कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, "सामाजिक सञ्जाल वा अन्य सञ्चार माध्यमहरूमा फैलिरहेका अप्रमाणित हल्ला वा भ्रामक सूचनामा विश्वास नगर्न सम्पूर्ण लगानीकर्ताहरूलाई हार्दिक अनुरोध गर्दछौँ। साथै, हालसम्म नियामक निकायहरूबाट कारोबार रद्द सम्बन्धी कुनै पनि आधिकारिक सूचना वा निर्देशन हाम्रो कम्पनीलाई प्राप्त नभएको जानकारी गराउन चाहन्छौँ।"
के थियो समाचार ?
यसअघि, नेपाल धितोपत्र बोर्ड (सेबोन) को सोमबार बसेको सञ्चालक समिति बैठकले भृकुटी स्टक ब्रोकिङलाई निलम्बन गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो। बोर्डका सञ्चालक आनन्दराज शर्माले विवादास्पद व्यवसायी दीपक भट्टलाई नियमविपरीत उधारोमा सेयर कारोबार गराएको र सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम बढाएको आरोपमा कम्पनीलाई निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको पुष्टि गरेका थिए। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका आधारमा बोर्डले यो कदम चालेको बताइएको थियो।
बोर्डको निर्णयको समाचार आए पनि आज (मंगलबार) बजार खुलेसँगै ५५ नम्बर ब्रोकरबाट शेयर कारोबार भइरहेको देखिएको छ। प्राविधिक रूपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकरको 'ट्रेडिङ आईडी' बन्द नगरेसम्म र कम्पनीले आधिकारिक पत्र नपाएसम्म कारोबार रोकिँदैन।
अहिलेको अवस्थामा बोर्डको निर्णय प्रक्रियामा रहेको र पत्र सम्बन्धित ठाउँमा नपुगिसकेकोले ब्रोकरले यसलाई 'भ्रामक हल्ला' भन्दै खण्डन गरेको बुझिएको छ। लगानीकर्ताहरू भने नियामकको निर्णय र ब्रोकरको दाबीबीचको यो विरोधाभासले अन्योलमा परेका छन्।
