पहिलो चरणमा २२ जना सहिदका ३१ बालबालिकालाई शैक्षिकवृत्ति सम्झौता सम्पन्न गरेको ग्रुपले दोस्रो चरणमा बिहीबार थप २२ सहिदका ४३ आमा–बुवालाई वार्षिक १० लाखसम्मको स्वास्थ्य बीमा प्रदान गर्ने सम्झौता गरेको छ ।
२०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो । गोल्याण ग्रुपले असोज २४ गते प्रेस विज्ञप्तिमार्फत सहिद परिवारको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिने घोषणा गरेको थियो । सोही अनुसार पहिलो चरणमा २०८२ बाटै लागू हुने गरी बालबालिकालाई शैक्षिकवृत्ति कार्यक्रम प्रदान गरेको गोल्याण ग्रुपले जनाएको छ ।

शैक्षिकवृत्तिमा २२ सहिदका ३१ बालबालिका आवद्ध छन् । उनीहरुलाई प्रतिविद्यार्थी मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँको शैक्षिकवृत्ति प्रदान गरिएको छ । शैक्षिकवृत्ति सम्झौतापछि बालबालिकाहरु काठमाडौंको यूरो स्कुल, त्रिज्योति सेकेन्डरी स्कुल, गोल्डेन पिक स्कुल, ललितपुरको डि. ए. भि. सुशील केडिया विश्वभारती स्कुल, झापाको ग्रिन फिल्ड वल्र्ड स्कुल, चितवनको स्मल हेभन मोडेल स्कुल, पोखराको अर्ली चाइल्डहुड एकेडेमी, बुटवलको स्कलर्स होम बोर्डिङ हाइस्कुल, सुनसरीको मिनील्याण्ड सेकेण्डरी स्कुल, लहानको स्कुल अफ स्कलर्स लगायतमा अध्ययन गरिरहेका छन् ।
शैक्षिकवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्क लगायत सम्पूर्ण शुल्कहरू समावेश गरिएको गोल्याण ग्रुपले जनाएको छ ।
शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारको लागि स्वास्थ्य बीमा प्रदान गरिएको हो । यस अन्तर्गत सहिदका बुवाआमालाई वार्षिक एकमुष्ट १० लाख बराबरको आजीवन स्वास्थ्य बीमा प्रदान गरिएको छ ।
बिहीबार स्वास्थ्य बीमा कार्यक्रममा सम्झौता सम्पन्न भएपछि गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणले सहिदहरुको सम्मानमा उनीहरुको परिवारका सदस्यको शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिएको बताए । ‘
द्वीपक्षीय सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स तथा कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले ‘एक परिवार, एक जिम्मेवारी’ लिने उद्देश्यले सहिद परिवारमा समर्पित शिक्षा र स्वास्थ्य कार्यक्रममा सहयोग गरेको बताइन् ।
बीमा सम्झौता कार्यक्रममा जेनजी सहिद परिवार कल्याणकारी समाज अध्यक्षसमेत रहेका सहिद धीरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले गोल्याण गु्रुपले सहिदको सम्मानमा गरेको सहयोगप्रतिआभार व्यक्त गरे ।
जेनजी सहिद परिवार कल्याणकारी समाज कोषाध्यक्ष तथा सहिद श्रीयम चौलागाईका बुवा गणेशप्रसादचौलागाइँले दुःखको बेला गर्ने गरिएका सहयोगका प्रतिवद्धता अलपत्र परिरहेका बेला गोल्याण ग्रुपले इमान्दारीपूर्वक पूरा गरेको बताए ।
सहिद गौरव जोशीका मामा जगदीश भट्टले परिवारजन गुमाउँदा पीडामा परेका सहिद परिवारको शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण जिम्मेवारी लिएर गोल्याण ग्रुपले अभिभावकत्व प्रदान गरेको बताए ।
शैक्षिकवृत्ति र स्वास्थ्य बीमा कार्यक्रममा सहिद मिलन रायको परिवारमात्र समेटिएको छैन । उनका बालबच्चा र बुवाआमा नभएकोले कार्यक्रममको मापदण्डअनुसार नसमेटिएको ग्रुपले जनाएको छ । सहिद घोषणा नभए पनि परिवारसँग प्रतिवद्धता गरिसकिएकोले आन्दोलनको क्रममा ज्यान गुमाएका २ व्यक्तिका १ जनालाई शैक्षिकवृत्ति र १ जनालाई स्वास्थ्य बीमा प्रदान गरिएको गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख गैह्रेले जानकारी दिइन् ।