योसंगै उनीहरुलाई पक्राउ गरेर नेपाल ल्याउनको लागि इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको सुरक्षा निकाय स्रोतले जानकारी दिएको छ ।
अपराधमा संलग्न व्यक्ति अनुसन्धान एवं कारबाहीबाट उम्किन आफ्नो देशबाट भागेर विदेश पुगेको छ भने त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित देशका प्रहरीले इन्टरपोलको सहयोग माग्न सक्छ ।
त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका देउवा सपरिवार विदेशमा छन् ।
फागुन १३ मा देउवा सिंगापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन् । त्यसयता उनीहरु विदेशमै छन् ।
सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।
इन्टरपोल लगाएर देउवालाई पक्राउ गर्ने तयारी गर्नुलाई राजनीतिक विश्लेषकहरु बंगलादेशको राजनीतिको ‘पराकम्पन’को रुपमा लिएका छन् । किनकी नेपालमा भन्दा झण्डै डेढ वर्ष अगाडि जेनजी विद्रोह भएको बंगलादेशमा तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेद भारतमा शरण लिन पुगेकी थिइन (अझै पनि त्यही छन्) । भ्रष्टाचार र जेनजी आन्दोलन दमन गर्न भूमिका खेलेको भन्दै जेनजी विद्रोह पछि बनेको सरकारले उनलाई फिर्ता गर्न भारत सरकारसंग पटक पटक अनुरोध गरेको थियो । तर, भारतले नटेरेपछि उस्ले इण्टरपोल लगाएर पक्रने प्रयास गरेको थियो । त्यति गर्दा पनि भारतले वाजेदलाई मानवियताको आधारमा राजनीतिकरुपमा शरण दिएको भन्दै सुपर्दगी गर्न अस्वीकार गरेको थियो । त्यहीकारण पछिल्लो समय बंगलादेश र भारतबीचको कुटनीतिक सम्वन्ध नै चिसिएको छ ।
नेपालमा देउवा दम्पतीले अहिलेसम्म कुनै देशसँग शरण मागेको समाचार आएको छैन । उनीहरु उपचारको लागि सिंगापुर गएको र उतै उपचार भइरहेको बताइएको छ । यदि उनीहरुले कुनै देशसँग नेपालमा आफ्नो जीउज्यानको खतरा भएको भन्दै शरण मागेर कुनै देशले त्यस्तो शरण दिएमा यो घटना थप पेचिलो बन्न सकिने देखिएको छ । किनकी राजनीतिकरुपमा शरण लिएको व्यक्तिलाई सम्वन्धित देशले सुपर्दगीको अनुमति नदिएसम्म इण्टरपोलले समेत पक्राउ गर्न सक्दैन । यस्तो अवस्थामा अहिले शुरु भएको बंगलादेशको राजनीतिको पराकम्पन कति लामो होला र त्यसले नेपाली राजनीतिमा कस्तो असर पार्ला ? त्यो थाहा पाउन भने केही समय कुनै पर्छ ।