नेपालबाट पहिलो ‘रोटरी इन्टरनेशनल निर्देशक’ बनेका गोल्याणलाई सम्मान

Apr 08, 2026 01:03 PM Merolagani



गोल्याण ग्रुपको उपाध्यक्षसमेत रहेका बासुदेव गोल्याण रोटरी इन्टरनेशनलको जोन ५ र ६ का लागि रोटरी इन्टरनेशनल निर्देशक बनेका छन् । सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित भएका उनी उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् ।

रोटरी इन्टरनेशनलको गत फेब्रुअरी १० मा सम्पन्न निर्वाचनमा गोल्याण अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित भएका हुन् । उनले कूल १ हजार ७५५ मतमध्ये ९८१ मत प्राप्त गरेका थिए । रोटरी इन्टरनेशनल जोन ६ अन्तर्गत १० वटा डिस्ट्रिक्सहरु छन्, जसमध्ये ९ वटा भारतमा छन् । रोटरी इन्टरनेशनल निर्देशकको प्रतिस्पर्धामा भारतबाट तीनजना उम्मेदवार भए पनि गोल्याणले विजयी हासिल गरेका हुन् ।

रोटरी इन्टरनेशल निर्देशक निर्वाचित भएको अवसरमा शनिबार रोटरी नेपालसँगको सहकार्यमा गोल्याण ग्रुपले उनको सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले गोल्याणलाई सम्मान गरेका थिए । कार्यक्रममा रोटरी इन्टरनेशनलका अध्यक्ष ओलायिन्का हाकीम बाबालोलाले भिडियो कलमार्फत गोल्याणलाई बधाई र शुभकामना दिएका थिए ।

कार्यक्रममा गोल्याण ग्रुपका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्याण, ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याण, पूर्व रोटरी इन्टरनेशनल अध्यक्ष (२०११–२०१२) कल्याण बनर्जी, पूर्व रोटरी इन्टरनेशल निर्देशक एवं रोटरी फाउन्डेशनका ट्रस्टी (२०२६–३०) एएस वेन्काटेस, पूर्व रोटरी इन्टरनेशल निर्देशक (२०२३–२०२५) अनिरुद्ध राय चौधरी, पूर्व रोटरी इन्टरनेशल निर्देशक एवं रोटरी फाउन्डेशनका ट्रस्टी (२००९–२०१३) अशोक महाजन, पूर्व रोटरी इन्टरनेशल निर्देशक एवं रोटरी फाउन्डेशन इन्डियाका अध्यक्ष डा. महेश कोटबागी,पूर्व रोटरी इन्टरनेशल निर्देशक (२०१९–२०२१) कमल संघवी, पूर्व रोटरी इन्टरनेशल निर्देशक एवं काउन्सिल अन लेजिस्लेसनका अध्यक्ष (२०२८) टी.एन. सुब्रमणियन, एसिस्टेन्ट रोटरी रिजनल फाउन्डेशन कोअर्डिनेटर मिथिलेश कुमार झा लगायतको उपस्थिति थियो । सो अवसरमा नेपाल र भारतका करिब २ सय पूर्वडिस्ट्रिक्ट गभरनर्सका साथै अन्य उद्योगी–व्यवसायी र रोटरियन सहभागी थिए । उनीहरु सबैले इन्टरनेशनल निर्देशक गोल्याणलाई सम्मानसहित बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सम्मान ग्रहण गर्दै रोटरी इन्टरनेशनल निर्देशक गोल्याणले अझ धेरै जिम्मेवारी र इमान्दारिताका साथ सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘आज संसारलाई पहिलेभन्दा बढी रोटरीको आवश्यकता छ, हामी केबल रोटरीका सदस्यमात्र होइन आशाका दूत बन्नेछौं,’ उनले भने, ‘यसको लागि म रोटरीको मूल्यमान्यतालाई आत्मसाथ गर्दै हाम्रो प्रभावलाई विस्तार गर्न र अझ बढी मानवताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले आफ्नो कार्यकालमा सदस्यता विकास र रोटरी फाउण्डेसनमा योगदान तथा सहभागिता वृद्धि गर्न ध्यान दिने जानकारी गराए । ‘तपाइँ पहुँच नभएकासम्म पुग्नुहोस्, सेवा नपाएकाहरुको सेवा गर्नुहोस् अनि प्रेरणाको स्रोत बन्नुहोस्,’ रोटरियनलाई उनले भने ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।