक अपेक्षा रहने नै भयो।

तर सरकार गठन भए यताकाे केही दिनकाे पूँजी बजारको गतिले लगानीकर्ताको मथिङ्गल हल्लाइदियाे। सुशासनको नारासहित नयाँ सरकार आएको छ। सरकारले सुशासनका लागि तीव्र वेगमा काम गरेको आभास दिने गरी बढ्दो रफ्तार पक्रिएको छ। पूँजी बजारमा भएका विसंगतिहरूलाई जरैदेखि उखालेर फाल्न खोजेको जस्तो देखिन्छ र पनि यी अनेक सुधारका बाबजुद पूँजी बजारको सूचक ओरालो लागेर अहिले केही थामिएकाे छ।  

हामीले अहिलेको वास्तविकतालाई आत्मसात् गर्न हाम्रो बजार कस्तो अवस्थाबाट अहिलेको रूपान्तरण (ट्रान्सफर्मेसन) लिन खोजेको हो, हेर्नुपर्दछ। हाम्रो बजारमा अधिक अड्कलबाजी (स्प्याकुलेसन) छ। स्प्याकुलेसन गलत होइन तर यसले 'बाइप्रोडक्ट'का रूपमा अनेकन् विसंगति (एनामली) हरूलाई जन्म दिन्छ। यस्ता विसंगतिहरू लामो समयसम्म बजारको हिस्सा बनेर बस्न जाँदा लगानीकर्ताले त्यस्ता विसंगतिलाई नै स्वीकार्छन्। वित्त शास्त्रमा यसरी स्वीकार्नुको अर्थ हुन्छ— त्यस्ता विसंगतिहरूका लागि पनि लगानीकर्ताहरूले पैसा (प्रिमियम) तिर्दछन्। लामो समयसम्म यस्ता अभ्यास हुँदै जाँदा यसरी विसंगति बापत प्रिमियम तिरिरहेको समेत लगानीकर्ताले पत्तो पाउँदैनन्।

जब बजारमा सुधारका कार्यक्रम चल्न थाल्छन्। सचेत लगानीकर्ताले सुरुमै बुझ्दछन् कि अब यस्ता विसंगतिहरूमाथि सुधार (रिफर्म) का एजेन्डाहरू प्रस्तुत हुन्छन् र यी बिस्तारै बजारबाट हराएर जान्छन्। तसर्थ,त्यस्ता विसंगतिका लागि लगानीकर्ताले तिरिरहेको प्रिमियम तिर्नु व्यर्थ छ। सचेत लगानीकर्ताको यो ज्ञान बिस्तारै छचल्किँदै (स्पिलओभर) आम लगानीकर्ता समक्ष पुग्छ। जब आम लगानीकर्ताले यो कुरा आत्मसात् गर्छन्। तब आमरूपमा लगानीकर्ताले धितोपत्र बजारमा विसंगतिलाई तिरिरहेको प्रिमियमलाई घटाउन (डिस्काउन्डिङ गर्न) थाल्दछन् र पूँजी बजारको सूचक तीव्र रूपमा घट्न थाल्छ।

सामान्यतया बजार सुधार पश्चात् बजारको गति सकारात्मक हुनेगर्छ। तर यो 'आइडियल' अवस्था हो। बजारमा रत्तिभर पनि विसंगति छैन भने मात्रै त्यस्तो अपेक्षा गर्नु जायज हुन्छ। त्यसैले के बुझौँ भने बजारमा अब विसंगति कम हुनेछन्। यस्ता विसंगतिको लागत पनि हुँदैन र प्रतिफल (रिटर्न) पनि हुने छैन। विसंगतिलाई तिरिरहेको प्रिमियमको समायोजन पश्चात् बजार त्यस्ता विकृतिबाट मुक्त हुने अवस्था कल्पना गर्न सकिन्छ। त्यति बेला लगानीकर्तामा अनावश्यक लगानीको बोझ हुँदैन र बजार परिपक्व हुँदै जान्छ।

ढुङ्गाना नेपाल धितोपत्र बोर्ड सहायक निर्देशक हुन्। 




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।