चुनावमा को-को लड्दैछन् ? कस्ले जित्दैछ र कस्ले हार्दैछ ? त्यसको हिसाब किताबका बीच धेरैले ख्याल नगरेको एउटा घटना भने यो निर्वाचनमा हुँदैछ । त्यो हो—झण्डै ३ दशकपछि ‘चण्डिराज ढकाल फ्याक्टर’ सुसुप्त हुनु ।
२०५० को दशकमा मोमेण्टो एपरेल्स नामक कम्पनीमार्फत मार्फत व्यवसायिक जगतमा हात हालेका ढकाल २०५५/०५६ तिरबाट उद्योग वाणिज्य महासंघका हरेक निर्वाचनहरुमा जर्वजस्त ‘किङ मेकर’ मानिन्थे । र, पछिल्लो पटक चन्द्र ढकाल अध्यक्ष निर्वाचित हुनु पछाडिको मुख्य ‘फ्याक्टर’ पनि ढकाल मानिन्थे । विसं २०६१ सालमा एक पटक महासंघको निर्विरोध अध्यक्ष भएका ढकाल ३ वर्षपछिको निर्वाचनमा कुश जोशीसँग चुनाव हारे । चुनाव हारे पनि उनको दवदवा भने महासंघमा सधै कायम रह्यो ।
महासंघमा ढकालको उदय हुनु अगाडि नेपालका खासगरी दुईवटा व्यवसायिक घरानाहरुलाई महासंघको निर्वाचनको मुख्य खेलाडी मानिथ्यो, एउटा विनोद चौधरी नेतृत्वको चौधरी समुह र अर्काे पद्म ज्योति नेतृत्वको ज्योति समूह । महासंघको पदाधिकारीमा जस्ले जिते पनि जस्ले हारे पनि मुख्य हारजीत भने ती दुई व्यवसायिक घरानाबीचको हुन्थ्यो वा मानिन्थ्यो ।
तर, जब ढकालको उदय भयो, महासंघको पुरानो ‘पावर सेण्टर’ भत्कियो । ‘चण्डीको समर्थन विना महासंघमा चुनाव जित्न गाह्रो हुन्छ’ भन्ने भनाई नै स्थापित भयो । कतिसम्म भने पहिलो पटक सर्वसम्मत भएका उनी आफै दोस्रो पटक अध्यक्ष हुने प्रयास गर्दा कुश जोशीसँग हारे । तर, त्यही कार्यसमितिमा अधिकाँश उनी पक्षीय पदाधिकारीले जिते । अर्थात् आफू हार्दा पनि महासंघमा उनको दवदवा कायम रह्यो । आफू व्यवसायीकरुपमा समस्यामा रहँदा पनि समग्र व्यवसायीक हकहितको लागि जुझारु शैलीमा आवाज उठाउने उनको शैलीको कारण महासंघको अध्यक्ष त ‘चण्डी जस्तै चाहिन्छ’ भन्ने व्यवसायीहरु अहिले पनि निकै छन् । त्यहीकारण पनि उनको दवदवा कायम रहेको भन्नेमा शंका छैन ।

उनीपछि कुश जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे, पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल अध्यक्ष भए । ती सबैलाई नेतृत्वमा पुर्याउने अरु धेरै कारण होलान् तर मुख्य कारण ‘चण्डिराज ढकाल फ्याक्टर’ नै हो भन्नेमा सम्भवतः कोही कसैलाई शंका छैन । कतिसम्म भने प्रत्यक्ष निर्वाचनबाट जित्ने स्थिति नभएको भन्दै उनले भवानी राणालाई अध्यक्ष बनाउन महासंघको विधान नै संशोधन गराए । पशुपति मुरारकाको कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेकी राणालाई स्वतः अध्यक्ष बनाउनको लागि ढकालले जोडबलमा विधान संशोधन गरेर ‘वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुने र वरिष्ठ उपाध्यक्ष नै अर्काे कार्यकाल स्वतः अध्यक्ष हुने’ प्रावधान लागू गराए ।
राणालाई अध्यक्ष बनाउनको लागि ढकालले गरेको जोडबलको विषयमा अनेक कोणबाट प्रश्न उठे । तर, ढकालको विरुद्ध महासंघकै पदाधिकारीहरुले अनौपचारिकरुपमा त्यो कुराप्रति सहमति नजनाए पनि औपचारिकरुपमा भने ढकालको विरुद्ध बोल्दा महासंघ भित्रको राजनीति सकिने बुझेर मौन बसेको कुरा अहिले पनि चर्चा हुने गर्छ । त्यसरी आफ्नै जोडबलमा अध्यक्ष बनाइएकी राणासँग ढकालको पछि सम्वन्ध यसरी विग्रियो कि राणाले महासंघले उनलाई दिँदै आएको ‘विशिष्ठ सदस्य’को उपाधी नै खोसियो । राणाको कार्यकालको अन्तिम समयतिर महासंघमा ढकाललाई एक प्रकारले प्रवेश निषेध नै गरियो । तर, जति गर्दा पनि उनको प्रभाव भने रोकिएन ।
राणालाई स्वतः अध्यक्ष बनाउन गरिएको विधान संशोधनअनुसार नै अहिलेका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ चैत्र अन्तिममा हुने साधारण सभापछि स्वतः अध्यक्ष हुँदैछन् । महासंघमा अन्य पदाधिकारीको निर्वाचन हुँदा अध्यक्ष भने निर्विरोध हुँदैछन् ।
विगतमा आफ्नो पक्षका उम्मेदवारहरुलाई जिताउन खुलेरै मैदानमा आउने गरेका र जिताएरै छोड्ने गरेका ढकाल यसपटक भने अहिलेसम्म मैदानमा देखिएका छैनन् जबकी उनका सहोदर भाई हेमराज ढकाल अर्काे पटक नेतृत्वको दावी गर्ने तयारीसहित यसपटक पनि चुनावी मैदानमा छन् । महासंघका एक पदाधिकारीका अनुसार पूर्वअध्यक्ष ढकाल केही समयदेखि देशबाहिर छन् र महासंघको निर्वाचनमा मतदानको लागि आउने सम्भावना निकै कम छ । त्यसैले उनी प्रत्यक्षरुपमा देखिएका छैनन् । तर, महासंघको पदाधिकारीमा चुनाव लडेकाहरु अहिले पनि देशभरका व्यवसायीकहरुमा ‘चण्डिराज ढकाल फ्याक्टर’ को प्रभाव निकै रहेको र त्यसले निर्वाचनमा असर पार्ने दावी गर्छन् । ‘अहिले उहाँ नेपालमा हुनुहुन्न, त्यसैले सोझै मैदानमा देखिनु भएको छैन । तर उहाँको साथ समर्थन पाउनको लागि अहिले पनि पदाधिकारीका अधिकांश उम्मेदवारहरु प्रयासरत हुनुहुन्छ,’ ढकाल निकट एक व्यवसायीले मेरो लगानीसँग भने ।
महासंघको निर्वाचनमा उनी मैदानमा हुँदा देखिने रोमान्चकता नहुँदा उनको भौतिक अनुपस्थितिमा केही सुसुप्त जस्तो देखिए पनि प्रभाव भने अझै पनि कायम रहेको दावी गर्छन् । व्यवसायीहरु उनको अनुपस्थितिले महासंघको निर्वाचनमा पार्न सक्ने असर तथा नाफा घाटाको हिसाब गर्न थालेका छन् । जस्को परिणाम भने चैत्र ३०-३१ मा थाहा हुनेछ ।