शेयर बजारमा सम्पत्ति कहाँबाट ल्यायौ भनेर सोध्दैनौ तर इन्साइडर ट्रेडिङ गर्न दिन्नौ : अर्थमन्त्री वाग्ले

Apr 06, 2026 01:29 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर बजारमा ‘सम्पत्ति कहाँबाट ल्यायौ?’ भनेर सोध्ने अवस्था नरहेको बताए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग आज बिहान भएको भेटमा अर्थमन्त्री वाग्लेले सरकारले कसैलाई धरपकड गर्ने नीति नलिएको बताए ।

उनले अगाडि भने – ‘यदि कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने मात्रै विद्यमान कानुन अनुसार मात्र कारबाही हुन्छ नत्र साधारण लगानीकर्ता प्यानिक हुनु आवश्यक छैन ।’

आगामी दिनमा शेयर बजारमा सुधारका कामहरु निरन्तर चलिरहने उनले बताए । बालेन शाहको नेतृत्वमा सरकार बनेको एक सातामै झन्डै ३ सय अंकले शेयर बजार घटेपछि सरकासँगै अर्थ मन्त्रालयको नेतृत्व गरेका अर्थमन्त्री डा. वाग्ले तनावमा थिए । आजै बिहान उनले ब्रोकर एसोसियसनका प्रतिनिधिहरुसँग पनि भेट गरेका थिए ।

गत हप्तादेखि घटिरहेको शेयर बजारतर्फ इंगित गर्दै उनले भने –‘शेयर बजारमा त्रास फैलाउने काम भएको छ, तर सरकारले कुनै धरपकड अभियान चलाएको होइन। साना लगानीकर्तालाई आतंकित पार्ने काम भएको देखिएको छ, जुन उचित होइन।’

सरकारले साना लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको बताउँदै उनले शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी रहेको बताए । ‘पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ। शेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिँदै प्रधानमन्त्रीले अन्य क्षेत्रमा पनि यस्तै पारदर्शी बनाउने खोजेको उनले बताए ।

आगामी दिनमा नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधारको काम अघि बढाउने बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्दै लैजाने हुँदा लगानीकर्ताले ढुक्क भएर लगानी गरे हुने बताउँदै उनले वाचापत्रको अध्ययनबाट पनि राष्ट्रिय स्वतन्त्त पार्टी कति उदार रहेको थाहा हुने बताए ।

‘अहिले बजार घटेको अवस्थामा अत्तालिनु आवश्यक छैन, सुनौला दिन आउँदैछन।’– यो सरकारले २६५ साता काम गर्न बाँकी रहेको बताउँदै एक साताको काम हेरेर नै धारणा बनाउन नहुने मन्त्री वाग्लेको स्पष्टिकरण थियो ।

नेपालको अर्थतन्त्र अगाडि बढाउन ग्रे लिस्टबाट निस्कनु प्रमुख रहेको बताउँदै लगानीको वातावरण बनाउन पनि सम्पत्ति शुद्धिकरणसम्बन्धी केसहरुलाई कडाईका साथ लागू गर्नु आवश्यक रहेको छ । उनले अगाडि भने– ‘ह्वाइट कल क्राइमलाई आर्थिक जरिवाना नै गर्ने ध्येय हो। संस्था वा व्यक्ति छानेर दुख दिने हाम्रो कुनै नियत छैन। हामी खुलाबजार अर्थनीति मान्छौ। त्यो भनेको छाडा अर्थतन्त्र होइन।’

मुलुकमा न्याय निरुपणको लागि अदालत रहेको बताउँदै कसैलाई लक्षित गरेर कारवाही गर्ने होइन, कानुन अनुसार अघि बढाउने मात्रै भएको उनले बताए ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।