'युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छ'

Apr 09, 2026 12:11 PM Merolagani



व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बीच नेपालका लागि निर्यातको ठूलो अवसर सिर्जना भएको बताए । खाडी क्षेत्रमा जारी युद्ध र तनावले तेल आपूर्तिमा समस्या देखिए पनि पुनर्निर्माणका लागि आवश्यक निर्माणजन्य सामग्रीको माग ह्वात्तै बढेको उनको भनाइ छ ।

राजधानीमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा कार्यकारी निर्देशक राणाले मध्यपूर्वका देशहरूले पुनर्निर्माणका लागि नेपाली सिमेन्टको माग गरिरहेको बताए । सार्वजनिक मञ्चहरूमा व्यवसायीहरूले नेपाल सिमेन्टमा आत्मनिर्भर भएको र निर्यातका लागि पर्याप्त मौज्दात रहेको दाबी गरे पनि विदेशी माग आउँदा आपूर्ति गर्न नसकिएकोमा उनले आश्चर्य व्यक्त गरे ।

मध्यपूर्वका इरान र इजरायल जस्ता देशहरूले ठूलो परिमाणमा निर्माण सामग्रीको माग गरिरहेको उल्लेख गर्दै राणाले नेपालले राम्रो तयारी गरे यसको फाइदा लिनसक्ने बताए । कतिपय देशहरूले एकअर्कासँग आर्थिक कारोबार नगर्ने परिस्थितिले गर्दा नेपाल जस्ता मुलुकका लागि बजार विस्तार गर्ने यो सुनौलो अवसर भएको उनको विश्लेषण छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक राणाले भने–‘खाडीमा देखिएको तनावले तेलको धेरै समस्या भइरहेका कुराहरु आइरहेका छन् । तर आगामी दिनमा सहजता पनि ल्याउँदैछ । केही समयका अघि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमा कुनै एक देशको राजदूत आउनुभएको थियो । पुनर्निर्माणका लागि मलाइ सिमेन्ट चाहियो । पुनर्निर्माणका लागि नेपालबाट सिमेन्ट लैजान्छु भनेर भन्नुभयो । हामी दिनै नसक्ने अवस्थामा रहेछौँ । सार्वजनिक फोरमहरुमा व्यवसायीहरुले सिमेन्ट पर्याप्त छ भन्नुहुन्छ खोइ त ? खाडीमा देखिएको तनावले कन्ट्रक्सन मेटिरियल (निर्माणजन्य सामाग्रीको ) यति ठूलो डिमाण्ड छ, मध्यपूर्वका कुनै देशले त अर्को कुनै देशसँग कुनै आर्थिक कारोबार नै गर्दैनन्, त्यसको फाइदा नेपाललाई छ । इरान, इजरायलले ठूलो परिणाममा निर्माणजन्य सामाग्रीको माग गरेका छन् ।’

मध्यपूर्वको लडाइँका क्रममा पानी प्रशोधन केन्द्रहरूमा समेत आक्रमण भएकाले त्यहाँ खानेपानीको ठूलो संकट पर्न सक्ने सम्भावना उनले औंल्याए। नेपालबाट पानी निर्यात गर्नसक्ने प्रचुर सम्भावना भए पनि हालको अवस्थामा केही प्राविधिक र नीतिगत कठिनाइ रहेको उनले बताए । सिमेन्ट र पानी बाहेक अन्य उपभोग्य वस्तुहरू पनि मध्यपूर्वको बजारमा निकासी गर्न सकिने प्रशस्त सम्भावना देखिएकाले निजी क्षेत्र र सरकार दुवैले यसमा सक्रियता देखाउनुपर्नेमा उनले जोड दिए ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।