यस साता चार कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ३.६४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ८७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.९० प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ८.७२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३.६४ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ५६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८५ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ७१ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक ३.७६ प्रतिशत घटेको हो। गत साता ३९९९.६७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १५०.२५ अंक घटेर ३८४९.४२ विन्दुमा झरेको छ। त्यस्तै, यस साता विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा कम ०.४४ प्रतिशत घटेको छ।
अंकका आधारमा यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २७८.३५ अंक घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० अंक घटेको छ।

यस साता मूल्य बढेका स्टकहरुको मूल्य वृद्धिदर ६ प्रतिशतभन्दा कम रहेको छ। यस साता शिखर पावर डेभलपमेन्टको शेयरमूल्य ५.८६ प्रतिशत बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंककोा शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोमार आएको माइ खोला हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक २२.८४ प्रतिशत घटेको छ। गत साता ७२४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ५५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता होटल फरेष्ट इनको शेयरमूल्य करिब साढे १४ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता हिमालयन एभरेष्ट इन्स्योरेन्स, नबिल ब्यालेन्स्ड फण्ड ३, नेको इन्स्योरेन्स लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने इष्टर्न हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, ग्लोबल आइएमई बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

