संसदीय दलको नेताको आकांक्षी नेता केसीले आफूले संघीय संसदमा ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भुमिका निर्वाह गर्नुपरेकाले पार्टी संसदीय दलको नेता चयनको काममा ढिलाई हुन गएको समेत स्पष्ट पारे । सभामुखको जिम्मेवारीमा बसेका व्यक्तिले पार्टीको गतिविधिमा भाग लिन नपाउने भएकाले पनि काँग्रेस पदाधिकारी बैठकले दलको नेता चयनका लागि आवश्यक निर्णय ढिलाई गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।
नेता केसीले दलको नेतामा केही नेताहरुको दावी रहेको उल्लेख गर्दै आपसमा छलफल गरेर सहमतिमा चयन हुने जिकिर पनि गरे । उनले २–३ दिन भित्र काँग्रेस संसदीय दलको नेता चयन हुने समेत बताए ।
नेता केसीले भने,‘यो हप्ता भित्रै हामी हामी दलको नेता टुंगो लगाउँछाैं । अब प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको नाताले ससदमा सभामुखको दायित्व निर्वाह गर्नुपर्ने भएकाले जबसम्म सभामुखको दायित्व निर्वाह गरियो, तवसम्म पार्टीको कुनै कार्यक्रम र पार्टीगत रुपबाट सहभागी हुन नहुने भएको हुनाले हाम्रा पदाधिकारी साथीहरुले स्थगित गर्नुभएको हो । भोलि नै हाम्रो संसदीय दलको मिटिङ बस्दैछौ । २-३ दिन भित्रै हामी यसलाई टुंग्याउँछौँ । यो अत्यन्तै ठूलो जटिल विषय होइन । दलको नेतामा दावी हुनु स्वभाविक कुरा हो । सबैको दावीलाई आपसमा बसेर एकीकृत गरेर हामी जे निर्णय गर्छौ, त्यो सहमतीमा गर्छौ । अहिले को ब्याक हुने, को अगाडि बढ्ने भन्दा पनि सहमतिमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ ।’
नेता केसीले सभामुख गरिमामय पदभएकाले संसदको विशेषाधिकारको संरक्षण हुनेगरी भुमिका निर्वाह गर्नुपर्ने अनुभूति आफूले गरेको पनि प्रतिक्रिया दिए ।