१३.५ मेगावाटको सिसुवाखोला जलविद्युत् आयोजना बन्ने पक्काः निफ्रा र नविल बैंकको २४४ करोड लगानी, भयो ‘फाइनान्सिङ क्लोजर’

Apr 12, 2026 04:04 PM merolagani



हरिप्रसाद शर्मा
संखुवासभामा १३.५ मेगावाट क्षमताको सिसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने निश्चित भएको छ । मातृभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवद्र्धन गर्न लागेको उक्त आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सिङ क्लोजर) सम्पन्न भएसँगै परियोजना निर्माण हुने सुनिश्चित भएको हो ।

शुक्रबार काठमाडौं आयोजना निर्माण गर्ने कम्पनी र बैंकका प्रतिनिधिबीच आयोजना निर्माणका लागि आवश्यक पर्ने ऋण लगानी गर्ने समझदारी भएको हो । उक्त आयोजनामा नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड(निफ्रा)को नेतृत्वमा नविल बैंकले लगानी गर्ने सहमति भएको हो ।

उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट मातृभूमि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध सञ्चालक अर्जुनप्रसाद गौतम, अगुवा बैंक निफ्राकातर्फबाट सुर्यबहादुर तामाङ र नविल बैंकका तर्फबाट निशेषहरी राजभण्डारीले संयुक्त रुपमा समझदारीपत्र(एमओयू) मा हस्ताक्षर गरेका छन।

निफ्रा र नविलको २ अर्ब ४४ करोड लगानी

उक्त समझदारीपत्रअनुसार, अगुवा बैंकका रुपमा निफ्राको १ अर्ब ५५ करोड र नविल बैंकको ८८ करोड ९० लाख ऋण लगानी रहनेछ । उक्त जलविद्युत् आयोजना निर्माणमा बहुमत सेयर अर्थात ५१ प्रतिशत सेयर लगानी अपर हेवाखोला जलविद्युत् आयोजनाको रहनेछ । दुवै बैंकको कुल लगानी भने २ अर्ब ४४ करोड रहने समझदारी भएको छ ।

कुल ३ अर्ब १९ करोड लागत अनुमानमा निर्माण हुने उक्त आयोजनामा बाँकी लगानी भने अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको रहनेछ । कम्पनीले आफ्नो भगिनी संस्थाका रुपमा मातृभूमि खडा गरेर आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको वित्तिय व्यवस्थापन भएसँगै निर्माणको चरणमा जाने कम्पनीले जनाएको छ ।

मातृभूमिका गौतमले २०६४ सालदेखि यहाँसम्म आइपुग्दा बनाएका कुनै पनि जलविद्युत् आयोजना समयमै सम्पन्न गरेर कार्यसम्पादन गर्दैै आएको बताए । तसर्थ, मातृभूमि हाइड्रोपावरले बनाउन लागेको सिसुवा खोला जलविद्युत् आयोजना पनि समयमै सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जलविद्युत् आयोजना निर्माणका सवालमा हामी २०६४ सालदेखि यहासम्म आइपुग्दा आयोजना अपार पनि छैनन् । समयमा सम्पन्न गरेर आफ्नो कार्यसम्पादन गर्दै आएका छौं,’ मातृभूमि हाइड्रोपावर कम्पनीका प्रवन्ध सञ्चालक अर्जुनप्रसाद गौतमले भने, ‘तसर्थ, मातृभूमि हाइड्रोपावरले बनाउन लागेको यो अहिले साढे १३ मेगावाट र प्रस्तावित साढे १६ मेगावाटको प्रोजेक्ट पनि हामी समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।’

कहिले सुरु हुन्छ निर्माण ?

मातृभूमि हाइड्रोपावर कम्पनीका अनुसार, वित्तिय व्यवस्थापन भएसँगै आयोजना अब निर्माण प्रक्रियामा अघि बढ्ने छ । हाल आयोजनाको डिजाइन, अध्ययनलगायतका प्रक्रियाहरु टुंगिने चरणमा छन् । टेन्डर डकुमेन्ट छिट्टै नै अघि बढ्ने कम्पनीले जनाएको छ । आयोजनाको मुख्य निर्माणकर्ताले आयोजनास्थलको अवलोकनसमेत गरिसकेको छ । र, सब कन्ट्याक्टरहरु पनि साइटमा जाने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, आगामी बर्खायाम सकिएलगत्तै कन्ट्याक्टर आयोजनास्थलमा मुभिलाइज हुनेछ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग निर्माण गर्नेलगायतका आवश्यक पूर्वतयारीको काम गरिरहेको जनाएको छ । आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृति हुने चरणमा छ ।
नदी प्रवाहमा आधारित(आरओआर) प्रकृतिमा यो आयोजना निर्माण हुनेछ । कम्पनीले कम्तीमा ३० महिनाभित्र उक्त आयोजना निर्माण गर्ने लक्ष्य राखेको छ ।

मातृभूमि हाइड्रोपावर कम्पनीको सतप्रतिशत अधिकृत पूँजी यो आयोजनामा शेयर लगानी रहनेछ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको भगिनी संस्थाका रुपमा मातृभूमिले यो परियोजना प्रवद्र्धन गर्दैछ ।

 

 




एकपछि अर्काे राजीनामा, गोल्छा र अग्रवाल पछि नेपाल पुनर्बीमाका पौडेलले दिए राजीनामा

Apr 07, 2026 03:12 PM

विवादास्पद व्यवसायी दीपक भट्टलाई हिरासतमा लिएर सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही चलाएपछि उनीसँग जोडिएका धेरै कम्पनीका सञ्चालकहरुले राजीनामा दिएका छन् ।