गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात १८.४६ प्रतिशतले बढेको हो। निर्यात व्यापारमा यो ऐतिहासिक उपलब्धि हासिल गर्न विभिन्न कृषिजन्य तथा औद्योगिक वस्तुहरूले मुख्य भूमिका खेलेका छन्।
निर्यातका मुख्य वस्तुहरु
२ खर्ब माथिको यो वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा प्रशोधित तेलको रहेको छ। विशेषगरी सोयाबिन र पाम तेलको निर्यातले कुल तथ्याङ्कमा ठूलो योगदान पुर्याएको छ।
१. सोयाबिन र पाम तेलः तथ्याङ्क अनुसार सोयाबिन तेल (प्रशोधित) को निर्यात ९० अर्ब ७१ करोड रुपैयाँ बराबरको भएको छ। त्यसैगरी, आरबिडी पाम ओलिनको निर्यात ५ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी रहेको छ। यी वस्तुहरू तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर भारततर्फ निर्यात हुने गरेका छन्।
२. अलैँची र चियाः कृषिजन्य वस्तुमा अलैँची (बढी) को निर्यात १० अर्ब ७० करोड रुपैयाँ पुगेको छ। नेपाली अलैँचीको माग भारतीय बजारमा उच्च रहेकाले यसले निर्यातमा ठूलो भरथेग गरेको छ। यस्तै, अन्य चिया (कालो तथा ग्रिन टी) को निर्यात करिब २ अर्ब ६३ करोड रुपैयाँ बराबरको भएको देखिन्छ।
३. पलेँटी र धागोः नेपाली धागो र कपडाको निर्यात पनि उल्लेख्य रहेको छ। तथ्याङ्क अनुसार पोलिस्टर धागो र कपडाहरूको निर्यातले पनि अर्बौंको विदेशी मुद्रा आर्जन गर्न मद्दत पुर्याएको छ। ९ महिनाको तथ्यांक अनुसार नेपालले पलेँटी र सिन्थेटिक धागो १० अर्ब ७५ करोड रुपैयाँ र ऊनी धागो २ अर्ब ४० करोड रुपैयाँको निर्यात भयो । विशेषगरी नेपालले भारतमा धेरै धागो निर्यात गरेको छ भने एक्रेलिक धागो भने टर्की निर्यात भएको छ । थोरै मात्रामा भने अमेरिका र युरोप निर्यात भएका छन्
४. जडीबुटी र वनस्पतिजन्य उत्पादनः यार्सागुम्बाको निर्यात २५ करोड रुपैयाँ बराबरको भएको छ भने अन्य औषधिजन्य जडीबुटी र वनस्पतिहरूको निर्यात १ अर्ब २३ करोड रुपैयाँ नाघेको छ। यस्तै, अम्रिसो (कुचो) को निर्यात ७४ करोड ९९ लाख रुपैयाँ बराबरको भएको छ।
५. खाद्य सामग्रीहरूः तयारी चाउचाउ र पास्ताको निर्यात २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। जुस र अन्य पेय पदार्थको निर्यातले पनि कुल तथ्याङ्कमा उल्लेख्य सुधार ल्याएको छ।
व्यापार सन्तुलनको अवस्था
निर्यातमा वृद्धि भए तापनि नेपालको व्यापार घाटा भने अझै उच्च छ। नौ महिनामा आयात १३.८१ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ, जसका कारण व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ।
विगतको तुलनामा निर्यातको हिस्सा कुल वैदेशिक व्यापारमा १३.०१ प्रतिशत पुग्नुलाई अर्थविद्हरूले सकारात्मक रूपमा लिएका छन्। अघिल्लो वर्ष निर्यातको हिस्सा १२.५६ प्रतिशत मात्र रहेको थियो। आगामी दिनमा स्वदेशी उत्पादन र कच्चा पदार्थमा आधारित वस्तुहरूको निर्यात बढाउन सके मात्र व्यापार घाटा कम गर्न सकिने देखिन्छ।