राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी, संवैधानिक परिषदबारे अझै निर्णय भएन

May 02, 2026 05:20 PM Merolagani



राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन वटा नयाँ अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यी अध्यादेशहरू जारी गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको प्रेस विज्ञप्ति अनुसार जारी भएका अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारीको पदमुक्ति र विश्वविद्यालयसँग सम्बन्धित ऐनहरू रहेका छन्।

जारी भएका अध्यादेशहरू:
१. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३
२. सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३
३. विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३

यी तीनै अध्यादेश २०८३ साल वैशाख १९ गते शनिबारकै मितिमा जारी भएका हुन्। राष्ट्रपति पौडेलले यसअघि नै सहकारी र खरिद प्रक्रियासँग सम्बन्धित अध्यादेशहरू जारी गरिसकेका छन्।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने अध्ययनमै
सरकारले अन्य केही महत्त्वपूर्ण अध्यादेशहरू पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। विशेष गरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई लिएर राजनीतिक वृत्तमा चासो रहेको छ। तर, शनिवार जारी भएको सूचीमा यो अध्यादेश समावेश छैन।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका बारेमा राष्ट्रपति पौडेलले अझै अध्ययन गरिरहेका छन्। उनले यस विषयमा केही कानुनविद्हरूलाई शीतल निवास बोलाएर परामर्श समेत गरेका थिए। 'शुक्रबार र शनिवार भएका निर्णयहरूको सूचीमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश छैन,' स्रोतले भन्यो।

अध्यादेश जारी भएपछि अब स्वास्थ्य संस्था र विश्वविद्यालयका केही प्रावधानहरू तत्कालै लागू हुने बाटो खुलेको छ भने सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने प्रक्रियामा पनि नयाँ कानुनी व्यवस्था हुने भएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।