‘स्टेट अफ ग्लोबल वर्कप्लेस’ रिपोर्टका अनुसार कार्य बोझले मानिसको सोच्ने क्षमता नै कमजोर बनाइरहेको छ र उसलाई मानसिक तथा शारीरिक रोगको जोखिममा पुर्याइरहेको छ। १६० देशका १ लाख २८ हजार २७८ कर्मचारीमा गरिएको विस्तृत सर्भेक्षणमा अतिरिक्त कार्यबोझले मानिसलाई रिसाहा बनाइरहेको तथा धेरै कर्मचारीमा निराशा बढाइरहेको उल्लेख छ। त्यही कारण आत्महत्याको प्रवृत्ति समेत बढिरहेको बताइएको छ।
यस्तो समस्या अन्य उमेर समूहको तुलनामा जेनजी उमेर समूहका व्यक्तिहरूमा बढी देखिएको रिपोर्टमा उल्लेख छ। “एकातिर अफिसको कार्यबोझ, त्यसमाथि सामाजिक सञ्जालको लत र दबाबले मानिसको दिमागले थेग्नै नसक्ने अवस्था सिर्जना भएको छ,” रिपोर्टमा भनिएको छ। जेनजी उमेर समूहका व्यक्तिहरू स्वभाविक रूपमा बढी आक्रामक हुने भएकाले उच्च महत्वाकांक्षा र कार्यबोझको असर उनीहरूमा बढी परेको बताइएको छ।
अतिरिक्त कार्यबोझले चिडचिडापन, निराशा र उत्तेजनात्मक व्यवहार मात्र होइन, रक्तसञ्चारमा असन्तुलन, माइग्रेन, मांसपेशी समस्या, मुटुरोग, कलेजो रोगलगायतका विभिन्न स्वास्थ्य समस्या समेत निम्त्याइरहेको रिपोर्टमा उल्लेख छ।
समस्या समाधानका लागि सम्बन्धित व्यक्ति, कार्यालय, हाकिम तथा सरकार सबैले गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औंल्याइएको छ।
यसैबीच, भारतीय उद्योग परिसंघ र डिजिटल हेल्थकेयरसम्बन्धी संस्था मेडीबडीले गत वर्ष गरेको अध्ययनले पनि यस्तै तथ्य देखाएको हो। ती संस्थाहरूले १ हजार कम्पनीका कर्मचारीमा गरेको सर्वेक्षणमा ६२ प्रतिशत कर्मचारीले कार्यबोझका कारण आफू मानसिक रूपमा कमजोर भएको बताएका थिए।
“हाकिमको गुनासो र लक्ष्य पूरा गर्न दिइने दबाब, पारिवारिक जिम्मेवारी आदिका कारण धेरै कर्मचारी पीडित रहेको पाइयो,” अध्ययनमा सहभागी डेल ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा प्रबन्ध निर्देशक पल्लवी झा भन्छिन्।
अनुसन्धानकर्ताहरूका अनुसार माथिल्लो तहका कर्मचारीको तुलनामा बीच र तल्लो तहका कर्मचारीमा कार्यबोझका कारण हुने मानसिक तनाव धेरै हुन्छ। उच्च पदस्थ कर्मचारीमा व्यवस्थापकीय तनाव भए पनि उनीहरूलाई उच्च तलब, सुविधा र समय–समयमा रिफ्रेस हुने अवसर बढी हुन्छ। तर तल्लो तहका कर्मचारीमा कामको बोझअनुसार सुविधा कम हुने भएकाले उनीहरू लामो बिदा वा विश्राम लिन नसक्ने अवस्था हुन्छ। यसले उनीहरूमा मानसिक दबाब झनै बढाउने अध्ययनको निष्कर्ष छ।